विदेशमा जागिर कि बसोबास ?

सम्पादकीय

समग्र नेपाल र नेपाली रेमिट्यान्सबाटै चलिरहेका छन् भन्दा कुनै अत्युक्ति हुँदैन । किनकि यो देशको लाखौ दक्ष जनशक्ति बिदेशमा छन् । विदेशमा गएकाहरुले कमाएर नेपाल पैसा नपठाउने हो भने देशमा ठुलो हाहाकार सिर्जना हुने अवस्था अहिले बिद्यमान छ । हुन त हाम्रो देश कृषि प्रधान देश हो । यहाँ उत्पादित कृषि उपजले धेरैले जीविका चलाइरहेका छन् । तर, पछिल्लो समय कृषि उपज उत्पादनमा भन्दा अधिकको ध्यान वैदैशिक रोजगारमै केन्द्रित भइरहेको छ । त्यसैले विदेश जानेमै होडबाजी चलिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जानेको दैनिक भिड हुन्छ । यसरी विदेश जानेमा पहिले पहिले परिवारका एक सदस्य हुन्थे । पछिल्लो समय त श्रीमान श्रीमति, सिंगो परिवार नै विदेशमै बस्ने गरी जाने क्रम बढेको छ । जुन नेपालका लागि चिन्ताको विषय हो ।

वैदेशिक रोजगारको अहिलेको ताजा तथ्य र तथ्यांकले पनि झस्काउने गरेको छ । सन् २०२३ मा मात्रै १६ लाख भन्दा बढी नेपालीले देश छाडेको अध्यागमन विभागको तथ्यांक छ । त्यसमध्ये ७० हजार ९ सय १५ जना त स्थायी रुपमा विदेशमा नै बस्ने गरी देश छाडेका छन् । तीमध्ये ३६ हजार ६६३ जना पुरुष र ३४ हजार २५१ जना महिला छन् । यसरी बसोबासका लागि जानेमा अष्ट्रेलिया, जापान, अमेरिकालगायत देश छ । अस्थायी बसोबासका लागि ९२ हजार ३४९ जनाले नेपाल छाडेका छन् । जसमा ५१ हजार ८७६ र ४० हजार ४६८ जना महिला छन् । अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको सन् २०२३ मा विभिन्न उद्देश्यले नेपालबाट बाहिरिएका नेपालीहरुको तथ्यांकमा रोजगारी, घुमघाम, परिवारका सदस्यसँग भेटघाट, अध्ययन, स्थायी बसोबास, अस्थायी बसोबास, तालिम, खेलकुद, साँस्कृतिक कार्यक्रम लगायतका प्रयोजनका लागि जाने उल्लेख छ । रोजगारीका लागि ७ लाख २३ हजार ७८९ पुरुष र ८४ हजार ६०४ जना महिला विदेशिएको अध्यागमन विभागको तथ्यांक छ । सन् २०२३ मा अध्ययनका लागि १ लाख ८ हजार ५ सय ४२ जना विदेशिएका छन् ।

अहिले गत अंग्रेजी वर्षको जे तथ्यांक सार्वजनिक भएको छ । यसले पनि नेपालको बदलिँदो भयानक परिदृश्य नै बताउँछ । नेपालमा जन्मी हुर्केर समाज र देशका लागि योगदान गर्ने बेला देश नै छोडेर पराइ देशमा जाने अवस्थाले कदापि राम्रो संकेत गर्दैन । हुन त विदेश जाने प्रचलन आज आएर भएको होइन, धेरै पहिलेदेखि नै बिद्यमान थियो । परिवारको जीविका, बुढेशकालमा ऐश,आरामको जीवन सपनाले वैदेशिक रोजगारमा जाने प्रचलन थियो । तर, अहिलेको जस्तो बाक्लो संख्यामा यसअघि सायदै थिए, त्यो पनि विदेश तिर नै जीवन भविष्य बिताउने बदल्ने सपना देखेर सेटलमेन्ट हुने संख्या निकै कम थियो । अहिले जे जस्तो गतिविधि र परिदृश्य देखिएको छ, त्यो ठुलो संख्यामा पुग्नेवाला छ । यसको मुख्य कारण मुलुकको राजनीतिक अस्थिरता, बेथिति, फोहोरी राजनीति, मनपरितन्त्र नै हो । सत्ता र शक्तिमा भएकाहरुले जे पनि गर्ने, सर्वसाधारण, इमान्दार नागरिकले सधैं सकसपूर्ण जीवन व्यतित गर्नुपर्ने बिबशता नै हो । यसमा समयमै सत्ताको बागडोर सम्हालेका राजनैतिक नेतृत्व, स्थायी सरकारको उपमा पाएको कर्मचारीतन्त्रका उच्च पदस्थ, सरोकारवाला सबैले सोचेर ठोस कदम नचाल्ने हो भने देशले भोलिका दिनमा ठुलै मूल्य चुकाउनु पर्ने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *