पञ्चकोट, पूर्वाधार र पर्यटन

सम्पादकीय
सर्वसिद्धिधाम पञ्चकोट, बागलुङ जिल्ला र समग्रमा गण्डकी प्रदेशकै एक उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य । केही वर्ष यता बागलुङ आउने जो कोही पञ्चकोट पुग्छन् । पञ्चकोट धार्मिक हिसाबले मात्रै होइन, प्राकृतिक मनोरम दृश्य, पर्यटनमैत्री भौतिक संरचनाहरुले पनि यो पर्यटकीय गन्तव्य बनिरहेको छ । तर, यति बृहत्तर सोच, योजना, अग्रसरता कुनै सरकार या मन्त्री या नेताका कारण भएको होइन । यो चाहीँ नेपालमा अनौठो कुरा हो । यी र यस्ता सम्भावनालाई अवसरमा बदल्ने नेताहरु भाषण र आश्वासनकै खेती गर्नमा सीमित छन् । एक धार्मिक गुरु श्री १००८ स्वामी कमलनयनाचार्यले भने अभूतपूर्व कार्य गरेर जिल्लाको पर्यटनमै उभार ल्याइदिए । यसका लागि सिंगो जिल्ला उनी प्रति अनुग्रहित त हुनुपर्छ नै, पवित्र सोचका साथ सत्कर्म गरे हुने रहेछ भन्ने महत्वपूर्ण सन्देश पनि प्रवाह गरेका छन् ।

अहिले यही पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालित छ । बुधबारदेखि सुरु भएको महायज्ञमा राष्ट्रपति रामचन्द्र पौडेल नै पुगे । जसले यसको ओज र पञ्चकोटको प्रचार प्रसारलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तर सम्म पु¥यायो । यही अवसरमा पञ्चकोटमा स्थापना गरिएको ५ हजार ५ सय ५५ किलोको महाघण्टा पनि उद्घाटन गरियो । ८ वर्षमा निर्माण गरिएको मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएको छ । विसं २०७१ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन थालिएको थियो । पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् । पञ्चकोटमा एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलश समेत निर्माण गर्न लागिएको छ ।
जलसम्पदाको संरक्षण गर्न कलश तथा विश्वमा शान्तिको सन्देश फैलाउन पञ्चकोटमा महाघण्टको स्थापना गरिएको आयोजकको दाबी छ । पञ्चकोट आज जे बनेको छ, त्यो संरचना यदि नेपाल सरकार या यसका निकाय मार्फत बनाउन जिम्मा दिएको भए अहिले सम्म निर्माण कार्य सुस्त, अलपत्र हुने मात्र होइन, कैयन विवाद, भ्रष्टाचार, अनियमितताका अनेकन काण्ड बाहिर आइसक्थे होला । स्वयंम् स्वामीको एकल नेतृत्व, पहल र अग्रसरतामा भएकाले पवित्र भूमिमा पवित्र कर्म नै भइरहेको सुनिएको छ ।

पञ्चकोट अहिले एक पछि अर्को ऐतिहासिक, आकर्षक र सुविधा सम्पन्न पूर्वाधारले सूसज्जित भइरहेको छ । यी पूर्वाधार संरचनाहरु पनि मूख्यतः महायज्ञ र देश बिदेशका विभिन्न चन्दादाताको सहयोगबाट बनेको छ । उसो त तीन तहको सरकारले पनि यसमा लगानी सहयोग गरिरहेका छन् । एक स्वामी (जोगी)को पहल र अग्रसरतामा अबौं रकम संकलन गरेर यति बृहत र अभूतपूर्व कार्य हुन सक्छ भने वर्षेनी करोडौं, अर्बौं बजेट हुने सरकार र यसका निकायले किन अपेक्षाकृत रुपमा काम गर्न सकिरहेका छैनन् ? परिवर्तन, विकास र समृद्धिको गतिलाई किन पछ्याउन सकिरहेका छैनन् ? यो निकै गम्भीर विषय हो । यसमा सरकार, सरोकारवाला निकायले समीक्षा र बहस गर्नुपर्छ । जे होस् पञ्चकोट देशकै एक आकर्षक गन्तव्य बनिसकेको छ । अब यसलाई थप धार्मिक र पर्यटनमैत्री पूर्वाधार सहितको गन्तव्य बनाउन स्थानीय एकताबद्ध र जागरुक हुनै पर्छ । यसका साथै जिल्लाकै महत्वपूर्ण आकर्षण र गन्तव्य भएकाले सरकार, सरकारी निकायले पनि हातेमालो गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *