राष्ट्रिय गौरवका आयोजना, बेहाल र खबरदारी

सम्पादकीय
राष्ट्रिय गौरवका आयोजना भन्न साथ अरु योजना, आयोजना जे जस्तो भए पनि यिनीहरुको कार्य प्रगति नमुना उदाहरणीय हुनुपर्ने हो । सरकारको ध्यान, प्राथमिकता र यथेष्ट नियमन पनि यसमै बढी केन्द्रित हुनुपर्ने हो । सरका र यसका निकायको गौरवका आयोजना प्रतिको तदारुकता अलि फरक देखिनु पथ्र्यो । तर बिडम्बना भन्नुपर्छ, नेपालका जति पनि राष्ट्रिय गौरवका आयोजना छन्, त्यसमध्ये अधिकांश आयोजनाको अवस्था बेहाल देखिएको छ । कति गौरवका आयोजनाको कार्य प्रगति निकै सुस्त छ भने कति बिचमै अलपत्र छन्, कति गौरवका आयोजना बजेट हुँदा हुँदै पनि ठेकेदारको चरम लापरबाहीले अपेक्षित गतिमा काम हुन नसकेको अवस्था बिद्यमान छ । अझ दुर्भाग्य त यो छ कि स्थानीय नागरिकले, स्थानीय तह समेत संघीय सरकारको ध्यानाकर्षणका लागि आन्दोलित हुँदा समेत राष्ट्रिय गौरवका आयोजनाको काममा गतिशीलता आएको छैन ।

राष्ट्रिय गौरवका आयोजनाको पछिल्लो प्रगति सूचकले पनि खराब संकेत गर्छ । चालू आर्थिक वर्षको ६ महिना (साउनदेखि पुस मसान्तसम्म)को अवधिमा १९ वटा राष्ट्रिय गौरवका आयोजनाको खर्च स्थिति निराशाजनक अवस्थामा देखिएको छ । यस अवधिमा विनियोजित कूल बजेटको २३.६१ प्रतिशत मात्रै खर्च भएको तथ्यांक सार्वजनिक भएको छ । चालू वर्षका लागि अर्थ मन्त्रालयले १९ वटा राष्ट्रिय गौरवका आयोजनाका लागि ६५ अर्ब ६४ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यसमध्ये ६ महिना घर्किसक्दासम्ममा १५ अर्ब ५० करोड ८ लाख रुपैयाँ मात्रै बजेट खर्च भएको छ । मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपालले ०.४७ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको बजेट खर्च ३७.११ प्रतिशत, उत्तर दक्षिण राजमार्गको ३३.८० प्रतिशत, रेल मेट्रो तथा मोनो रेल विकास आयोजनाको ३४.९८ प्रतिशत खर्च भएको छ । यस अवधिमा सासेक विद्युत तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाको बजेट खर्च ०.०७ प्रतिशत हुँदा पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको खर्च शून्य–शून्य प्रतिशत छ । सिक्टा सिँचाइ आयोजनाले २४.८९ प्रतिशत, रानी जमरा कुलरिया सिँचाइ आयोजनाको बजेट खर्च ३४.३५ प्रतिशत छ । भेरी बबई डाइभर्सन बहुउद्देशिय आयोजनाको बजेट खर्च २३ प्रतिशत, मेलम्ची खानेपानी आयोजनाको ३२.७२ प्रतिशत, राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको १५.९६ प्रतिशत, काठमाडौँ–तराई द्रुतमार्ग १९.३७ प्रतिशत खर्च भएको छ ।

देशको विकास, प्रगति कुन हालमा छ ? अरु योजना, आयोजना होइन, राष्ट्रिय गौरवकै आयोजना मात्र हेर्दा पनि प्रष्ट देखिने अवस्थामा छ । मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड अलपत्र भएको वर्षौ भइसक्यो । यो मार्गको कन्तबिजोगबारे प्रधानमन्त्री, मन्त्री, प्रदेशका मुख्यमन्त्री, नेता, सांसद कोही बेखबर छैनन् । कुनै न कुनै रुपबाट उनीहरुले देखे, भोगेकै, सुनेकै छ्रन । र पनि यस राष्ट्रिय गौरवको आयोजनाको दुरावस्थामा अझै कुनै ठोस प्रगति देखिने संकेत छैन । ठेकेदार कालोसूचिमा छ, काम गर्ने सम्झौता अवधि सकिएको छ । सरकार तत्काल रिटेण्डर गर्न अनेकन बाधा व्यवधान, प्रक्रिया देखाइरहेको छ । यसले गौरवको आयोजनाको २५ किमी अलपत्र सडकको काम कहिले सकिने हो ? पुरै अनिश्चयको भूमरीमा छ । अरु गौरवका आयोजना पनि उस्तै बेहाल अवस्थामा छन् । राष्ट्रिय गौरवकै आयोजनाको यो हाल हुँदा सरकार प्रधानमन्त्री, मन्त्री, सरकारी सम्बन्धित कर्मचारी दैनिक के गरेर बसिरहेका छन् ? अलपत्र, चरम लापरबाही, बेवास्ता हँुँदा पनि कुनै कदम चाल्न नसक्नुको पछाडि के कारण छ ? अब खोज, खबरदारी जरुरी भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *