अनि कसरी देश बन्छ ?

सम्पादकीय
यो देश किन बनेन ? बनेन कि बनाइएन या बन्न दिइएन ? वा यो देश आफै बन्ने हो कि हामी सबै मिलेर बनाउने हो ? यी र यस्ता विषय र सवाल आजको समय र समाजमा अपरिहार्य बहसका विषय हुन् । तर, यो देशको अधिकतम महत्वपूर्ण समय र अवसर परम्परागत सोच र मान्यता बोकेका राजनीतिक दल, तिनका शीर्ष नेताहरुकै तजबीज, आरोप प्रत्यारोप, अस्वस्थ प्रतिस्पर्धा र बेथितिमा चल्दा बर्बादी खेप्नु परिरहेको छ । नेपाल आज प्रगति र समृद्धिको जुन उचाइ, गन्तव्य र गतिशीलतामा पुग्नुपथ्र्यो, त्यो सफलता र समृद्धिको उपलब्धि हासिल गर्ने बिन्दुमा पुग्न हामी वर्षौपछि परिसकेका छौ । अब यसरी कहिले देश बन्छ ? हामीले गम्भीरतापूर्वक नसोँच्ने ?

नेपाल किन व्यवस्था परिवर्तनमा उल्लेख्य फड्को मार्दा पनि विकास, समृद्धिका विषयमा धिमा गतिमा छ ? यसको उत्तर खोज्न धेरै टाढा पुग्नै पर्दैन । तपाईँ हाम्रै सोच, कार्यशैली, हाम्रै सेरोफेरोमा सञ्चालित योजना, काम कार्यान्वयन गर्ने तौरतरिका, देशको अस्थिर राजनीति लगायत छरपष्ट कारण भेटिन्छन् । बागलुङ पर्वत जोड्ने ३० महिनामा बन्नुपर्ने एक पुल ७ वर्ष सम्म पनि बन्न नसकेको तितो यथार्थ हाम्रै सम्मुखमा छ । बागलुङको जैमिनी नगरपालिका–१ जैमिनीधाम र पर्वतको फलेवास नगरपालिका १ देवीस्थान जोड्ने गरी निर्माणाधीन पक्की पुल निर्धारित समयमा काम गरेको भए २०७६ असारमै पुल बनिसक्नु पर्ने थियो । २०७३ असोज ९ गतेको ठेक्का सम्झौतापछि विभिन्न बाहनामा काममा ढिलाइ हुँदा यहाँ निर्माण गर्न लागिएको पक्की पुल सात वर्षदेखि अलपत्र छ । निर्माण कम्पनीले कहिले पायल फाउण्डेसन, कहिले नदी बहावको बाहाना बनाउँदै बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको काममा ढिलाइ गरे पछि स्थानीयले भने सास्ती खेपिरहेका छन् । पटक पटक म्याद थपेर ठेकेदार कम्पनी रसुवा÷श्री गीता÷फेवा संयुक्त निर्माण कम्पनीले काम गरे जस्तो गरेर टारिरहेको छ । ठेक्का सम्झौतामा ३० महिनामा निर्माण गरिसक्ने सर्त सकिएको वर्षौ बित्दा समेत अझै पनि यो काम पूरा हुनेमा स्थानीय सशंकित छन् ।

पुलको योजना निर्माणका बेला स्थानीय सँग प्रयाप्त छलफल नगरेका कारण केही समस्या देखिएको छ भने त्यो भन्दा बढी ठेकेदार कम्पनीको बेवास्ता र चरम लापरबाही देखिन्छ । ३० महिनामा सक्नुपर्ने काम ७ वर्ष लागिसक्दा समेत सरकार, सम्बन्धित सरोकारवाला निकाय लाचार र मुकदर्शक बनिरहेका छन् । यो पुल कालीगण्डकी करिडोरसँग पर्वतको फलेवासलाई जोड्ने मार्गमा पर्छ । साथै पर्वतको फलेवासदेखि कार्कीनेटा, स्याङजाको पुतलीखेत हुँदै पोखरा जोड्ने बैकल्पिक मार्ग हो । यो सडकले हालको यात्रालाई झण्डै १० किमी छोटो बनाउनेछ । अब पनि यो पुल निर्माणमा बेवास्ता र स्थानीयलाई फगत झुलाउने काम नहोस् । ३० महिनाको योजनाको एउटा पुल बनाउन त ७ वर्ष बढी लाग्छ भने अरु यो देशको सरकार, सम्बन्धित निकायबाट के आशा अपेक्षा गर्ने ? अनि कसरी देश बन्छ ? जरुर प्रश्न र संशय उठेको छ । यस्ता दुरावस्थाका योजनाले आम नागरिकमा चरम निराशा पैदा गर्छ । अतः अब समयमै योजना निर्माण, त्यसको प्रभावकारी कार्यान्वयनमा तिन तहको सरकार, जनप्रतिनिधि लगायतको तदारुकता जरुरी देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *