गण्डकी प्रदेश, फैलिँदो डढेलो र दायित्व

सम्पादकीय

आगलागीको घटनाले सिंगो देश आक्रान्त बनिरहेको छ । दैनिकजसो बनजगंल, पाखापखेरा र घर गोठमा आगलागी भइरहेको खबर सार्वजनिक छ । गाउँघरबाट सेरोफेरोका डाँडाकाँडा चियाउँदा कतै न कतै आगलागी भइरहेको दृश्य देखिन्छ । रेडियो, टेलिभिजन, पत्रपत्रिकामा आगलागीका खबर सुनिन्छ, देखिन्छ, पढिन्छ । आगलागीबाट कतिले अकालमै ज्यान गुमाएका छन्, कति भौतिक रुपमा अपुरणीय क्षति भएको छ । गत वर्षको देशव्यापी तथ्यांक हेर्दा चार हजार पाँच सय ३४ ठाउँमा आगलागी हुँदा एक सय १९ जनाको ज्यान गएको थियो । पाँच सय ३१ जना घाइते भएका थिए । एक हजार एक सय १५ पूर्ण र पाँच सय ३५ आंशिक गरी एक हजार ६ सय ५० घरमा क्षति पुगेको थियो । नौ सय ४१ गोठ जलेका थिए भने दुई हजार दुई सय १६ पशुचौपाया मरेका थिए । दुई अर्ब ५४ करोड ७२ लाखको क्षति भएको थियो । यही नियति यसवर्ष पनि दोहोरिएको छ ।

गण्डकी प्रदेशमा आगलागीको घटना हेर्दा पछिल्लो समय विभिन्न ४ सय ६७ ठाउँमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब ८ हजार २ सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । हिमाली जिल्ला मुस्ताङ बाहेक प्रदेशका १० वटै जिल्लामा डढेलोका घटना भएको छ । सबैभन्दा बढी नवलपुरमा झण्डै २५ सय ५३ हेक्टर र सबैभन्दा कम मनाङमा २ हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो । सबैभन्दा बढी म्याग्दीमा ८१ र मनाङमा एक स्थानमा डढेलो लागेको छ । नवलपुरमा ८० स्थानमा, पर्वतमा ५५, बागलुङमा ५२, स्याङ्जामा ५२, गोरखामा ५१, कास्कीमा ४५, तनहुँमा २६ र लमजुङमा २४ स्थानमा डढेलो लागेको छ । नवलपुरपछि सबैभन्दा बढी बागलुङमा १६ सय ८५ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । पर्वतमा १४ सय १६ हेक्टर, म्याग्दीमा नौ सय २२, कास्कीमा सात सय ५०, स्याङ्जामा चार सय ९७, गोरखामा दुई सय १५, तनहुँमा एक सय ८४ र लमजुङमा ५१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको निर्देशनालयले जनाएको छ । बागलुङको तमानखोला गाउँपालिकामा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको र दुई जना घाइते भएको छ । ताराखोला गाउँपालिकामा स्थानीयवासीको घरगोठ जलेको र पशुधनको क्षति भएको छ । म्याग्दीमा पनि डढेलो नियन्त्रणमा लिने क्रममा एक जना घाइते भएका छन् ।

गण्डकी प्रदेश प्रकृति (बनजंगल)ले हराभरा भरिपूर्ण प्रदेश हो । यस प्रदेशमा दैनिकजसो भइरहेका डढेलोको घटनाले वन क्षेत्रमा बर्सेनि ठूलो नोक्सानी भइरहेको हुन्छ, डढेलो अनियन्त्रित भएर मानव बस्तीतिर सर्दा पनि जनधनको समेत क्षति भइरहेको छ । डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पु¥याएको छ । सुक्खा याम लम्बिँदा डढेलोका घटना अझै बढ्ने खतरा छ । मानवीय कारणले नै बढी डढेलो लाग्ने गरेको छ । पछिल्लो तथ्यांक हेर्दा ५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापरबाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको प्रकोप बढिरहेको देखिन्छ । अतः पछिल्लो समय बढ्दो आगलागी डढेलो नियन्त्रणका लागि मानवीय लापरबाही बन्द हुनुपर्छ । सम्भावित आगलागीको जोखिममा ध्यान दिएर आगोको यथोचित प्रयोगमा ध्यान दिइनु पर्छ । तीन तहको सरकारले आगलागी, मानवीय लापरवाही र यसको नियन्त्रणमा खेल्नुपर्ने भूमिका र जिम्मेवारीलाई गहिरोबोध गराउने गरी काम गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *