बधाई सिलसिला !

सम्पादकीय
नेपालका ५० प्रभावशाली महिलाको सूचिमा दर्ज भएकी छिन् बागलुङकी सिलसिला आचार्य । जो बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखामा जन्मिएर अहिले पर्यावरण अभियन्ताको रुपमा सक्रिय र समर्पित छन् । उनै आचार्य अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनलाइनखबरले सार्वजनिक गरेको नेपालका ‘५० प्रभावशाली महिला’को सूचीमा परेका छन् । वातावरण विद् सिलसिला हिमालयन क्लाइमेट इनिसिएटिभको प्रमुख कार्यकारी अधिकारीको रूपमा कार्यरत छिन् । राजनीति, समाज, कला÷साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा क्षेत्रका प्रतिनिधिमुलक ५० महिलामा सूचीकृत हुनु यो बागलुङ जिल्लाकै लागि गर्व र गौरवको कुरा हो । प्रारम्भिक सूचीमा १५० जना महिलाको नाम देशभरबाट तयार गरिएको थियो । ‘नेपालमा केही भएको छैन, केही हुनेवाला छैन भन्ने भाष्यलाई चुनौती दिँदै समाजमा केही भइरहेको छ र आ–आफ्नो क्षेत्रमा अतुलनिय योगदान दिइरहेका छन् भन्ने पाठ र सन्देशका लागि सिलसिला एक उदाहरणीय पात्र निःसन्देह हुन् ।

जिल्लामै प्रवेशिका उत्तीर्ण गरेसँगै काठमाडौंको एनआईसी कलेजमा विज्ञान विषयमा कलेज टप गरिन् । सँगै उनले एमबीबीएसका लागि आकर्षक पूर्ण छात्रवृत्ति पाइन् । तर, उनको मनमा बलियो प्रश्न जन्मियो– ‘के म डाक्टर बन्नकै लागि हुँ ? अब्बल विद्यार्थी डाक्टर÷इन्जिनियर मात्रै बन्ने भए अरू क्षेत्रमा जाने को ?’ यही प्रश्नले उनलाई अभियन्ता मात्र बनाएन, आज देशकै प्रभावशाली ५० महिलाको सूचीमा दर्ज हुने गर्विलो परिचय र पहिचान दिएको छ । अन्ततः सिलसिलाले एमबीबीएसको सरकारी पूर्ण छात्रवृत्ति त्याग्दै महँगो शुल्क तिरेर काठमाडौं विश्वविद्यालयमा वातावरण विज्ञान पढ्ने निर्णय गरिन् । धेरैले यसलाई हावादारी काम भने । उक्त अवसर छाडेर वातावरण अभियन्ता बन्ने बाटो रोजेर सन् २०११ मा नर्वेको युनिभर्सिटी अफ बर्गनबाट जैविक विविधता र वातावरण व्यवस्थापनमा स्नातकोत्तर सकेपछि नेपाल फर्किइन् । त्यसयता सडक अभियान÷आन्दोलन, दिवंगत उज्ज्वल थापाको अगुवाइमा सञ्चालित ‘नेपाल युनाइट्स’ लगायत अभियानमा सहभागी पछि उनी आफैंले भक्तपुर ग्रीन हाइवे अभियान शुरू गरिन्् । सन् २०१३ मा वातावरण र उद्यमशीलताको क्षेत्रमा काम गर्ने संस्था हिमालयन क्लाइमेट इनिसिएटिभसँग आबद्ध भएसँगै उनले ‘हाम्री बहिनी सामाजिक उद्यम’ सुरु गरिन् । त्यतिबेला विदेशमा बेचिएर माइती नेपालले फिर्ता गरेका झण्डै १३०० महिलाले हाल सम्म हरित रोजगारी पाए । उनकै अग्रसरतामा प्लास्टिक निषेध अभियान चलाइयो । तीन, चार हजार युवाको सहभागितामा ‘भो पर्दैन ! मसँग आफ्नै झोला छ’ अभियान चल्यो । यसको नेतृत्व गर्दै ५० हजार हस्ताक्षर सरकारलाई बुझाइन् । सरकारले १ वैशाख २०७२ देखि नै काठमाडौं उपत्यकामा प्लास्टिकका झोला प्रयोगमा निषेध ग¥यो ।

सिलसिला आजको पूँजिवादी दुनियाँको रेसमा रहेका युवा पुस्ताका लागि निःसन्देह उदाहरणीय र प्रेरक पात्र हुन् । यो देशकै एक सिर्जनशील, अदम्य साहसी र दुरदृष्टि राख्ने रोलमोडेल युवा हुन् । सुख सुविधा र बिलासी जीवनका लागि विदेश जाने होड चलिरहेका बेला सिलसिलाले देशमै जे गरिरहेका छन्, यो आम युवा र देशप्रेम गर्ने हर मानिसका लागि सकारात्मक र प्रेरक कुरा हो । उनले अहिले आफ्ना सत्कर्म र अनुभवबाट जे योजना र सपनाहरु सार्वजनिक गरिरहेका छन्, त्यसलाई सरकारले यथेष्ट उपयोग, सहकार्य, समन्वय र सहजीकरण गर्न सक्ने हो मुलुकले नै अधिक लाभ लिन सक्नेछ । उनका अनुसार नेपाल ग्रीन इकोनोमीमा गयो भने अर्को ५ वर्षमा २५–३० लाख हरित रोजगारी सिर्जना गर्न सकिन्छ । यो सम्भव छ भन्ने कुरा सिलसिलाको नेतृत्वमा चलिरहेको अभ्नी भेन्चर्सले ७÷८ वटा प्रशोधन केन्द्रमा झण्डै ३०० जना श्रमिकलाई रोजगारी दिइरहेको छ भने हजारौं टन फोहोर व्यवस्थापन गरिरहेको छ । अर्को कुरा आफु के पढ्ने या बन्ने कुरा अरुले भनेर या अरुलाई हेरेर होइन, स्वंयम्मा निर्भर हुन्छ र हुनुपर्छ भन्ने उदाहरण सिलसिला हुन् । र सपना दृढतालाई कसरी समाज र देशको हितमा प्रयोग गर्न सकिन्छ या राष्ट्रको सेवा स्वंयम्सेवी अभियानबाट पनि कसरी गर्न गर्न सकिन्छ भन्ने उनले राम्ररी देखाएकी छन् । यी सत्कर्म र अभियानकै कारण देशभरबाट प्रभावी ५० महिलाको सूचीमा छनौट भएकी छन् । सिलसिलालाई भव्य बधाई ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *