बढ्दो गर्मी, स्वास्थ्य र सचेतता

सम्पादकीय
मौसम बदँलिदो छ । कहिले जाडो त कहिले गर्मी । यो समय गर्मी सिजनको हो । हिउँद सकेर बर्खायाम लाग्दै गर्दा गर्मी त स्वभाविक बढ्छ । गर्मी भन्ने बित्तिकै हामी पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, अल्छिपना, आलस्यता तथा उर्जाको कमी जस्ता अनुभव प्रत्यक्ष अनुभूत गर्छौ । अझ यसपटक अत्यधिक गर्मी छ । जसका कारण तराईको जनजीवन अस्तव्यस्त बनेको छ । संघीय राजधानी काठमाडौं सहित पहाडी र हिमाली क्षेत्रमा समेत गर्मीको सकस बढेको छ । अधिकांश जिल्लाका विद्यालयमा सार्वजनिक बिदा दिइएको छ । दैनिक रुपमा हुने कामकाजहरु पनि प्रभावित भइरहेका छन् । जनजीवन थप कष्टप्रद बन्दो छ । बालबालिका र बुढेशकाल लागेका ज्येष्ठ नागरिकहरु थप सकसमा छन् । यसबेलामा हरेक नागरिकले यथोचित स्वास्थ्य सचेतता अपनाउनु पर्ने अपरिहार्यता देखिएको छ ।

गर्मी बढ्दै गए पछि दाङ तुलसीपुर उपहानगरपालिका– ११ उरहरीस्थित अमर माविका विद्यार्थी कक्षाकोठामै बेहोस भएको खबर सार्वजनिक भयो । कक्षा ८ का पाँच जना र कक्षा ९ का एक जना विद्यार्थी दिउँसो साढे १ बजेतिर बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाइएको थियो । गर्मीका कारण विद्यार्थी कक्षाकोठामै बेहोस हुन थालेपछि दाङको घोराही र तुलसीपुर उपमहानगरपालिका, बबई गाउँपालिका, शान्तिनगर, गढवा गाउँपालिकाले पनि गर्मी बिदा दिएका छन् । दाङमा अहिले अधिकतम तापक्रम ४० डिग्री सेन्टिग्रेड भन्दा बढी पुगेको छ । अरु जिल्ला र क्षेत्रमा पनि उस्तै तापक्रम उच्च पुगेको छ । गर्मीका कारण तराईका कयौँ जिल्लामा विद्यालय बन्द गरिएको छ । पर्साको वीरगन्ज महानगरपालिका, महोत्तरी, चितवनको भरतपुर महानगरपालिका, कालिका, रत्ननगर र खैरेनी नगरपालिका, कञ्चनपुरको बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिकाले पनि गर्मी बिदा दिएका छन् । कतिपयले विहानी कक्षा चलाइरहेका छन् । पढाइ जारी रहेका नेपालका हरेकजसो विद्यालयमा विद्यार्थीहरु निकै कष्टप्रद रुपमा असिनपसिन भएर पढ्नुपर्ने बाध्यता देखिएको छ ।

गर्मी मौसम भए पनि अत्यधिक गर्मी बढ्दा त्यसको प्रत्यक्ष असर हाम्रो स्वास्थ्यमा पर्छ, प्रकृतिमा त पर्ने नै भयो । गर्मी कम हुनका लागि मनसुन भित्रिनु पर्छ । नेपालको पूर्वमा मनसुन भित्रिएको बताइए पनि अझै केही दिन देशभर मनसुन सुरु हुने संकेत छैन । बरु गर्मी अझ बढ्ने जोखिम छ । यसक्रममा बालबालिका र ज्येष्ठ नागरिकहरुलाई बान्ता आउने, पिसाब पोल्ने, टाउको दुख्ने जस्ता समस्या देखिने स्वास्थ्यकर्मी बताउँछन् । यसका लागि गर्मीको समयमा पानी धेरै खानुपर्ने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किने, घाममा धेरै खेल्न नहुने लगायतका स्वास्थ्य सुरक्षा सचेतता अपनाउन सुझाव छ । गर्मीमा दैनिक रूपमा कम्तिमा दिनको तीन लिटर पानी पिउनुपर्छ । व्यायाम अथवा शारीरिक अभ्यासभन्दा पहिला र पछि पनि पानी अथवा तरल पदार्थ पिउनु पर्छ । फलफूलको मात्रा बढाउने र मसलदार खाना कम खानुपर्छ । स्वास्थ्य प्रमुख कुरा हो, अरु कुरा सहायक हुन् । जीवन स्वस्थ रह्यो भने मात्र हामी धेरै काम कुरा गर्न सक्छौ । यदि अहिलेको अत्यधिक गर्मीकै कारण स्वास्थ्यमा समस्या देखियो र जटिलता तर्फ गयो भने त्यसको मूल्य निकै महँगो सावित हुन सक्छ । तसर्थ, समयमै यथोचित सचेतता हामी सबैले अपनाउन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *