श्रमाधान मेला, समय र सान्दर्भिकता

सम्पादकीय
देशमा चौतर्फी असफलता, निराशा, कुण्ठा र आक्रोशहरु मात्रै पनि छैन । पछिल्लो समय देशमा केही सकारात्मक, सिर्जनात्मक÷रचनात्मक सोच, अभियान र अभ्यासहरु पनि सुरु भएका छन् । चाहे त्यो विद्यार्थीहरुलाई थप सिर्जनशील बनाउन गरिएको विद्यार्थी महोत्सव होस् या अहिले संघीय सरकारले देशमा बिद्यमान बेरोजगारको समस्याको जड पहिचान र समाधानका लागि सुरु गरेको श्रमाधान रोजगार मेला होस् या अरु यस्तै अभियान । अब समय सापेक्ष यसरी नै सोच्नु र अभियान आन्दोलन अघि बढाउनु पर्दछ । अब पहिले जस्तो सडक बन्द, बिरोध, हड्ताल, तालाबन्दी, तोडफोडमै उत्रिने परिपाटी अन्त्य गर्न तर्फ अग्रसर हुनुपर्छ । यो आजको समय र समाजको माग हो ।

देशव्यापी रुपमा आयोजित श्रमाधान रोजगार मेला कोशी प्रदेशबाट सुरु भएको छ । आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने मेलाको मुख्य उद्देश्य छ । यसले रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई पनि प्रवद्र्धन गर्ने अपेक्षा छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आरम्भ मेला अब देशको सातै वटा प्रदेशमा आयोजना गरिनेछ । । प्रत्येक प्रदेशमा दुई÷दुई दिन सञ्चालन हुनेछ । यो मेला गण्डकी प्रदेशको पोखरामा २१ र २२ जेठमा हुँदैछ भने ३० जेठमा बाग्मती प्रदेशको ललितपुरमा सम्पन्न हुने छ । मेलालाई सिप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रुपमा लिइएको छ । रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल हुने विश्वास छ । अहिले स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका समस्याका चाङ छन् । एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान गर्न श्रमाधान मेला सहयोगी बन्न सक्ने अवसर छ । यो मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने सुनिश्चितता सम्भावना त छैन, र पनि श्रमिक र रोजगारदाताका समस्या आवश्यकता बारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका लागि यस कदम महत्वपूर्ण हुन सक्छ ।

देशमा बेरोजगारी समस्या व्यापक छ । देशमै केही गर्छु भन्नेहरुका लागि पनि उपर्युक्त वातावरण छैन । मुलुकको राजनीतिक अस्थिरता, बेथिति, कसिमनतन्त्र लगायतका कारण युवाहरु परदेशिने क्रम तिब्र छ । दैनिक सयौं युवाहरु अन्तर्राष्टिय विमानस्थलमा लावालस्कर देखिन्छ । ती सबै देख्दा यस्तो लाग्छ कि यो देशमा सरकार हुनुको असली गुञ्जायस छैन । यो देशमा जन्मिनु नै विदेशमा जानका लागि जस्तो भाष्य पछिल्लो समय जबरजस्त रुपमा बन्दै गइरहेको छ । यस बेलामा सरकारले नागरिकमा देशमा केही हुँदैछ, हुन्छ भन्नेमा आशा जगाउनु, उत्साह र भरोसा दिलाउनु, त्यसका लागि यथोचित वातावरण बनाउनु अपरिहार्य छ । श्रम सम्बन्धी समाधान आवश्यक छ त्यसैले श्रमाधान मेला जस्ता अभियान आवश्यक छ । हाम्रा युवा विदेश गएर श्रम गरेर देश बन्ने होइन, देशमै बसेर देश बनाउने हो । यसका लागि वैदेशिक रोजगारीबाट फर्किएकाहरू, नेपालमै रहेका श्रम, सिप र अनुभवको यथेष्ट उपयोग गरी उद्यमशीलता विकास गरिनु पर्छ । लगानीको वातावरण बनाउन सकेमात्र रोजगारीका प्रशस्त अवसर सिर्जना हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *