निराशाजक निर्यात

सम्पादकीय
नेपाल कृषि प्रधान देश, जलस्रोतमै विश्वमा दोस्रो धनी देश । विश्वकै सर्वोच्च शिखर सगरमाथा, हिमालै हिमालको सुन्दरताले भरिपूर्ण देश । तर, दुर्भाग्य ! यति स्रोत साधनले सम्पन्न, सुन्दर, मनोरम देशमा परनिर्भरताको यति उदेक लाग्दो अवस्था छ कि सिंगो नेपाल र नेपालीका लागि लज्जाको विषय छ । नेपालको आयात निर्यातको पछिल्लो ताजा तथ्यांकले पनि यसलाई पुष्टि गर्छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को नौ महिनामा मासिक औसत १ खर्ब २९ अर्ब रुपैयाँबराबर वस्तु आयात भएको छ । तर, निर्यात भने साढे १२ अर्ब रुपैयाँमा सीमित छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्म ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । जुन औसत मासिक १ खर्ब २९ अर्ब हुन आउँछ ।

पछिल्ला केही महिनायता आयात क्रमशः बढ्दै गएको देखिन्छ । तथ्यांक अनुसार निर्यातको तुलनामा नेपालको आयात आकार ९१ प्रतिशतभन्दा माथि छ । कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९१.११ र निर्यात हिस्सा ८.८९ प्रतिशत छ । गत चैतमा मात्र १ खर्ब ३७ अर्ब १४ करोड रुपैयाँबराबर आयात भएको छ भने फागुनमा १ खर्ब ३३ अर्बको वस्तु आयात भएको थियो । गत वर्ष चैतसम्म १२ खर्ब १ अर्बबराबर आयात भएको थियो । यस वर्ष निर्यात औसत मासिक १२ अर्ब ६६ करोडबराबर मात्र भएको छ । पेट्रोलियम पदार्थको आयात मात्रै नौ महिनामा साढे २ खर्ब पुगेको छ । नेपालमा कुल निर्यातको तुलनामा पेट्रोलियम पदार्थको आयात निकै माथि छ । आइरन र स्टिल आयात ९७ अर्ब २४ करोड पुगेको छ । यस अवधिमा ७६ अर्ब १९ करोड रुपैयाँबराबर विद्युतीय सामग्री र उपकरण आयात भएको छ । तरकारीजन्य वस्तु आयात २२ अर्ब ८७ करोडबराबर देखिएको छ । नेपालले १ सय ५० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गर्दै आएको छ । त्यसमध्ये भारतसँग सबैभन्दा धेरै व्यापार छ । तथ्यांक अनुसार भारतबाट ७ खर्ब २९ अर्ब ६५ करोडको आयात भएको छ । नेपालबाट भारततर्फ ७७ अर्ब ८५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । भारतसँग व्यापार घाटासमेत ठूलो देखिन्छ । ऊसँग ६ खर्ब ५१ अर्ब रुपैयाँबराबर व्यापार घाटा छ । यस्तै चीनसँग पछिल्लो समय नेपालको आयात र निर्यात दुवै सुधार भइरहेको छ । चीनबाट २ खर्ब १६ अर्बको सामान आउँदा नेपालबाट २ अर्ब ११ करोडको वस्तु निर्यात भएको छ ।

नेपालमा आत्मनिर्भरताको नारा वर्षौदेखि लगाइएको छ । विदेशी आयात घटाउने र स्थानीय उत्पादन सहित निर्यात बढाउने भाषण र नीति पनि सबैजसो सरकारले बनाउने गरेको छ । तर, यसको व्यावहारिक र कार्यान्वयनको पाटो हेर्ने हो भने निकै उदेक लाग्दो अवस्था देखिन्छ । देश बदल्छु भनेर सत्तामा पुग्नेहरु केबल आफै र आफ्नो निकट स्वार्थ समूहलाई मात्र बदल्ने बिडम्बना हामीकहाँ व्याप्त छ । देशमा आयात घटाउन उद्योग, कलकारखाना, आविष्कार, स्थानीय उत्पादन, रोजगार, स्वरोजगार, व्यापार व्यवसाय प्रवद्र्धन नीति, यथोचित वातावरण अपरिहार्य छ । यहाँ त आफ्नै देशमा केही गरौं भन्नेहरुलाई पनि सरकार र यसका निकायले उपर्युक्त व्यवस्था, वातावरण भन्दा पनि अनाबश्यक दुःख दिने, भ्रष्टाचार, कमिसनबाट आजित बनाउने प्रवृत्ति व्याप्त छ । यही खराब अवस्था र प्रवृत्तिबाट कारण देशको दक्ष जनशक्ति दैनिक सयौंको संख्यामा बिदेश पलायन भइरहेको छ । आखिर कहिले सम्म खबौंको आयात र अर्बको निर्यात गरेर देश चलाउने ? देश चलाउने नेता, नीति निर्माता, कर्मचारीतन्त्रले बेलैमा सोचुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *