१८ औं वर्षमा जागरणः अझ दृढ र परिपक्व


विशेष सम्पादकीय
जतिबेला जनता र समाजमा जागरण प्रयाप्त हुन्छ, त्यतिबेला मात्र समाज र देश सभ्य, सुशासनयुक्त र समृद्धशाली बन्छ । समयको गति अनुसार यथेष्ट जागरण पैदा गर्न सकेमा मात्र देश पनि गतिशील बन्छ । समाज र देशको परिवर्तन, विकास, समृद्धि, सुशासनका खातिर पत्रकारिता मार्फत समाजलाई जागरुक बनाउने अभिप्रायले १७ वर्ष जन्मिएको हो धौलागिरी जागरण । समाज र समयको एक अपरिहार्य आवाजका रुपमा जन्मिएको जागरण अरु पत्रिका भन्दा केही भिन्न सोच सहित यात्रा आरम्भ गरेको हो र आज पनि भिन्न पहिचान र परिचयका साथ समाजमा स्थापित छ । कुनै व्यक्ति विशेषको अनुग्रह भन्दा माथि उठेर धौलागिरीमै पहिलो पहिलो पटक साझा सञ्चार सहकारीको नयाँ अवधारणामा जागरण जन्मिएको हो । आजको दिनसम्म आइपुग्न धौलागिरी जागरण दैनिकले कैयन अप्ठ्यारा जंघार पार गर्नु परेको छ । सत्य पस्कदा कैयन धाकधम्की, रवाफहरुको सामना गर्नुपरेको छ । तर, हामी हाम्रा प्रिय पाठक र आम नागरिक प्रतिको सामाजिक उत्तरदायित्व बहन गर्ने भूमिकाबाट बिचलित नहुँदा प्राप्त प्रेम, सद्भाव र विश्वास अभूतपूर्व छ ।

समाजमा गतिशील समयसँगै अघि बढ्न पत्रकारिताको जरुर आवश्यकता र भूमिका थियो । यसले साढे एक दशक बढीको आफ्नो अनवरत यात्रामा एक सूचना वाहकको भूमिका मात्र निर्वाह गरेको छैन, समाजको सच्चा पहरेदारको रुपमा खराब पात्र र प्रवृत्तिका विरुद्ध निरन्तर खबरदारी गर्ने काम गरिरहेको छ । धौलागिरी हिमालको काख र आँगनमा रहेका ठाउँहरु हुन् या पहाडका फेद र सम्मुखमा रहेका दुरदराजका गाउँहरु हुन् । दुरसम्मको आवाज आम सञ्चार माध्यममा ल्याउन अनवरत प्रयास जारी राख्यो र राखिराख्नेछ । जहाँ सञ्चार माध्यमको सबलीकरणको अभावमा व्यक्ति विशेषले मिडिया सञ्चालन गर्ने र कुनै मिसन पुरा गरे पछि बन्द हुने बिडम्बनापूर्ण अवस्था बिद्यमान भएका बेला धौलागिरी जागरण दैनिक आदर्श सञ्चार सहकारी संस्था मार्फत् प्रकाशित हुन थाल्यो । २०६३ फागुन २० गते नमुना अंक प्रकाशित गरी २३ गते विधिवत रुपमा पहिलो अंक अर्धसाप्ताहिक रुपमा प्रकाशन गरिएको धौलागिरी जागरण २०६५ जेठ १ गते यता निरन्तर दैनिक पत्रिकाका रुपमा प्रकाशित छ । यो प्रकाशन गर्दाका आदर्शका मुख्यतः दुई वटा सुरुवाति सञ्चार आयाम र अभ्यास थिए । एक त पत्रिका मार्फत भिन्न शैली र स्वादमा समाचार दिने । अर्को महत्वपूर्ण विषय कुनै व्यक्ति विशेषमा मात्र निहित नभई संस्थागत रुपमा निःसन्देह सूचना समाचार प्रवाह गर्ने । सुरुवातमा ‘आजको समाचार आजै’ भन्ने उद्घोष सहित प्रकाशित धौलागिरी जागरण डिजिटल पत्रकारिताको अभ्यास आरम्भ संगै बदलिएका पाठकका चाहना, भावना र आवश्यकता अनुसार दैनिक फरक स्वाद र शैलीमा आफ्नो भूमिकालाई समय सापेक्ष बदल्दै आएको छ । सीमित स्रोत साधनका बाबजुद पनि यस पत्रिकाले धौलागिरी क्षेत्रमा सन्तुलित र सशक्त आवाज उठाएकै कारण प्रेस काउन्सिलमा ‘क’ वर्गमा स्थापित छ । सुरुवातमा संस्थागत रुपमा प्रकाशन आरम्भ गर्दा नै यसको निरन्तरतामा प्रश्न र संशयपूर्ण अवस्थाको सामना गरेको विगतलाई आशा, विश्वास र भरोसामा बदलेर आजको गर्विलो क्षणमा आइपुगेका हौ । जागरण यात्रा १७ वर्ष पुरा गरेर १८ औं वर्षमा प्रवेश गर्दै गर्दा त्यो सुरुवाती र लामो समयको संशयलाई आदर्श सञ्चार, जागरणकर्मीको कर्मले गलत सावित मात्रै गरेको छैन, भोलीको भविष्य समेत भरोसा योग्य बनाउने प्रशस्त आधार खडा गरेको छ ।

