नेता असल, देश खराब ?

सम्पादकीय/ नेपाल आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा जुन छ, त्यसमा नेपालका राजनीतिक दल र नेताहरुको भूमिका नेतृत्वदायक र स्मरणीय छ नै । दुई सय वर्ष पुरानो राजतन्त्रात्मक शासन व्यवस्था ढाल्दा होस् या पञ्चायती व्यवस्था परिवर्तन गर्दा होस् । राजनीतिक दल र नेताहरुको साहस, त्याग र दृढता गर्विलो र प्रशंसनीय देखिन्छ । त्यो पछिल्लो ०६२÷६३ को आन्दोलन सम्म आइपुग्दा पनि अभूतपूर्व नै देखिन्छ । तर, ऐतिहासिक आन्दोलन सफल भए पश्चात स्थापित भएको व्यवस्था, नयाँ संविधान, त्यस अनुसारको तीन तहको सरकारको काम र कदम बिश्लेषण गर्ने हो भने अवस्था सन्तोषजनक देखिदैन । आम सर्वसाधारण नागरिकमा तिब्र निराशा र आक्रोश देखिन्छ भने सत्तारुढ राजनीतिक दल, तिनका नेता, कार्यकर्ताहरु भने मग्न देखिन्छन् ।

आखिर यस्तो किन भइरहेको छ ? नेपाली समाजमा गहन बिमर्श, समीक्षा, छलफल अपरिहार्य भएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले महत्वपूर्ण सवाल उठाए । देशका राजनीतिक पार्टी र नेताहरूले आफुलाई सफल भएको दाबी गरिरहे पनि देश किन असफल भयो ?राजनीतिक पार्टी सफल हुने, देश असफल हुने यस्तो कसरी हुन्छ ?कांग्रेस, एमाले, माओवादी, समाजवादी सबै सफल हुने । अनि, देशचाहिँ असफल हुने ?नेताचाहिँ सफल भइराख्ने, देशचाहिँ असफल भइराख्ने । आखिर यो अन्तरविरोध के हो ? समस्या कहाँ हो ?यो आजको निकै गम्भीर र संवेदनशील प्रश्न र सवाल हो । तर, यस्तो गम्भीर सवालमा देशका मुख्य राजनीतिक दल, शीर्ष नेतृत्वमा कुनै गम्भीरता र नैतिक पदीय जिम्मेवारीबोध खास दैखिदैन ।

कुनै पनि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आफैँमा समस्या होइन । र यो अचुक समाधान पनि होइन । तर, उन्नत यो व्यवस्था परिवर्तन, विकास र समृद्धिको महत्वपूर्ण आधारशिला हो । यसमा हाम्रा राजनैतिक दल र नेताहरु चुकिरहेका छन् । यसमा हाम्रा अभ्यासमा समस्या छन् । त्यसको विचार र पात्रहरूमा समस्या छन् । नेपालमा ठुला भनिएका पुराना राजनीतिक दलहरू गुटमा परिणत भइसकेको घटनाक्रमले प्रष्टै छ । नयाँ भनिएका राजनीतिक दल र नेताहरुमा पनि पुरानै प्रवृत्ति देखिन, दोहोरिन थालेको छ । व्यवस्थासँगै नागरिकको अवस्था बदल्न सत्ताको बागडोर सम्हाल्न गएकाहरु केबल आफै मात्र र आफ्ना आसेपासे मात्र बदलिने आजको मुख्य समस्याको रुपमा देखिएको छ । देश विकास, समृद्धिको दिशामा गतिशील रुपमा अघि बढ्न नसक्नुमा शीर्ष नेतृत्व, कार्यशैली, प्रणालीको संस्थागत विकास नहुँदाको समस्या हो । तसर्थ, राजनीतिक दल र अहिले सम्मको नेतृत्वगणले विगत र वर्तमानको गम्भीरतापूर्वक समीक्षा गरेर अब सच्चिने कि सकिने एक बाटो र विकल्प रोज्ने अवस्था बनाउन आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *