सम्पादकीय
मिथ्या सूचना कति छिटो भाइरल हुन्छ ? यसै साता सरकारको एक निर्णयको मिथ्या सूचनाकै आधारमा लागेको बधाईको ओइरो र त्यसपश्चातको आधिकारिक निर्णयलाई हेरे काफी पुग्छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषय केही दिन यता चर्चा, विवाद र बहसमा छ । सरकारले यसपटक त्रिभुवन विश्वविद्यालयको उपकुलपति खुल्ला प्रतिस्पर्धाबाट छान्ने निर्णय ग¥यो । जस अनुसार, आवेदन दिएका ४३ जना मध्ये ३ जना सर्टलिष्टमा परे । यसको पहिलो नम्बरमा थिए बागलुङका चित्रबहादुर बुढाथोकी, दोस्रोमा पाल्पाका केशरंजग बराल र तेस्रोमा टंकनाथ धमला । संक्षिप्त सूचिको पहिलो नम्बरमा भएको र सरकारले निर्णय समेत गर्ने निश्चित प्रायः भन्दै सरकार निकट कुनै नेताले दिएको सूचनालाई नै आधार मानेर सामाजिक सञ्जाल र फोनमा पहिलो सूचिमा रहेका बुढाथोकीलाई बधाईको ओइरो लाग्यो । तर, त्यसबेला सम्म न सरकारले आधिकारिक जानकारी दिएको थियो, न त मूलधारका कुनै पनि सञ्चार माध्यमले समाचार नै प्रकाशन प्रसारण गरेका थिए । खबर भाइरल भएको २४ घण्टा बित्न लाग्दा स्वयंम् प्रधानमन्त्री पूष्पकमल दाहाल ‘प्रचण्ड’ले नै खबर मिथ्या भएको मात्रै बताएनन्, आधिकारिक निर्णय हुनै बाँकी रहेको बताए पछि सिंगो देश आश्चर्यमा प¥यो ।
उपकुलपति नियुक्त भनिएका बुढाथोकी आधिकारिक निर्णय र जानकारी कतैबाट नआउने तर बधाईको फोन र समाचारले आक्रान्त बनिरहे । अर्को तर्फ प्रधानमन्त्रीको भोलिपल्टको अभिव्यक्तिले खबर मिथ्या मात्रै होइन, यो खबर सार्वजनिक गर्न नियोजित पंक्ति नै लागेको आभाषको कुराले थप भयग्रस्त बने । पछिल्लो समयमा यस्ता मिथ्या सूचनाको शिकार धेरै मानिस बनिसकेका छन् । सामान्य सर्वसाधारणदेखि ठुला भनिएका नेता, कर्मचारी, सेलिब्रेटी कलाकारसमेत यस्तो मिथ्या सूचनाबाट डिप्रेसन मात्र होइन, ज्यानै लिने सम्मको अवस्थामा पुग्ने गरेका छन् । मिथ्या सूचनाकै कारण प्राप्त राजनीतिक उपलब्धि लोकतन्त्र र लोकतान्त्रिक नेतृत्व माथि लगातार प्रहार हुन थालेको भन्दै बेला बेला सार्वजनिक चिन्ता समेत व्यक्त गर्ने क्रम जारी छ । पछिल्ला समय भ्यूज र डलर कमाउनका लागि जे पनि गर्ने र हाल्ने प्रवृत्ति मौलाउँदो छ । यही गलत सूचनाका आधारमा सामाजिक सञ्जालमा गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको छ ।
मिथ्या सूचना उत्पादन गर्ने र त्यसकै आडमा रमाउने, कमाउने र स्वार्थ सिद्ध गर्ने एउटा ठुलै पंक्ति छ । अनि अर्को एउटा यस्तो पंक्ति छ, जो आफ्नो सामाजिक सञ्जाल वालमा जे आउँछ, त्यो कुनै सही गलत नभनिकन सिधै विश्वास गर्छ, सोही अनुसारको व्यवहार गर्छ, र त्यही भाइरल कन्टेन्टको पछि लागेर शेयर, कमेन्ट गर्छ । हालै त्रिवि उपकुलपति नियुक्तिको विषयमा भएको घटना पनि यही हो । सर्ट लिष्ट सिफारिस समितिले तयार गरेको सूचना, आधिकारिक निर्णय नहुँदै कसले कसरी कुन नियतले बाहिर ल्यायो ? यस प्रकरणकै कारण पहिलो सूचिमा रहेका बुढाथोकी रिङ्ग आउट त भएका होइनन् ? या यही मिथ्या हल्ला बजारमा फैलिए पछि अरु सूचिमा भएकाले रणनीतिक चालबाजी चालेर पछिल्लो निर्णय त आएको होइन ? यसको यथेष्ट खोज, समीक्षा हुन आवश्यक छ । यस घटनाले मिथ्या सूचना क्षणभरमै कसरी भाइरल हुन्छ ? यसको पछि विद्धान मानिसहरु पनि कसरी दौडिन्छन् ? छरपष्टै देखिएको छ । मिथ्या सूचनाको संवेदनशीलता सबैले बोध गर्नुपर्छ । यसबारेमा विद्यालय, हरेक घर परिवार तहबाटै सचेत र जिम्मेवार बनाउनुपर्ने देखिएको छ । कस्ता सूचना ग्रहण गर्ने, कस्ता सूचना बहिष्कार गर्ने भन्ने बारे सबै जानकार र जागरुक हुनुपर्छ । मिथ्या सूचनाविरुद्ध सिङ्गो समाज एक ठाउँमा उभिनुपर्छ, यसलाई बेलैमा नियन्त्रण नगर्ने हो भने लोकतान्त्रिक व्यवस्था त बदनाम हुन्छ नै, हजारौं निर्दोष व्यक्तिहरु यसको शिकार बन्नेछन् । कतै तपाईँ पनि मिथ्या सूचनाको आफै सिकार भइसक्नु भयो कि ? अब ख्याल गर्नुस् है ।