कोरोनाको नयाँ भेरियन्ट र पूर्ववत सतर्कता

सम्पादकीय
कोरोना भाइरस (कोभिड–१९) ले लगातार दुई वर्षसम्म नेपाली समाज, जनजीवन आक्रान्त मात्र बनेन, कोभिड १९ का कारण हजारौ नागरिकले ज्यान गुमाउन बिबश बने भने । कोरोनाका कारण उद्योग, व्यापार, व्यवसाय, दैनिक रोजीरोटीका कामहरु प्रभावित हुँदा कैयनको रोजगार खोसियो । कैयनको त्यही अन्तरालमा उठिबास भयो । ऋणधन गरेर भए पनि साना, मझौला व्यापार व्यवसाय गरेकाहरु लगानी डुबेर बिदेश पलायन हुनुपर्ने बिडम्बनापूर्ण परिस्थिति आइलाग्यो । कैयन व्यवसायी गर कि मरको अवस्थामा पुगे । कोभिड १९ को विश्वको कुनै पनि देशले अचुक औषधि र निदानका उपाय निकाल्न सकेनन् । यद्यपि, यसको रोकथामका लागि विकसित केही देशहरुलाई कोरोना विरुद्धको खोपहरु भने तयार गरे । र लामो समय सकस पश्चात विस्तारै कोभिड १९ नियन्त्रणमा आयो । त्यसपश्चात लय भंग भएको दैनिकीमा फर्किदै गर्दा अहिले फेरि एक संशयपूर्ण खबर सार्वजनिक भएको छ ।

कोभिड १९ को नयाँ सब भेरियन्ट जेएन.१ देखा परेको छ । जसको सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । सामान्यतः यस भाइरसले आफ्नो प्रतिलिपीकरण गर्दै जान्छ । यो प्राकृतिक पनि हो । यो अवस्थामा स–सना म्युटेसन पनि हुने गर्दछ । म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरुपको विकास हुन्छ । जसलाई नयाँ भेरियन्टको उत्पति भएको मानिन्छ । कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने विज्ञ बताउँछन् । तर ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक नहुने अनुमान गरिएको छ । छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । नेपालमा पुष्टि नभइसके पनि संक्रमण फैलिने जोखिम छ । त्यसैले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ ।

कोभिड–१९ को विगत डरलाग्दो छ । सुरुवाती समयमै यथेष्ट सतर्कता अपनाउन नसक्दा नेपाल र नेपालीले ठुलो जनधनको क्षति मात्रै भोग्नु परेन । आजको दिन सम्म समेत त्यसको सकस र क्षतिको पीडा, असर भोग्नुपर्ने बिबशता बिद्यमान छ । कोभिडकालमा गुमाएको आफन्त, आर्थिक क्षतिका कारण आज पनि कैयन नागरिक मानसिक रुपमा बिक्षिप्त छन् । अहिले फेरि त्यही घाउलाई बल्झाउने गरी कोभिड १९ को नयाँ सब भेरियन्ट जेएन.१ फैलिँदो क्रममा छ । जीन सिक्वेन्सिङ प्रविधिबाट हालसम्म नेपालमा पुष्टि भएको त छैन । संक्रमणका केसहरु सीमा नाकामा छिटपुट देखिरहेका छन् । त्यसैले समयमै नेपालमा पूर्ववत सतर्कता अपरिहार्य छ । यसका लागि सरकार र आम नागरिकले आवश्यक सजगता, निगरानी एवं छिमेकी देशहरुसँग समन्वय गरेर सीमा नाकामा बिशेष ध्यान दिनुपर्दछ । रोगको संक्रमण फैलिएर अपुरणीय जनधनको क्षति पछि नियन्त्रण भन्दा पनि कोभिडको नयाँ भेरियन्ट भित्रिनै नदिने तर्फ सम्पूर्ण ध्यान, पहलकदमी र शक्ति तीन तहको सरकारले केन्द्रित गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *