दोहोरो नागरिकता कि समाचारको प्रतिशोध ?

सम्पादकीय
केही समय यता नेपालको राजनीति पुरानै व्यवस्थाको झझल्को दिने बेथितिग्रस्त राजनीति र अस्थिरता तर्फ उन्मुख छ । राजनीतिक दलहरु बिच सत्ताका लागि असहिष्णु र अस्वस्थ प्रतिस्पर्धा व्याप्त छ । सत्तारुढ दल जसरी हुन्छ वर्तमान सत्ता गठबन्धन जोगाउने कसरतमा छन् भने मुलुकको पहिलो दल बनेर पनि सत्ताको बागडोर सम्हाल्नबाट बञ्चित भएर प्रतिपक्षमा बस्नुपर्दाको दुःख र छटपटाहट अर्को तर्फ छ । दलहरु बिचको यही दुःख र खेलमा राजनीति अराजनीति, फोहोरी खेलमा परिणत भइरहेको छ । यो खेल सहकारी ठगी प्रकरणको आरोप प्रत्यारोप हुँदै संसदीय छानविन समिति, त्यसको कार्यक्षेत्रबारेको विवाद, संसद बन्धक, संसदमै सांसदहरु बिच अमर्यादित गतिविधि लगायतका लज्जा र खेदजनक कार्य भइरहेका छन् । जसले नेपाली राजनीति प्रति थप घृणा र बितृष्णा पैदा गर्ने काम गरेको छ ।

अहिले सत्तारुढ दल र त्यस इतरका दलहरु बिचको प्रतिस्पर्धा र बहस पेचिलो बनिरहेको छ । विवाद र बहस त्यतिमा मात्र सीमित छैन, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सहकारी ठगी प्रकरणको निरन्तर फ्लोअप रिर्पोटिङ गर्दै आएको कान्तिपुर राष्ट्रिय दैनिक बिच पनि उस्तै आरोप प्रत्यारोप उत्कर्षमा छ । लामिछानेले एक समय मुलधारका सम्पादकहरुलाई ‘१२ भाइ’को संज्ञा दिए । जसले नेपाली पत्रकार र पत्रकारितालाई धेरै हद सम्म बदनाम ग¥यो । अहिले उनै लामिछाने गृहमन्त्री छन्, र उनै विरुद्धको निरन्तर सहकारी ठगी प्रकरणसँग जोडिएको समाचार पूर्वाग्रहपूर्ण भएको उनको दावी छ । उनै गृहमन्त्रीले दुई दिन अघि मात्रै संसदबाट नेपाली कांग्रेसले आफु विरुद्ध पटक–पटक मिडिया ट्रायल गरेर खेदिरहेको बताएकै थिए । यही अनुक्रममा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको छ । नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो । सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

सिरोहियाको पक्राउ प्रकरणमा नेपाल पत्रकार महासंघ लगायत पत्रकार सम्बद्ध संघ संस्था र अधिक व्यक्तिहरुले गृहमन्त्रीले व्यक्तिगत प्रतिशोध साँधेर लोकतन्त्रको उपहास गरेको बताइरहेका छन् । हुन पनि सहकारीको वचत रकम हिनामिनाका विषयमा कान्तिपुरले निरन्तर रिपोर्टिङ गरेकाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको हो भने त्यो स्वयम् गृहमन्त्री लामिछाने, नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि निकै महँगो सावित हुनेछ । यदि त्यसो होइन भने अहिले कान्तिपुरका अध्यक्ष सिरोहिया माथि जुन आरोप लागेको छ । कैलाश सिरोहिया किर्ते नागरिकता मुद्दामा पक्राउ परेका हुन, समाचार लेखेका वा लेखाएका कारण होइन भनिएको छ । त्यही आरोपमा पक्राउ गरिँदा लोकतन्त्र नै धरापमा प¥यो भनेर कोकोहोला मच्चाउन पनि जरुरी छैन । उनी विरुद्धको मुद्दाको फैसला सम्मानित अदालतले गर्नेछ । कान्तिपुर जस्तो स्थापित संचारगृह र नेपाली पत्रकारहरुको नेतृत्व संस्थाले प्रस्तुत घटनालाई प्रेस स्वतन्त्रता विरुद्धको मुद्दा अहिले नै बनाउनु हतारो हुनेछ । त्यति मात्र होइन, आफूलाई लोकतन्त्रको हिमायती नेपाली कांग्रेसले पनि यो प्रकरणलाई राजनीतिकरण गरेर स्वार्थको रोटी सेक्ने अवसर ठान्नु हुँदैन । सरकार र गृहमन्त्रीको नियत खराब भए त्यो साँच्चिकै निकै महँगो सावित हुने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *