विदेश घुम्ने नेपाली, खर्च र अर्थतन्त्र

सम्पादकीय नेपालमा पछिल्लो समय घुम्ने संस्कृति बढेको छ । व्यक्ति मात्र होइन, बिभिन्न चाडपर्व, सार्वजनिक विदा लगायतका अवसरमा एकल, पारिवारिक र सामूहिक घुमफिरमा उल्लेख्य बदलाव छ । हिमालदेखि पहाडका डाँडाकाडा, तराईका समथर भूभाग सम्म मानिसहरु कतै पैदल त कतै सवारी साधनको यात्राबाट घुम्ने र गन्तव्य चुम्ने अधिक छन् । यो आन्तरिक पर्यटन प्रवद्र्धनका लागि निकै सकारात्मक कुरा हो । नेपालीहरु आन्तरिक रुपमा मात्र होइन, बाह्य पर्यटनमा पनि पछिल्लो समय उत्तिकै रमाउन थालेका छन् । अध्यागमन विभागका अनुसार सन् २०२३ मा दुई सय २२ देशमा नेपाली पुगेका थिए । जबकि सोही वर्ष दुई सय २३ देशका पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

नेपाली घुम्न जाने प्रमुख देशमा भारत, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्यान्ड, चीन, अस्ट्रेलिया, सिंगापुर, मलेसिया, अमेरिका, जापान, ओमन, बेलायतलगायत छन् । भेनेजुयला, टोगो, स्लोभाकिया, पपुवा न्यूगिनी, उत्तर कोरिया, फिजी, जमैकाजस्ता देशमा पनि नेपाली घुम्न जान थालेका छन् । पछिल्लो सात महिनामा मात्रै विदेश घुम्न नेपालीले ३८ अर्ब खर्च गरेका छन् । विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको ८० प्रतिशतबराबर रकम नेपालीले पनि विदेश घुमफिरमा सकाउने गरेका छन् । पछिल्ला सात महिनामा विभिन्न देशबाट नेपाल आएका पर्यटकले ४५ अर्ब ४० करोड खर्च गरेकोमा सोही अवधिमा नेपालीले पनि विश्वका विभिन्न देश घुम्दा ३८ अर्ब १० करोड रुपैयाँ खर्च गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । विदेशीले नेपालमा गरेको खर्चभन्दा नेपालीले विदेश भ्रमणमा गरेको खर्च सात अर्ब २९ करोड रुपैयाँले मात्रै कम हो । यो तथ्यांकले विदेशी मुद्रा आर्जनको महत्वपूर्ण खम्बाका रूपमा हेरिएको पर्यटन क्षेत्रबाट नेपालले अत्यन्तै न्यून आम्दानी गर्ने गरेको देखाएको छ ।

कोभिड महामारी पछि चौतर्फी आर्थिक मन्दीका बेलामा पनि पर्यटक आगमन बढ्न थाल्नु सुखद कुरा हो । चालू आवको सात महिनामा गत आवको यसै अवधिको तुलनामा विदेशी पर्यटकबाट हुने अम्दानी ४५.५ प्रतिशतले वृद्धि भएको छ । यही बिचमा रोजगारी गर्न विदेश गएका नेपालीले कमाएर पठाएको रकम (रेमिट्यान्स) आठ खर्ब ३९ अर्ब पुगेको छ । ०७९÷८० को साउनदेखि माघसम्म विदेशी पर्यटकबाट ३१ अर्ब ४१ करोड रुपैयाँ आम्दानी भएकोमा यस वर्ष बढेर ४५ अर्ब ३९ करोड रुपैयाँ आम्दानी भएको छ । अघिल्लो वर्षको तुलनामा १४ अर्ब रुपैयाँले विदेशी पर्यटन आय बढेको देखाउँछ । नेपालले पर्यटकबाट सबैभन्दा धेरै आम्दानी ०७५÷७६ मा गरेको थियो । पर्यटनले रोजगारी र ग्रामीण अर्थतन्त्रमा अझ ठूलो योगदान गरेको छ । यसबेला आर्थिक मन्दीका बाबजुद पनि युवाहरु विदेश घुम्न जाने र ३८ अर्ब खर्च गर्ने कुरा सामान्य होइन । अहिले नेपालीहरुले विस्तारै त्यो हैसियत र सामथ्र्य बनाउन थालेका छन् भन्ने उदाहरण हो । अब पहिले देश र त्यसपछि विदेश घुम्ने अभियानमा जोड दिइनु पर्छ । विदेश मात्र घुम्न जाने भन्दा पनि त्यहाँको असल अभ्यास, व्यवसाय, सोचहरु सिकेर देशकोे हितमा लागु गर्ने मिसन बोक्नुपर्छ । त्यसमा सरकार, सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *