मध्यपहाडी लोकमार्ग र पुनर्रेखाङ्कन बहस

सम्पादकीय
मध्यपहाडी लोकमार्ग नेपालको लाइफ लाइन सडक मार्ग हो । जसले सिंगो देशको सडक यात्राको लामा सास्ती र सकसलाई सहज मात्र बनाएको छैन, मुलुकको विकासमा यसले नयाँ आयाम र आशा पैदा गरेको छ । दुरदराजका गाउँहरुमा पनि नयाँ सम्भावनाको उजागर गरेको छ । किसानी गरेर खानेहरु पनि सिधा बजारसँग सहज सम्बन्ध र पहुँच राख्न सक्ने भएका छन् । यद्यपि, लोकमार्गका कैयन खण्डहरु अझै पनि ठेकेदारको चरम लापरवाहीका कारण अलपत्र अवस्थामा छन् भने कति स्थानमा पुनः मर्मत गर्नुपर्ने अवस्था आइसकेको छ । कति स्थानमा लोकमार्गको मापदण्ड अनुसार विकास र विस्तारका लागि अनेकन बाधा अप्ठ्यारा देखा परिरहेको छ । यसमा सरकारले तदारुकताका साथ कदम चाल्न सकिरहेको छैन ।

उसो त यसअघिका सरकारले पनि उल्लेख्य काम र कदम चाल्न सकेन । लामो समय सरकारको रजगज चलाएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले यही मध्यपहाडी लोकमार्गको ठुलो हल्लाखल्ला सहित लोकमार्ग केन्द्रित गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म ‘संकल्प यात्रा’ अभियान चलायो । यही यात्राका क्रममा अनुभूत गरेको भन्दै नेकपा एमालेले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग)को पुनर्रेखाङ्कन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मध्यपहाडी लोकमार्गका विभिन्न खण्डहरुमा अनावश्यक घुमाउरो बनाइएको र वस्ती नै नभएका स्थानमा पनि बाटो खनिएको भन्दै एमालेले त्यसको टेक्निकल अडिट गर्नुपर्नेमा उसको जोड छ । ध्यानाकर्षण पत्रमा मध्यपहाडी लोकमार्गको इन्जिनियरिङ, अलाइनमेन्ट र ढाँचामा ‘थुप्रै सुधार गर्नुपर्ने’ उल्लेख छ । अहिले पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म फैलिएको मध्यपहाडी लोकमार्गको पूर्वपश्चिम लम्बाइ १ हजार ८७९ किलोमिटर छ । यो राष्ट्रिय राजमार्गको दृष्टिले उपयुक्त नरहेको निष्कर्षका साथ यसको टेक्निकल अडिट गरेर आवश्यकता अनुसार विभिन्न ठाउँमा पुनर्रेखाङ्कन गर्न, आवश्यक स्थानमा सुरुङ र भायाडक्ट (अग्ला पुल) प्रयोग गरी यसको समय र दुरी छोट्याउन,’ माग गरेको छ ।

निःसन्देह मध्यपहाडी लोकमार्ग नेपालको पहाडी क्षेत्रको विकास र समृद्धिको सम्बाहक परियोजना हो । यसले विकास, सम्भावना र अवसरको असंख्य ढोका खुलाएको छ । नेपालको आफ्नै स्रोत, इञ्जिनियरिङ र प्रविधिमा निर्माणाधीन यो परियोजना नेपालीका लागि गौरवको विषय त हुँदै हो । तर, यात्राका क्रममा एमालेले जनताले दिएको सुझावका आधारमा राखेको विषय र माग मननीय पनि छन् । मध्यपहाडी लोकमार्ग आसपासमा बसाइँ सराइ डरलाग्दो छ । विभिन्न भूभागमा आधुनिक सहरको विकास गरेर पहाडको बसाइँसराइँ रोक्ने उद्देश्यले सुरु गरिएको परियोजनाको प्रगति निराशाजनक छ । बसाइँसराइँ केही वाध्यात्मक कारण भए पनि नेपालमा अवसर नै छैन र नेपाल बन्दैन भन्ने भ्रामक प्रचार, प्रायोजित भाष्य, र मनोविज्ञान व्याप्त छ । संघीय सहित तीन तहको सरकारले यो गलत भाष्यलाई चिर्न जरुरी छ । स्थानीय स्तरमा उत्पादित वस्तुले बजार, उचित मूल्य र संरक्षण नपाउने अवस्थाको अन्त्य गर्न आवश्यक छ । बाह्य अनियन्त्रित आयात रोक्न, बिचौलियाको दोहन नियन्त्रण, पुँजी र प्रविधिको यथोचित प्रबन्ध गर्नुपर्छ । र मध्यपहाडी लोकमार्गलाई सिंगो नेपाल र नेपालीको विकास र जीवनस्तर सुधार्ने गरी सरकारले कदम जरुर चाल्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *