ट्राफिक सप्ताह, सचेतना र सन्देश

सम्पादकीय

ट्राफिक नियम देशको अपरिहार्य कानुन त हुँदै हो, त्यो भन्दा बढी हरेक मानिसको जीवन र संवेदनासँग प्रत्यक्ष गासिएको विषय हो । बरु अरु ऐन, कानुन पालनामा बेवास्ता या लापरवाही गर्दा आलटाल या सत्ता, शक्ति प्रयोग गरेर लाभ लिन, जोगिन सकिएला । तर, ट्राफिक नियम कार्यान्वयनमा आफ्नै बेवास्ता या लापरबाही गर्दा दर्दनाक दुर्घटना निम्त्याउन सक्छ, व्यक्तिले मात्र होइन, सिंगो परिवार र समुदायले समेत अप्रिय घटना सामना गर्नुपर्ने हुन सक्छ, आफ्नै ज्यान सदाका लागि गुम्न सक्छ । आफ्नो लापरबाहीले अरु निर्दोषहरुले ज्यान गुमाउने अवस्था आउन सक्छ । यसर्थ, ट्राफिक नियमको अक्षरस कार्यान्वयन अपरिहार्य छ । यद्यपि, हामीले यसलाई अझ गहन र जिम्मेवारीपूर्वक निर्वाह गर्नमा बेवास्ता र लापरबाही गरिरहेका छौ ।

नेपालमा सवारी साधनको बढ्दो माग, साँघुरा तथा पुराना सडक, परम्परागत ट्राफिक ब्यवस्थापन प्रणाली, दुर्घटना प्रतिको सजगता, सचेतनाको कमी, दोषपुर्ण दण्ड प्रणाली, कानुन उल्लंघनलाई प्रतिष्ठासंग जोड्नु र विभेदपुर्ण कानुन कार्यान्वयन ट्राफिक ब्यवस्थापनको मुख्य चुनौती र समस्याको रूपमा रहेको छ । कुनै पनि दुर्घटना निश्चित प्रक्रिया पार गरेर परिपक्व हुने परिणाम हैन । आकस्मिक र अकल्पनीय रुपमा निम्तिने नियन्त्रण रहित क्रमभंगको स्थिती दुर्घटना हो । दुर्घटनालाई पुर्ण उन्मुलन गर्न त सकिदैन । तर, सचेत प्रयत्नद्वारा दुर्घटना कम गर्न र यसबाट निम्तिने मानवीय र भौतिक क्षतिको न्यूनीकरण गर्न भने अवश्य सकिन्छ । यही पहल र प्रयास स्वरुप यतिबेला बागलुङमा ट्राफिक सप्ताह चलिरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले सप्ताहव्यापी बिबिध रचनात्मक कार्यक्रमका साथ सचेतना प्रदान गरिरहेको छ । सवारी चालकको स्वास्थ्य परीक्षण, चालक परिचालन प्रशिक्षण, सवारी साधनको अनुगमन, तिब्रगति नियन्त्रण र ओभरटेक, भाडा अनुगमन, आरक्षण सिट कार्यान्वयन, सशस्त्र प्रहरीलाई कक्षा, चालक परिचालकले प्रयोग गर्ने पोशाक लगायतका कार्यक्रम आयोजित छ । दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको ट्राफिक सप्ताह अन्तर्गत बागलुङको सदरमुकाम, हटिया, बुर्तिबाङ, अक्षते, कुश्मीसेरा र बरेङ लगायत विभिन्न स्थानमा ट्राफिक सचेतना सम्बन्धी विभिन्न कार्यक्रम हुनु सकारात्मक कुरा हो । यसले सवारी चालक, सवारी धनी, यात्रु सबैलाई सचेत र जिम्मेवार बनाउन महत्वपूर्ण सन्देश प्रवाह गरिरहेको छ ।

हुन त दुर्घटना भवितव्यमा हुने कुरा हो । तर, यस्तो दुर्घटनाहरु अधिकांश मानवीय लापरवाहीकै कारण बढी हुने गरेको छ । विश्व सवारी चालक जोखिम ब्यवस्थापनको तथ्यांक अनुसार ९० प्रतिशत भन्दा धेरै सडक तथा सवारी दुर्घटना मानवीय त्रुटी, कमजोरी, नियम उल्लंघन र अवज्ञाको कारणले हुने गर्दछ । बाँकी प्राविधिक कमजोरिले हुने गर्दछ । तसर्थ, सवारी चालकले सवारीसाधनलाई अद्यावधिक रूपमा मर्मत सम्भार गरेर सडक तथा सवारी संचालन नियमलाई इमानदारपुर्वक परिपालना सडक तथा सवारी दुर्घटनाको मात्रा उल्लेख्य कम गर्न सकिन्छ । दुर्घटना न्युनिकरणमा सरकार र यसको मुख्य निकायको रुपमा ट्राफिक प्रहरीले सक्दो प्रयास गरेको छ । यसमा मुलुकको ट्राफिक नियम पनि समयसापेक्ष परिवर्तित छ । भलै कार्यान्वयन र उपलब्धि हेर्दा भने अवस्था निराशाजनक छ । यसको मुख्य कारण कानुन पालनकर्तामा देखिएको अराजकता, अनुशासनहिनता, उदासिनता, उद्दण्डता, स्वेच्छाचारीता, आर्थिक प्रलोभन र गैरजिम्मेवारीपन हो । यसका लागि सरकारको नेतृत्वदायक भूमिका, ट्राफिक नियमको परिपालना गर्छु भन्ने स्व–संकल्प, प्रतिवद्दता र अरुलाई पनि प्रेरित एवं सुझाब, निर्देशन गर्ने सामथ्र्य सबै पक्षमा हुनु पर्दछ । यसका लागि अहिले जिल्लामा सञ्चालित ट्राफिक सप्ताह जस्ता रचनात्मक कार्यक्रम र अभियानले महत्वपूर्ण सचेतना र सन्देश प्रवाह गर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *