सम्पादकीय/ संघीय र प्रदेश निर्वाचन भएर नयाँ सरकार गठन भएको एक वर्ष बित्दा नबित्दै सत्ता समीकरण फेरिएको छ । उसो त गत वर्ष निर्वाचन पश्चात सरकार बन्ने बनाउने क्रममै प्रधानमन्त्री को बन्ने ? सत्ता भागबण्डाकै क्रममा चुनावी गठबन्धन गरेर जितेका नेकपा माओवादी, नेपाली कांग्रेस लगायतका दलहरु बिच नै टकराब मात्रै बढेन, माओवादी अध्यक्ष प्रचण्डले प्रतिस्पर्धामा रहेको नेकपा एमालेको साथ लिएर प्रधानमन्त्री बने । माओवादीकै नेतृत्वमा एमाले माओवादी संयुक्त सरकार बन्यो । त्यसको एक महिनाको अन्तरालमा विश्वासको मत लिँदै गर्दा फेरि समीकरण चामत्कारिक रुपमा बदलियो । र पुरानै माओवादी, कांग्रेस र एकीकृत समाजवादी लगायतको संयुक्त सरकार बन्यो । पाँच वर्षका लागि प्रधानमन्त्री समेत आलोपालो (माओवादी दुई वर्ष, कांग्रेस दुई वर्ष र एकीकृत समाजवादी दुई वर्ष) बन्ने सहमति गरेका दलहरुको एकता अहिले पुनः खलबलिएको छ । पुरानो गठबन्धन भत्किएर फेरि माओवादी, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी सहितको सरकार बनेको छ ।
माओवादीले सत्ताको नेतृत्वमा रहेका अधिकांश पुरानै अनुहारहरु दोहो¥याएको छ । नेकपा एमालेले नयाँ अनुहारलाई यसपटक सरकारमा पठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चर्चामा रहेका नेताहरुलाई मन्त्रालयको जिम्मेवारी सम्हाल्न पठाएको छ । एकीकृत समाजवादी पार्टीले पनि मन्त्रालयको जिम्मेवारीमा नयाँ अनुहार नै ल्याएको छ । यसकारण अहिलेको मन्त्रीमण्डलमा अधिकांश नयाँ अनुहार देखिएका छन् । प्रधानमन्त्री प्रचण्डले समीकरण बदलिनुमा अर्थमन्त्रीको कमजोर कार्यसम्पादन, कांग्रेस मन्त्रीहरुको भ्रष्टाचार प्रकरण, परिवर्तन प्रतिको दृष्टिकोण, आगामी निर्वाचनमा गठबन्धन नगर्ने महासमिति बैठकको छलफल लगायतका कारण छन् । यद्यपि, यस विषयमा कांग्रेसले आफ्नो प्रष्टिकरण दिइसकेको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वार्थ अनुसार गठबन्धन भत्काए पछि आफ्नो पार्टीलाई कपोलकल्पित आरोप लगाएको दाबी गरेको मात्र छैन, प्रचण्डलाई बेइमान र धोकेबाजको संज्ञा समेत दिएको छ ।
सरकार समीकरण बदलेर मन्त्रीपरिषद विस्तार हुँदा नहुँदै यसको आयुका बारेमा समेत चर्चा परिचर्चा भइरहेको छ । जुन नेपाली राजनीतिको वर्षौदेखिको दुर्भाग्य र बिडम्बना हो । अहिले पनि सरकारबाट बाहिरिएको नेपाली कांग्रेसले अर्को समीकरण बनाउन गरिरहेको पहल, सत्तामा पुगेको एमालेले सिनियर नेतालाई सरकारमा नपठाइ नयाँ अनुहार मात्रै सरकारमा पठाउने लगायतका कार्यले सरकार अबको बाँकी चार वर्ष नै जाने कुरामा संशय पैदा भइसकेको छ । अब यस आंशका र संशयलाई सत्ता बागडोर सम्हालिरहेको नेकपा माओवादी, प्रधानमन्त्री प्रचण्ड र नेकपा एमाले लगायतका दलले निवारण गर्छन्, त्यो हेर्न बाँकी नै छ । अहिले नै यसबारे आँकलन गर्न हतारो हुनेछ । तर, नेपालको राजनीति थप अस्थिरता तर्फ गइरहेको बुझ्न धेरै सोच्न पर्दैन । अहिले नयाँ समीकरण बन्दै गर्दा आमनागरिकमा ठुलो आशा र उत्साह केही पैदा छैन । यद्यपि, केही आशा लाग्दा अनुहार सहितको सरकार बनेकाले झिनो आशा भने छ । यो एक वर्षको अन्तरालमा जे जस्तो कुरुप राजनीतिक खेल भए, त्यो अब फेरि दोहोरिने नियति नआओस् । यसमा राजनीतिक दल र नेतृत्वहरु नेपाल र नेपालीको हितका खातिर क्षणिक स्वार्थमा देशलाई अस्थिरता र बेथितिको शिकार नबनाउन् ।