सम्पादकीय
सत्ता जति आनन्ददायक हुन्छ, शक्तिशाली हुन्छ, त्यतिकै निर्मम पनि हुन्छ । त्यसैले त सत्ताका लागि आफ्नो आदर्श, इमान, निष्ठा सबै बिर्सिएर नेताहरु सर्वत्र बदनाम हुन पनि तयार हुन्छन् । सत्ता जोगाउने र गिराउने कुरुप खेलमा खुलेआम सरिक हुन्छन् । सत्ता कति निर्मम हुन्छ भन्ने ताजा र गतिलो उदाहरण रेशम चौधरी र उनकी श्रीमति रञ्जिता श्रेष्ठलाई हेर्दा हुन्छ । केन्द्र सरकार र सुदुरपश्चिम प्रदेश सरकारको विषयलाई लिएर आपसी सम्बन्ध अत्यन्त तिक्ततापूर्ण अवस्थामा पुग्यो । श्रीमतिले एमाले माओवादी गठबन्धनको सरकारसँगै मिलेर अघि जाने र रेशमले कांग्रेस नेतृत्वको सरकार संरक्षणमा लागे पछि एकले अर्कोलाई सामाजिक सञ्जालबाट चिठी लेखेर कुण्ठा व्यक्त गर्ने परिस्थिति सम्म आयो । यतिबेला सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल नै सत्ताकै कारण बिभाजित भएको छ । अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र मनोमानी गरेको आरोप लगाउँदै अशोक राईसहित सात प्रतिनिधिसभा सदस्यले पार्टी विभाजन गरेका छन् । उता, गण्डकी प्रदेश सरकारमा अल्पमत बहुमतको खेल उत्कर्षमा छ ।
सत्तामा नेतृत्वको सवाललाई लिएर कहिले दल र नेताहरु बिभाजित हुन्छन्, कहिले सरकारलाई समर्थन र सहभागिताको विषयमा टुक्रिन्छन्, कहिले बिभिन्न काण्ड र विवादास्पद प्रकरणमा बिभाजन हुन्छ । अहिले जनता समाजवादी पार्टी सत्तामै रहँदा बिभाजनको शिकार बन्नुमा सैद्धान्तिक, वैचारिक कारण भन्दा पनि नेतृत्वकै स्वार्थहरुको दन्त बझान हो । यद्यपि, महाधिवेशन नजिकिएको र पार्टी अध्यक्ष स्वदेशमै नरहेका बेला दल विभाजन गरेका सांसदहरुको उपेन्द्र यादव माथि सत्ता परिवर्तनको खेलमा सहभागी भएको गम्भीर आरोप छ । जबकि उपेन्द्र आफै यो सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री छन् । आफैं उपप्रधानमन्त्री रहेको सत्ता ढाल्न उपेन्द्र लागेको विषय अपत्यारिलो लाग्छ । सत्ताका लागि फेरि यस्ता घटना नेपाली राजनीतिका लागि नयाँ भने होइन । उता गण्डकी प्रदेशमा उस्तै सत्ताको चक्रब्युह चलिरहेको छ । आइतबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरिएको छ । ६० सदस्यीय संसदमा ३० सांसदको समर्थन अबैध भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख कृष्ण धितालको घोषणालाई असंवैधानिक भनेको छ र, यसविरुद्ध कानुनी उपचारमा जाने बताएको छ । मुख्यमन्त्री अधिकारीले आइतबार प्रदेशसभा बैठकमा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुँदा एमालेका २२, माओवादीका ७ र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले पक्षमा मत दिए । कांग्रेसका २७ जनाले विपक्षमा मत हाले भने राप्रपाका २ सांसद तटस्थ बसे ।त्यसपछि ६० सदस्यीय गण्डकी प्रदेशसभामा आफू पनि सदस्य रहेको र आवश्यक पर्दा मतदान गर्ने अधिकार आफूसँग रहेको सभामुखको जिकिर छ ।
सरकार वा सत्ता राजनीतिको गन्तव्य हो । त्यसमार्फत मुलुकको विकास, परिवर्तन र समृद्धि सबैको सपना हुनुपर्छ, त्यो स्वभाविक पनि हो । तर, सत्तामा या सत्ताका लागि जे पनि गर्ने स्वेच्छाचारी प्रवृत्तिले नेपाली समाज र राजनीति आक्रान्त छ । यसले नेपालको संघीय सरकार र प्रादेशिक सरकारहरु चरम अस्थिरताको बाटोमा छन् । नेपाली राजनीतिक दलको दुर्भाग्य र बिडम्बना के छ भने आफु सत्तामा हुँदा सत्ता जोगाउन जस्तोसुकै हर्कत गर्न तयार हुने, आफु सत्ता बाहिर हुँदा मात्र बिधि, सुशासन, ऐन नियमको चर्का कुरा गर्ने प्रवृत्ति व्याप्त छ । यसले संविधानमाथि नै मजाक बनाइरहेको छ । राजनीतिक दलहरु बिचको सत्ताको चलखेल, त्यसका लागि गरिरहेको अनेकन गतिबिधि लज्जाजनक छ । अतः अब सत्तामा र सत्ताका लागि जे पनि गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ । राजनीतिक दल र नेताहरुले आफ्नो निहित स्वार्थ सिद्धका लागि देश, समाज र आफ्नो सिंगो पार्टीलाई कोपभाजनमा पार्ने काम अब दोहोरिनु हुँदैन ।