बाँदरले दिएको दुःख र देश

सम्पादकीय
भिरपाखा, बनजंगलमा भुल्ने बाँदर अचेल घर आँगनमा आइपुग्ने मात्र होइन, मानिस माथि नै आक्रमण गर्ने, अन्नपात, बोटबिरुवा खाइदिएर चरम सास्ती दिइरहेको छ । यसबाट आजित नागरिकहरु बाँदर धपाउन अनेकन अस्त्र प्रयोग गरिरहेका छन् । तर पनि बाँदरको सास्ती र सकसबाट मुक्ति पाउन सकिरहेका छैनन् । यो समस्या देशको कुनै एक भुगोलमा मात्र सीमित छैन । शहरबजारका आसपासदेखि दुरदराजका गाउँ सम्मका किसानले बढी दुःख झेलिरहेका छन् । बाँदरको बढ्दो हस्तक्षेप नियन्त्रणका लागि तीन तहको सरकारसँग हारगुहार गरिरहे पनि ठोस निकास र विकल्प दिन सकिरहेका छैनन् । बरु स्थानीय सरकार, जनप्रतिनिधि पनि बाँदर नियन्त्रणको सही उपाय समाधान भन्दा उदेकलाग्दा र असम्भव विकल्पमा उद्दत भइरहेको समाचार र घटनाक्रमले देखाइरहेको छ ।

ताजा समाचार यतिबेला भाइरल छ, बाँदरले दुःख दिएपछि पोखरामा वडाले सुरु ग¥यो रुख काट्ने अभियान । पोखरा महानगरको वडा नं. १९ क्षेत्रमा बाँदरले दुःख दिएको भन्दै वडाले ‘मेरो रुख म काट्छु’ अभियान सुरु गरेको छ । वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी उक्त अभियानमा सरिक हुन निर्देशन दिएका छन् । आजको १० दिनभित्र आफ्नो रुख काटेर अभियानमा सरिक हुन आग्रह सहित यसले आआफ्नो क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पु¥याउन उल्लेख छ । पोखरामा मात्र होइन, बाँदर र बँदेलले दुःख दिएको भन्दै गुल्मीमा पनि जंगल फडानी गरिएको छ । रेसुंगा नगरपालिका–१ तम्घासमा निजी जग्गामा रहेका घाँसका रुख, बाँस, सल्ला, खरी लगायतका रुख काट्नुका साथै झाडी फाँडिएको वडा कार्यालयले जनाएको छ । यहाँ बाँदरले बारीको खेती मात्र नभई घरमा आएर पकाएको खानासमेत खाइदिएको गुनासो स्थानीयको छ । नागरिक तहबाट व्यापक गुनासो आएपछि वडा कार्यालय र सर्वधारणको भेलाबाट झाडी फडानी गरिएको बताएको छ । गतबर्ष वडा कार्यालयले ४५ दिन बाँदर हेरालु राखेर ३० हजार रुपैयाँ भुक्तानी दिएको थियो । त्यसबाट राम्रो प्रतिफल आएन । एकैसाथ समाचार आएका यी दुई प्रतिनिधि घटना मात्र होइन, अहिले बाँदरको समस्या समाधानमा वैज्ञानिक समाधान भन्दा पनि लहडको भरमा खोज्ने क्रम अरु ठाउँमा पनि जारी छ ।

गाउँमा मान्छेको बसोबास घट्दै गएपछि बाँदरको समस्या बढेको छ । जसबाट सर्वसाधारण किसान आजित अवश्य छन् । यसको सही र दिगो समाधान रुख फडानी कदापि हुन सक्दैन । गाउँवस्तीमा बाँदरको समस्या छ नै तर यसको समाधान गर्ने उपाय खोज्न विज्ञ, अनुसन्धानकर्मीको मद्दत लिने कि रूखै काट्ने ? ठिक यही बेला बन्ध्याकरणमार्फत बाँदरको नियन्त्रणबारे अध्ययन गर्न चिकित्सक र सांसदहरुको जम्बो टोली भारतको हिमाञ्चल राज्य जाने तयारीमा रहेको खबर सार्वजनिक छ । बाँदरको निहुँमा माननीयहरु विदेश भ्रमण मात्रै गर्ने की अचुक उपाय पनि ? बाँदर समस्या समाधानमा रुख फडानी गर्ने हाम्रा जनप्रतिनिधिहरु कति परिपक्व र दुरदर्शी छन् ? हाम्रा सांसद र नेताहरु कति जिम्मेवार छन् ? यी र यस्तै कदम र गतिविधिबाट उदांगो हुने गरेको छ । अब सरकारले बाँदरको बढ्दो समस्याबारे गहिरो खोज, नियन्त्रणका लागि सही र दिगो समाधानका विकल्प केके हुन सक्छन् ? जतिसक्दो चाँडो त्यसमा सरकार र सम्बन्धित निकाय गम्भीरतापूर्वक लाग्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *