सम्पादकीय/ नेपाल र नेपालीको दुर्भाग्य भन्नुपर्छ, बदलिँदो व्यवस्थामा पनि मुलुक राजनीतिक अस्थिरताको गोल चक्रबाट मुक्त हुन सकेन । सत्ता र शक्ति प्राप्तिका लागि जे पनि गर्न तयार हुने नेतृत्वबाट देशले राजनीतिक व्यवस्था परिवर्तन त सफल भयो । तर, व्यवस्था अनुसारको शासकीय नेतृत्व गर्न भने असफल प्रायः रहे । देशमा निर्वाचन भएको दुई वर्षको अन्तरालमा दुई पटक सरकारमा चामत्कारिक रुपमा फेरबदल आइसकेको छ । मुलुकको तेस्रो दलको रुपमा रहेको नेकपा माओवादी नेतृत्वमा सरकार छ । यसमा कहिले बाम लोकतान्त्रिक गठबन्धनको नाममा देशको सबै भन्दा ठुलो दल नेपाली कांग्रेस लगायतका दल सम्लग्न छ भने कहिले दोस्रो ठुलो दलको समर्थन लिएर नेकपा माओवादीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पूष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताको बागडोर सम्हालिरहेका मात्र छैनन्, सिंगो देशको राजनीतिको मियो आफै बनिरहेका छन् ।
एक वर्ष अघि माओवादी–कांग्रेस र माओवादी–एमालेको सहकार्यका बाबजुद जे जसरी चामत्कारिक सत्ता समीकरण फेरिएको थियो, अहिले उसैगरी फेरिएको छ । पहिले सत्ता चलखेलका क्रममा सत्ताको सन्निकट पुगेर पनि नेकपा एमाले रिङ आउट भएको थियो भने यसपटक मुलुकको पहिलो दल नेपाली कांग्रेस रिङ आउट भएको छ । प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनाउँदै मन्त्रिपरिषद् १३औं पटक पुनर्गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेपछि गरेको मन्त्रिपरिषद्को यो १३औं पुनर्गठन हो । सोमबार तीन नवनियुक्त बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद आर्यालले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ कार्यविभाजन अनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले सम्हालेका छन् । योसँगै प्रचण्डले सरकारको नेतृत्व सम्हालेको करिब साढे १४ महिनाको अवधिमा ४३ जना मन्त्री देशले पायो । २०७९ पुस १० गते नेपालको ४४औँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रचण्डले भोलिपल्ट (पुस ११ गते) पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । सरकारमा एमाले, माओवादी र रास्वपाका मन्त्री सहभागी भएका थिए । त्यसबेला राष्ट्रपति निर्वाचन माओवादीले नेपाली कांग्रेसलाई साथ दिने भएपछि एमालेले सरकार छोडेको थियो । एमालेसँगै रास्वपा र राप्रपा सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेस सरकारमा गएको थियो । नेपाली कांग्रेसका मन्त्रीलाई समेटी प्रधानमन्त्री प्रचण्डले २०७९ चैत १७ गते मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन गरेका थिए ।
यो देशको राजनीतिक गतिविधि र परिदृश्य हेर्दा यस्तो लाग्छ कि एउटा पक्ष भएको सरकार कसरी जोगाउने भन्नेमा केन्द्रित छ, अर्को पक्ष कसरी सरकार ढलाउने भन्नेमा छ । किन यो देशमा सरकार मात्रै फेर्ने, देश फेर्ने कुरामा नेतृत्वदायक भूमिका नेताहरुको देखिदैन ? नेपालमा यति छिटो र छोटो समयमै सरकार किन ढल्छ ? सत्ता राजनीतिको कुरुप खेल किन क्षण क्षणमा चलिरहन्छ ? गठबन्धन र महागठबन्धन के सत्ताको आसनमा पुग्ने अस्त्र मात्रैका लागि हो ? होइन भने मुलुक बनाउने समृद्धिको सपना र त्यस प्रतिको नेतृत्वको दृढता, समर्पण र इमान्दारिता कहाँ देखिन्छ ? किन खाली सत्तामा भएकाहरुले त्यसलाई कसरी जोगाउने भन्ने पिरलो मात्रै र सत्ता बाहिर रहनेले सत्तामा कसरी पुग्ने भन्ने मात्रै सोचिरहन्छन् र अनेकन कुरुप खेल खेलिरहन्छन् ? अहिले परिवर्तित ताजा राजनीतिक घटनाक्रम पनि किन अस्वभाविक देखिन्छ ? के पहिले भएको राजनीतिक समीकरण र अहिले भएको राजनीतिक समीकरणमा कुनै सिद्धान्त, विचार र समृद्धिको एजेण्डाको साझा सहमति र बुझाई छ कि केबल सत्ता भागबण्डामा मात्रै खेल सीमित छ ? यी र यस्ता अनगिन्ती प्रश्न, संशय र सवालमा गम्भीरतापूर्वक छलफल, समीक्षा र मन्थन हुन अपरिहार्य छ । अब यो देशमा सरकार मात्र फेर्ने फेरिने होइन, देशको मुहार पनि फेर्ने फेरिने गरी काम हुनुपर्छ । अन्यथा, जनताले यसको यथोचित हिसाब किताब निकट समयमै मिलान जरुर गर्नेछन् ।