मध्यपहाडीकै दुःखद घटना

सम्पादकीय
केही यता देशमा दुर्घटनाका अप्रिय समाचारहरु लगातार सार्वजनिक भइरहेको छ । जसमा कैयनले अकालमै ज्यान गुमाएका छन् । सैयन जना अंगभंग घाइते भएका छन् । जसमा कति त उपचार पश्चात डिस्चार्ज भएर सकुशल घर फिर्ता भएका छन्, कति अस्पताल, घर र डेरामै शरीर हल न चलको जटिल अवस्थामा जीवन गुजारिरहेका छन् । सोमबार साँझ पूर्वीरुकुमबाट काठमाडौँका छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भयो । जसमा ९ जनाले अनाहकमा ज्यान गुमाएका छन् । दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, र बागलुङ सदरमुकाम स्थित धवलागिरि अस्पताल लगायतमा उपचार जारी छ । केहीलाई काठमाडौं रेफर गरिएको छ ।

बस दुर्घटनाको कारणबारे प्रहरी अनुसन्धानबाट यथार्थ विषय बाहिर आउला । बस सडकबाट एक सय ५० मिटर तल खसेको अवस्थामा छ । सात जनाको घटनास्थलमै मृत्यु र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाएका अधिकांश रुकुमका हुन् । अस्पतालमा उपचारत घाइतेहरुको प्रतिक्रिया र प्रारम्भिक अनुसन्धानका क्रममा चालकको लापरबाहीका कारण दुर्घटना भएको बुझिन्छ । तर, स्वयंम् चालकको समेत दुर्घटनामा मृत्यु भएको छ । साँझ भए पनि समयमै स्थानीयको सहयोगमा उद्धार सम्भव भएकाले अझ अप्रिय क्षति हुनबाट जोगिएको छ । दुर्घटनाका कारण बारेमा प्रहरीले गहिरो अनुसन्धान मार्फत कारण पहिचान गर्नेछ । दुर्घटनामा उद्धार पछि घाइतेहरुको उपचार प्राथमिकताको विषय हो । यद्यपि, मंगलबार दिउँसो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यति एयरले उपचारका लागि काठमाडौं ल्याउदै गरेको बिरामी टिकट काटे पश्चात विमानस्थलमै छोडेर उडान गरेको खबर आयो । धौलागिरी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौ रिफर गरिएका घाइतेहरु मुसिकोट ११ का २० वर्षीया लक्ष्मी पुन र २२ वर्षीया सबिना पुन पोखरा विमानस्थलमा अलपत्र परेका छन् । काठमाडौँ ल्याउनका लागि यति एयरलाइन्सको टिकट लिइएपनि घाइतेको अवस्था सिटमा बसेर जान सक्ने नरहेकाले फिर्ता गरिएको यति एयरले बताएको छ ।

दुर्घटनामा परी मृत्यु भएकाहरुको पीडा र शोक एकातिर छ । जो जसको मृत्यु भयो, त्यो त सम्बन्धित परिवारजन र समाजका लागि अपुरणीय छ । तर, अहिले जो–जो घाइते अवस्थामा छन्, उनीहरुको सही समयमै यथोचित उपचारमा सम्बन्धित सरोकारवालाको ध्यान केन्द्रित हुनुपर्छ । पोखरा विमानस्थलमा घाइतेहरु उपचारको बेला जे जसरी अलपत्र परे, यो निकै दुःखदायी विषय र घटना हो । यति एयरले दुर्घटनाका घाइते बिरामी टिकट काट्ने बेलैमा लैजान असमर्थता जनाएको भए सम्बन्धित पक्षले अरु विकल्प खोजी गर्थे होला । यसमा यति एयरबाट संवेदनशील विषयमा केही कमजोरी र खेलवाड भएकै छ । उनीहरुले समयमै गुणस्तरीय उपचार पाउने कुरा सरकार र सरोकारवालाले जरुर सुनिश्चित गर्नु पर्छ । यो घटना मध्यपहाडी लोकमार्गकै दुखद घटना हो । दुर्घटना अप्ठ्यारो सडक (घुम्ती) भएकै या चालकको लापरबाही या अरु कारण यथोचित छानविन अनुसन्धान गरिनु पर्छ । भोलिका दिनमा यस्ता अप्रिय दुर्घटना न्युनिकरण गर्ने तर्फ सरकार र सरोकारवाला सबैको भूमिका हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *