‘बलात्कृत’ बालिका, सहानुभूति र सुरक्षित भविष्यको सवाल

सम्पादकीय
यतिबेला बागलुङको एक बालिका माथि भएको ‘बलात्कार’ र त्यसबाटै बसेको गर्भका कारण जन्मिएको शिशुको खबरले समाज तरंगित छ । निसीखोला गाउँपालिका–३ की एक १४ वर्षीया बालिका, जसले एक छोरीलाई शनिवार विहान जन्म दिएकी छन् । केही आफन्त र अधिकारकर्मीको सहयोगमा धौलागिरी अस्पतालमा भर्ना भएकी उनले शनिबार बिहान ३ बजे छोरीलाई जन्म दिएकी छिन् । बच्चा महिना दिन नपुगी जन्मेकाले एसएनसियूमा राखेर उपचार गरिएको थियो । तर, बालिका र शिशुको स्वास्थ्य तथा सामाजिक सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर शनिवार साँझ पोखरा पठाइएको छ । सुन्दा पनि पनि झस्काउने यो खबरले हाम्रो आजको बदलिँदो व्यवस्था, सामाजिक चेतना र छोरीहरुको सुरक्षा माथि गम्भीर प्रश्न र संशयहरु जन्माएको छ ।

१४ वर्षीया बालिका कहिले र कसरी बलात्कृत भइन् । बलात्कृत हुँदा र त्यस यताको भयभित पीडा र भोगाइ कति भयानक होला ? बलात्कृत मात्र होइन, त्यसबाट गर्भवती नै भए पछिको जीवन अझ कति सास्ती र सकसपूर्ण भए होला ? उनले कलिलै उमेरमा यतिका पीडा र दुःखका बाबजुद पनि आफुलाई कसरी सम्हालिन् होला ? निकै सोचनीय विषय छ । यति हो कि यसबिचमा उनले यही विषय र अत्यधिक तनावका कारण अरु कुनै अप्रिय निर्णय लिएनन् । र उनले आफ्नो गर्भमा हुर्केको सन्तानलाई जन्म दिएकी छिन् । यस घटनामा संलग्न भनिएका आरोपित निसीखोला गाउँपालिका–१ का विजय मल्ल बिरुद्ध बलात्कार गरेको भन्दै उनकी आमाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । जाहेरीमा पटक पटक बालिकालाई गर्भपतन गराउने प्रयास असफल भएपछि बिजय फरार भएको उल्लेख छ ।

अहिले उनै बालिकाका अनेकन विषय सामाजिक सञ्जालहरुमा छरपष्ट छ । बालिका आफैमा यतिबेला अत्यन्त कठिन समय र पीडाबाट गुज्रिरहेकी छिन् । त्यही बेलामा सामाजिक सञ्जालहरुमा उनको गोपनियता सार्वजनिक हुने गरी जो जसले सहानुभूति दर्शाउन खोजेका छन्, त्यो तरिका सर्बथा गलत र आपत्तिजनक छ । यतिबेला उनलाई जरुर साथ र सहानुभूति पनि चाहिएको छ, त्यो भन्दा पनि आफ्नो नवजात शिशुको बाबु चाहिएको छ । अनि भोलिको आफ्नो सामाजिक सुरक्षा र भविष्यको सुनिश्चितता चाहिएको छ । तसर्थ, अहिले पोखरा रेफर गरिएका भर्खर सुत्केरी बालिका र उनको नवजात शिशुको स्वास्थ्य सुरक्षा संवेदनशीलता मुख्य प्राथमिकता हुनुपर्छ । यो सँगै प्रहरीमा जाहेरी समेत परिसकेकोले फरार आरोपित युवकको खोजी र पक्राउ नै प्राथमिकताको विषय बन्नुपर्छ । परिवारले १ डेढ महिना पहिला घटनाबारे थाहा पाएपनि पीडक पक्षकले गाउँमै मिलाउन प्रयास गरेको कारण घटना ढिलो गरि बाहिर आएको छ । विगतमा पनि यस्ता घटना बिभिन्न दबाब, प्रलोभनमा मिलिभगत भएकै कारण यस्ता घटनाले प्रश्रय पाइरहेको छ । अतः अहिले सार्वजनिक भएको यस घटना बालिका र उनका सन्तानलाई न्याय मिल्ने र भोलिका दिनमा अरु यही प्रकृतिको घटना हुन निरुत्साहित गर्ने नजीर स्थापित गर्ने गरी सरकार, सरोकारवाला निकायले काम गर्नुपर्छ । स्थानीय, सचेत नागरिकले यसमा निरन्तर खबरदारी गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *