भूकम्पबाट अझै नसिकेको पाठ

सम्पादकीय
देशमा भूकम्पको धक्का अहिले पनि बेला–बेला महुशुस भइरहेकै छ । केही महिना अघि मात्रै जाजरकोटमा भूकम्पले ठुलो जनधनको क्षति ग¥यो । यही क्रममा मंगलबार २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस सचेतनामूलक कार्यक्रम साथ मनाइयो । १९९० सालको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरण गर्ने दिवसको ध्येय हो । सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यकासाथ नेपालमा हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ । यसवर्ष ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने नाराकासाथ दिवस मनाइयो । १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइन्छ । ९० सालमा ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जनधनको ठूलो क्षति पु¥याएको थियो । जसमा आठ हजार पाँच सय ९१ जनाको ज्यान गएको थियो । ८० हजार घर ध्वस्त भएका थिए । ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार ४० संरचना भत्किएको थियो ।

विभिन्न अध्ययनका आधारमा नेपाल भूकम्पीय जोखिमका दृष्टिकोणबाट ११ औँ स्थानमा छ । तातो अर्धतरल सतहमाथि तैरिइरहेका इन्डियन प्लेटहरू र युरोसियन प्लेटहरू आपसमा टकराव हुँदा हिमालय क्षेत्रको जमिनमुनि शक्ति थुप्रन्छ । त्यही शक्ति बाहिर निस्कन भूकम्प जाने विज्ञहरू बताउँछन् । आठ सय वर्षको इतिहासलाई हेर्दा कहिले सानो भूकम्प आएर जिस्काउँछ । कहिले मझौला भूकम्पले तर्साउँछ । पटक पटक ठूलो भूकम्पले भने विध्वंस नै मच्चाउने गरेको छ । जसमा नेपाल पनि पटक पटक प्रताडित बन्ने गरेको छ । पछिल्लो २०७२ वैशाख १२ गतेको महाभूकम्पमा परि आठ हजार ८ सय ५७ जनाको ज्यान गएको थियो भने सात लाखभन्दा धेरै आवासमा क्षति पुगेको थियो । पछिल्लो समय जाजरकोट, बझाङ र डोटीको भूकम्पमा पनि दर्जनौले ज्यान गुमाए । सयांै नागरिक घरबास विहिन बन्न पुगेका छन् ।

विगतको ९० सालको भूकम्पबाट पाठ सिकेर अहिलेसम्म पनि यथोचित तयारी नगरेको पछिल्लो जाजरकोट भूकम्पको धक्का र त्यसले पु¥याएको क्षतिबाट नै पुष्टि हुन्छ । २०७२ सालको भूकम्पले पनि ठूलो भूकम्प जाँदा हाम्रो तयारीदेखि धेरै कुराको उजागर गरेको थियो । त्योभन्दा पनि दयनीय अवस्था पश्चिम नेपालमा रहेछ भन्ने कुरा त्यसले देखाएको छ । अहिलेसम्म अध्ययनले देखाएको जोखिम भनेको ठूलो महाभूकम्प जानसक्ने सम्भावना हो । त्यसको अगाडि अहिले गएका भूकम्पहरु धेरै साना भूकम्पहरु हुन् । जसले त्यहाँ भइरहेको विद्यमान नेपाल–हिमालयमा जहाँ भूकम्पीय जोखिम छ त्यसलाई कम गर्दैन । भूकम्पले सिधै जनको क्षति नगरे पनि हामीले अव्यवस्थित रुपमा निर्माण गरेको भौतिक संरचना र त्यसले नै मानवीय क्षति निम्त्याउने हो । यसकारण कत्ति ढिलो नगरि हामीले बनाउने संरचना भूकम्प प्रतिरोधी र जोखिम कम हुने गरी बनाउनु पर्ने व्यवस्था सुनिश्चित गर्नु नै सबैभन्दा ठूलो चुनौती छ । अझै पनि नेपाल र नेपालीले पटक पटक आइरहेको भूकम्पहरुबाट पाठ नसिकेको दर्जनौ दृष्टान्त छ । यस्तै अवस्था बिद्यमान रहे भोलिका दिनमा भूकम्प या महाभूकम्प जाँदा यो भन्दा धेरै भयावह अवस्था बेहोर्नुपर्ने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *