सभ्य, सुसंस्कृत समाज कसले र कहिले बनाउने ?

सम्पादकीय / यतिबेलाको समाजको मनोविज्ञान डरलाग्दो अवस्थामा पुगेको प्रतीत हुन्छ । हरेकजसो मानिस भेट्दा र देख्दा जसरी पनि पैसा कमाउनु पर्छ भन्ने दबाब र मानसिक तनावमा छ । गरिब, विपन्न, श्रमिक, मजदुर, निष्ठावान व्यक्तिहरु के कसरी कर्म गरेर परिवार र जीवनको जोहो गर्ने भन्नेमा केन्द्रित छन् भने उच्च र मध्यम वर्गका अधिकांश मानिस अझ धनी, सम्पन्न जे जसरी भए पनि हुने भन्ने ध्याउन्नामा छन् । बदलिँदो व्यवस्थामा पनि खराब पात्र र प्रवृत्तिजन्य समस्या र बेथितिबाट समाज र देश आक्रान्त छ । जसका कारण अपेक्षित गतिमा परिवर्तन, विकास, समृद्धि, सभ्य र सुसंस्कृत समाजको असली आभाष र अनुभूति गर्न पाइरहेको छैन । भ्रष्टाचार, अपराधजन्य गतिविधिमा अपेक्षित कमी आउन सकिरहेको छैन । यो सिंगो नेपाल र नेपालीको वर्षौदेखिको दुर्भाग्य हो ।

जब जसरी पनि पैसा कमाउनु पर्ने अतिवादी सोचबाट मानिस ग्रस्त हुन्छ, र पैसा बिनाको संसार क्षणभंगुर भन्नेमा भ्रमित हुन्छ । तब समाजमा भ्रष्टाचार, हत्या, हिंसा, अन्याय, अत्याचारको श्रृंखला बढ्छ । अहिलेको उन्नत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा पनि यस्तो भइरहनु समाज सभ्य र सुसंस्कृत दिशामा लयबद्ध हुन नसकिरहेको प्रमाण हो । पछिल्लो एक वर्षभित्र देशभर ५९ हजार ६१ वटा अपराधका मुद्दा प्रहरीमा दर्ता भएको तथ्यांक सार्वजनिक छ । नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदनमा सबैभन्दा धेरै अपराधका मुद्दा उपत्यकामा १७ हजार ३ सय ९७ अर्थात् कूल अपराधको २९.४५ प्रतिशत र कर्णालीमा सबैभन्दा कम १ हजार ९६५ वटा अपराधका घटना भएका छन् । उपत्यकापछि मधेश, कोशी र लुम्बिनीमा क्रमशः धेरै अपराधका मुद्दा दर्ता भएका छन् । अपराधका घटनामध्ये पनि सबैभन्दा धेरै मुद्दा बैंकिङ कसुरमा १३ हजार २७७ वटा मुद्दा दर्ता छ । दोस्रोमा सार्वजनिक हित स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर १० हजार ८६३, तेस्रोमा आत्महत्या ७ हजार १९४, चौथोमा लागूऔषध ४ हजार २८४, चोरी ३ हजार २२५, जबर्जस्ती करणी २ हजार ४६८, ज्यान मार्ने उद्योग १ हजार ४५, बहुविवाह ७२६ तथा सार्वजनिक शान्ति विरुद्धको कसुरमा ५३५ रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । नेपालमा पछिल्लो समय आत्महत्याको घटना बढ्दै गइरहेको र कोशी प्रदेशमा आत्महत्याका सबैभन्दा धेरै २१.२७ प्रतिशत घटना भएको छ । त्यसपछि लुम्बिनी, बागमती र गण्डकीमा आत्महत्या गर्नेको संख्या ठुलै छ ।

उन्नत गणतन्त्रात्मक व्यवस्था भएको एउटा लोकतान्त्रिक मुलुकका लागि मुद्दाको संख्या बढ्नु भनेको शोभनीय विषय कदापि होइन । देशमा अपराध र अबैध कर्म गर्न केके कुराले प्रोत्साहित गरिरहेको छ ? या मानिस खास केके कुराका लागि अपराध गर्न अभिसप्त छ ? आफ्नो इमान, निष्ठाको क्रयबिक्रय गर्न समेत तयार हुने अवस्थामा किन पुगिरहेको छ ? सभ्य, सुसंस्कृत समाज बन्ने बनाउने पहिलेको जस्तो तल्लो स्तरको चेतना, जागरणमा उल्लेख्य बदलाव आउँदा पनि अपराधको ग्राफ किन घटिरहेको छैन ? आजको समय र व्यवस्थामा पनि भ्रष्टाचार, अपराध, अबैध कार्य गर्ने संख्यामा किन कमी आउन सकिरहेको छैन ? के यी र यस्ता सवालमा सरकार र यसका सम्बन्धित निकायहरु बेखबर छन् ? या सबै कुरा थाहा हुँदा हुँदै पनि आँखामा पट्टि बाँधेर बसिरहेका छन् ? यसमा गम्भीरतापूर्वक छलफल, समीक्षा, बिमर्श हुन जरुरी छ । र सरकारले यथोचित कदम चाल्न आवश्यक छ । यसका साथै हामी नागरिक पनि सभ्य, सुसंस्कृत बन्नु पर्दछ । नत्र सभ्य, समृद्ध र सुसंस्कृत देश कहिले र कसले बनाउने ? निकै सोचनीय छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *