सम्पादकीय/ हाम्रो देश प्रकृति, पर्यावरणले जे जति सुन्दर छ, सौम्य छ, जनता र व्यवस्थाका हिसाबले सार्वभौम छ । त्यतिकै परिवर्तित व्यवहार र कार्यशैली नेतृत्वले समय सापेक्ष रुपमा आत्मसाथ गर्न सकेको भए आज नेपाल विकसित देशमा गर्विलो हिसाबले दर्ज भइसक्थ्यो । बिडम्बना, नेपाल र नेपालीले त्यो सौभाग्य प्राप्त गर्न सकेनौ । न त यो देशमा सर्वमान्य राजनेता पायौ, न गतिशील, दुरदृष्टि र सबल सक्षम नेतृत्व । जसको अभावमा देश सधैंजसो अस्तव्यस्त, बेथिति, अस्थिरताबाट ग्रसित रहिरह्यो । पछिल्लो राजतन्त्रात्मक शासन व्यवस्था ढालेर नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याए पनि आमुल परिवर्तनको अनुभूति नागरिकले गर्न पाएनन् । मुलुक अझै पनि चरम परनिर्भरताबाट आक्रान्त अवस्थामा छ ।
नेपाल आज कुन अवस्थामा छ ? त्यो देशको पछिल्लो वैदशिक व्यापारको तथ्य, तथ्यांक हेर्दा पनि प्रष्ट हुन्छ । चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा नेपालले १६८ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेको छ । वैदेशिक व्यापार भएका देशमध्ये १३३ सँग नेपालको व्यापार घाटामा छ । मात्र ३५ देशसँग नेपालको व्यापार नाफामा रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । वैदेशिक व्यापार भएका देशमध्ये ७९ दशमलव १६ प्रतिशतसँग व्यापार घाटामा रहेको देखाएको छ । बाँकी २० दशमलव ८४ प्रतिशत देशसँगको व्यापार मात्र नाफामा छ । भन्सार विभागको तथ्यांकले पनि यही परिदृश्य प्रष्ट देखाउँछ । चालु आर्थिक वर्षको १० महिनामा नेपालको कुल वैदेशिक व्यापार १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख ८७ हजार रुपैयाँको छ । उक्त समयमा नेपालको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख ९१ हजार रुपैयाँ छ । बितेको १० महिनामा नेपालले १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँको वस्तु आयात गरेको थियो । सोही अवधिमा नेपालले एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार रुपैयाँको वस्तु निर्यात गरेको विभागको तथ्यांकले देखाउँछ ।
यी तथ्य र तथ्यांक नेपालको अवस्थाको पछिल्लो तस्बिर हो । जसले देश आज पनि कुन अवस्थाबाट गुज्रिरहेको छ, प्रष्ट देखाएको छ । देश यति हद सम्म परनिर्भर हुँदा पनि यसबिचमा बनेका सरकारहरुले किन चुस्त योजना बनाएर मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा अघि बढाउन सकेनन् ? यसमा राजनीतिक दल, नेताहरुको इच्छा शक्ति नै छैन कि पहल कोसिस गर्दा–गर्दै पनि बिफल भइरहेका छन् ? या त देश बनाउनु, बदल्छु भनेर गएकाहरु आफै बन्दैछन्, आफु र आफ्नाहरुलाई मात्र बदल्दैछन् ? निश्चय पनि यी र यस्ता गम्भीर थुप्रै प्रश्न र संशयहरु स्वभाविक जन्मिएका छन् । सर्वत्र व्यापार घाटा हुने परिवेशले हामी र हाम्रो देश भोलि कहाँ पुग्ला ? आत्मनिर्भरताको नारा लगाएर सत्ताको शिखरमा पुग्ने तर पुगिसके पछि निश्चित स्वार्थ समूहको चाहना र लहडमा अल्झिने ? नागरिकको रुपमा जहिले पनि राज्य र यसका जिम्मेवार निकाय, मन्त्री, कर्मचारीबाट केही नहुँदा पनि कहिले सम्म मौनता र धैर्यता ? अब यो विषय निकै सोचनीय बनेको छ । यसका लागि सबैले यथोचित पहल र दबाबमूलक भूमिका खेल्नु आवश्यक छ ।