रेमिट्यान्समा कहिलेसम्म रमाउने ?

सम्पादकीय
विदेश रोजगारीका लागि नेपालीको बाध्यताको गन्तव्य हो । चाहे त्यो भारत र अरबियन देशहरुमा होस् या युरोप अमेरिकाहरुमा होस् । आफ्नो हैसियत र सामथ्र्य अनुसार नेपालीहरु बिभिन्न देशमा रोजगारीका लागि पुगिरहेका छन् । उसो त धन आर्जनसँगै उच्च शिक्षा हासिल गर्ने रहर र सपनाले विदेशिनेहरुको संख्या पनि अधिक छ । नेपालको पछिल्लो तथ्यांक अनुसार कामको खोजीमा दिनहुँ करिब २ हजार नेपालीले मुलुक छाड्ने गरेका छन् । वैदेशिक रोजगारी विभागका अनुसार काम खोज्दै दैनिक १ हजार ९ सय ३१ नेपालीले मुलुक छाडिरहेका छन् । चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा ४ लाख ५ हजार ५ सय ५२ नेपालीले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउन–माघसम्म प्रतिमहिना ५७ हजार ९ सय ३६ नेपालीले रोजगारीका लागि मुलुक छाडेका छन् । यसलाई दैनिक हिसाब गर्दा १ हजार ९ सय ३१ नेपालीले देश छाडिरहेका छन् ।

उसो त गत वर्ष हाल सम्मकै कीर्तिमानी संख्यामा नेपाली विदेशिएका थिए । यस वर्ष त्यसमा केही ‘ब्रेक’ लागे पनि ठुलो संख्यामा विदेशिरहेका छन् । यसवर्ष युनाइटेड अरब इमिरेट्स (यूएई) मात्रै ७ महिनामा १ लाख १ हजार ७ सय ७८ नेपाली कामको खोजीमा पुगेका छन् । गत वर्ष मलेसियामा नेपालीको लर्को लागेको थियो । यूएईलाई गन्तव्य बनाएर युरोप र अमेरिकी देश जाने क्रम बढेका कारण पछिल्लो समय यूएईमा नेपालीको बढी आकर्षण देखिएको छ । यूएईपछि साउदी अरब जाने नेपालीको संख्या धेरै छ । साउदीमा १२ हजार २ सय ७६ श्रम स्वीकृति जारी भएको छ । यसरी बिदेशिनेमा सबैभन्दा धेरै तराई–मधेश भेगबाट नेपाली कामको खोजीमा विदेशिएका छन् । अघिल्लो वर्षको तुलनामा बिदेशिने नेपालीको संख्यामा केही कमी देखिए पनि रेमिट्यान्समा भने कीर्तिमान छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस वर्ष पुस मसान्तसम्म ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो वर्ष आएको रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशत धेरै हो ।

नेपालमा प्रयाप्त रोजगार छैन । व्यावसायिक सम्भावना, बजार सुनिश्चितता पनि उति धेरै छैन । दैनिक रोजिरोटी, जीविकाका लागि सहजता नभए पछि बैदेशिक रोजगार आम नेपालीको एक गन्तव्य बन्ने गरेको सत्य हो । अर्कोतर्फ नेपालको शिक्षा प्रणाली खर्चिलो र महँगो भएका कारण विदेशमा पढ्दै कमाउन सकिने अवसर र सुविधाका कारण पनि विदेशिएका छन् । तर, यसरी परदेशिएकाहरु पछिल्लो समय देश नफिर्ने प्रबृत्ति बढेको छ । बरु श्रीमान् श्रीमति, परिवार सबै उतै लगेर बस्ने, उतैको सिटिजनसिप लिएर बस्ने प्रचलन बढेको छ । यता नेपालको गाउँ बस्ती क्रमशः रित्तिदो छ । गाउँ पूख्र्यौली थातथलो भएकाले छोड्न नमानेका कारण उनै बुढापाकाले गाउँ थामेका छन् । मान्छे मर्दा मलामी जाने तरुण तन्नेरी पाउन समेत मुश्किल भएको छ । असली खुशी, सुख, एकआपसको हार्दिकता हराएको छ । मानिसहरु पैसाकै पछि दौडिरहँदा समाज एकांकी बनिरहेको छ । सरकार भने दैनिक दुई हजारको संख्यामा नेपालको दक्ष र उर्जाशील जनशक्ति विदेश पलायन भइरहँदा पनि उति साह्रो चिन्तित छैन । बरु यसरी गएकाहरुबाट आइरहेको रेमिट्यान्समै रमाइरहेको छ । यसले देशलाई भोलिका दिनमा निकै जटिल अवस्थामा पु¥याउने छ । अतः सममयै तीन तहको सरकार, सरोकारवाला निकाय र आम नागरिक सबैले देशमै रोजगार, भविष्य सुनिश्चितताका लागि यथोचित वातावरण बनाउन जिम्मेवार र इमान्दार भूमिका निर्वाह गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *