सम्पादकीय
आगो सँग खेल्नु या आगो सँग ख्याल ठट्टा गर्नु या यसको खतरालाई बेवास्ता गर्नु निकै खतरानक हुन्छ । आगोको खतरासँग खेल्दा, जिस्किदा या बेवास्ता गर्दा कति घर ध्वस्त भएका छन्, कति बन जंगल उदास भएका छन्, कति मानिसले ज्यान गुमाएका छन्, कति परिवार घरबार बिहिन भएका छन् । प्राप्त तथ्य र तथ्यांकहरुले आगलागी र त्यसबाट भएको क्षतिको डरलाग्दो परिदृश्य देखिन्छ । वैशाख लागेयता देशभर आगलागी र डढेलो भयावह बनेको छ । गत वर्षको तुलनामा क्षति पनि दोब्बरले बढेको छ । गृह मन्त्रालयमातहतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक (नेपाल प्रहरीले संकलन गरेको) हेर्दा १४ वैशाखसम्म देशका चार सय २६ ठाउँमा आगलागी भएको छ भने दुई सय ४३ स्थानमा डढेलो बस्ती पसेको छ । १४ दिनमा आगलागीमा परी १० जनाले ज्यान गुमाएका छन् । ४३ घाइते भएका छन् । ६ सय ६५ घरमा आगलागी हुँदा नौ सय ४४ परिवार प्रभावित÷विस्थापित भएका छन् । २३ करोड ७३ लाखको भौतिक क्षति आँकलन गरिएको छ ।
समाजमा सचेतना, शिक्षा, जागरण बढ्दै छ । तर, आगलागीका घटना बढिरहेका छन् । पछिल्लो पाँच वर्षमा आठ हजार ३३२ घरमा आगलागी भएको छ । राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ०७६ देखि ०८० सम्म ४ सय ७१ को मृत्यु भएको छ । झन्डै १२ अर्बको क्षति भएको छ । गत वर्ष चार हजार पाँच सय ३४ ठाउँमा आगलागी हुँदा एक सय १९ जनाको ज्यान गएको थियो । पाँच सय ३१ जना घाइते भएका थिए । एक हजार एक सय १५ पूर्ण र पाँच सय ३५ आंशिक गरी एक हजार ६ सय ५० घरमा क्षति पुगेको थियो । नौ सय ४१ गोठ जलेका थिए भने दुई हजार दुई सय १६ पशुचौपाया मरेका थिए । दुई अर्ब ५४ करोड ७२ लाखको क्षति भएको थियो । वर्षेनी किन र कसले लगाइरहेको छ घर, बस्ती र जंगलमा डढेलो ? यसलाई हेर्दा जनस्तरको लापरबाही मुख्य कारक छ । गहुँको छ्वाली जलाउन, फोहोर डढाउन लगाइएको आगो बस्ती र जंगलमा सल्किदाँ, राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो लगाउने, चुरोटको ठुटा फ्याँक्ने लगायतका कारण आगलागीले विकराल रूप लिएको छ । यसतर्फ सचेतता मात्र होइन, आगलागीका घटनाको गहन अध्ययन, बिश्लेषण हुन जरुरी भएको छ ।
हुन त आगलागी विपदजन्य र भवितव्य घटना हो । यद्यपि, यसमा मानवीय लापरबाहीका कारण अधिक आगलागीका घटना र क्षति वर्षेनी सुख्खा सिजनमा दोहोरिरहेको छ । र पनि सरकारले ठोस नीति कार्यक्रम र पहलकदमी लिन सकिरहेको छैन । सामुदायिक वनको सक्रियता कमजोर, पालिका र प्रदेश सरकारको भूमिका फितलो, केन्द्र सरकार पनि आगलागीका घटना नियन्त्रणमा कमजोर देखिएको छ । हरेक वर्ष आगलागीले अपुरणीय जनधनको क्षति गर्छ । र पनि सम्भाव्य आगलागीको प्रक्षेपण भइसक्दा समेत सरकारले पूर्वतयारी गर्न चुकिरहेको छ । अमेरिका, अस्ट्रेलियालगायत विकसित मुलुकमा आगलागी–डढेलोबारे पूर्वानुमान गर्ने गरिन्छ । तर, नेपालमा अभ्यास छैन । आगामी दिनमा ठूलो क्षति हुन नदिन अपनाउनुपर्ने सजगताबारे अध्ययन गर्न प्राधिकरणले टोली नै खटाएको छ । केही वर्षअघिसम्म नेपालमा आगलागी यति बिघ्न समस्याका रूपमा थिएन । अहिले डढेलो, आगलागीले विकराल रूप लिन थाल्यो । विभागले नै अब वर्षा जस्तै आगलगाीको पूर्वानमान गर्नुपर्छ । सरकारले आगलागी हुनै नदिने सचेतना तल्लो तहसम्म पु¥याउनु पर्छ । यदि आगलागी भइहालेमा तत्काल नियन्त्रणमा लिने संयन्त्र समेत बनाउन अपरिहार्य छ ।