इतिहासका कठिन दिनहरुमा पनि धौलागिरी जागरण दैनिक आफ्नो समय सापेक्ष भूमिकाबाट कत्ति बिचलित भएन । आफ्ना पाठकलाई सही समयमा सही सूचना र नागरिकको हक अधिकारका लागि पत्रकारिता मार्फत अविछिन्न समर्पित रहिरह्यो, रहिरहनेछ । यसक्रममा आदर्श सञ्चार सहकारीले धौलागिरी जागरण दैनिक मात्रै होइन, सह–प्रकाशनका रुपमा अग्रसर साप्ताहिक, समन्वयी सञ्चार माध्यमका रुपमा धौलागिरी टेलिभिजन र डिजिटल सञ्चार माध्यमका रुपमा पछिल्लो समय लोकप्रियता हासिल गरिरहेको अनलाइनमा आदर्श सञ्चार डट कम सञ्चालित छ । धौलागिरी जागरणले अनेकन विवाद, आरोप प्रत्यारोपका घटना र विषयमा पनि पत्रकारिताको सत्य, तथ्य, सन्तुलित भावनाको मर्म र मूल्य मान्यतालाई कहिल्यै मर्न दिएन र भोलिका दिनमा पनि दिने छैनौ । नागरिक र समाजको एक असल र सशक्त सञ्चारको सारथीको रुपमा धौलागिरी जागरण दैनिक र आदर्श सञ्चार रहिरहनेछ । १७ औं वर्ष सम्म अनवरत साथ, सहयोग, मार्गदर्शन, सल्लाह, सुझाव दिनु हुने प्रिय पाठक, आदर्श सञ्चार सहकारीका सञ्चालक, कर्मचारी, आवद्ध शेयर सदस्य, कर्मचारी, समाचार शाखामा कार्यरत पत्रकार सञ्चारकर्मी, विज्ञापनदाता, शुभेच्छुक सबै धन्यवादका पात्र छन् । यसका लागि सुरुवातदेखि हाल सम्म जोडिनु भएका सबै सञ्चालक, पत्रकार, कर्मचारी लगायत प्रति धौलागिरी जागरण दैनिक परिवार कृतज्ञ छ । जागरणको गर्विलो विगतका जगमा आगामी दिनमा समेत समाज र समृद्धिका लागि सवल र सक्षम सञ्चार गृहका रुपमा आदर्श सञ्चारलाई स्थापित गराउँदै धौलागिरी जागरण दैनिक र यस सम्बद्ध मिडियालाई समाजमा रुपान्तरणको एक असली हिस्सेदार बन्ने बनाउने मूल लक्ष्यमा हामी निरन्तर प्रतिवद्ध रही रहनेछौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *