पत्रकार महासंघमा शुद्धीकरणको उपहास

सम्पादकीय
नेपाली पत्रकारहरूको साझा र छाता संस्था हो नेपाल पत्रकार महासंघ । यसले केबल श्रमजीवी पत्रकारको हकहित, अधिकार, प्रेस स्वतन्त्रताको रक्षा, सञ्चार क्षेत्रको विकास, सम्वद्र्धन र प्रवद्र्धनको पक्षमा मात्र आवाज बुलन्दित गर्दैन, आम नागरिकको अधिकारका सवालमा पनि राज्यको चौथो अङ्गका रूपमा लोकतन्त्र र मानव अधिकारका लागि निरन्तर खबरदारी गर्नु दायित्व ठान्छ । करिब ७ दशक लामो इतिहास बोकेको महासंघको मुलुकका ७ वटै प्रदेश र ७७ जिल्लामा शाखा सञ्जाल छन् । पत्रकारिता मार्फत सत्ता र बेथिति माथि प्रश्न उठाइरहने तिनै पत्रकारहरुको साझा संस्था चौतर्फी प्रश्न र आलोचनाबाट घेरिएको छ । यतिबेला महासंघलाई देशभरका पत्रकारहरूले शुद्धीकरणका नाममा थप बेथितिग्रस्त गतिविधि गरेको गम्भिर आरोप सहित खबरदारी गरिरहेका छन् ।

पत्रकार महासंघको वर्तमान नेतृत्व निर्वाचित भएर आए पछि शुद्धीकरणको अभियान उद्घोष गरियो । जे गरे पनि जो पनि पत्रकार बन्ने र समग्र नेपाली पत्रकारिता बदनाम हुने नियतिबाट जोगाउन यो अभियान अपरिहार्य थियो । जुन पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल नेतृत्वको कार्यसमितिले सुरुवात ग¥यो । तर, कार्यकालको अन्तिम सम्म आइपुग्दा शुद्धीकरणलाई सार्थक तुल्याउनु पर्नेमा सिंगो महासंघ नै अहिले समयमै निर्वाचन गर्न, सदस्यता विवाद टुंग्याउन नसक्ने लाचार अवस्थामा पुगेको छ । शुद्धीकरणका नाममा क्रियाशील पत्रकारको नाम काटिनु र गैरपत्रकारको नाम थपिएको भन्दै महासंघ नेतृत्वको सर्वत्र आलोचना र विवादित बनिरहेको छ । शुद्धीकरण ममिलामा निम्तिएको विवादकै कारण दल निकट÷समर्थक÷शुभेच्छुक संगठनहरूबीच असमझदारी बढ्यो । यही असमझदारीका कारण जेठ २६ का लागि तय भएको निर्वाचन सरेको थियो । अहिले फेरि लामो निर्वाचन तालिका सार्वजनिक त गरिएको छ । फेरि पनि सदस्यता विवाद कायमै रहेकाले निर्वाचन हुने नहुने अन्यौलता छ । हुन पनि महासंघ नेतृत्वमा रहेका संगठनका बिभिन्न क्षेत्रमा कार्यरत, गैरपत्रकार भए पनि सदस्यता जोगिने, इतर संगठनमा आवद्ध भएकै कारण सदस्यता खारेज हुने, सक्रिय हुँदा–हुँदै पनि नयाँ सदस्यता नपाउने दुर्भाग्यपूर्ण अवस्था अहिले बिद्यमान देखिएको छ । यसमा अझ बिडम्बनाको कुरा त जसले महासंघको नेतृत्व गरिरहेको छ, उसकै संगठनले महासंघमा यही विषयमा बिरोध र तालाबन्दी समेत गर्दै आइरहेको छ ।

पत्रकार महासंघले शुद्धीकरणका लागि निश्चित मापदण्ड निर्धारण गरेको थियो । जुन मापदण्ड कार्यान्वयनमा निर्ममताका साथ महासंघ नेतृत्व इमान्दार भएको भए आज जे जस्तो विवाद, बदनाम र आलोचित अवस्था देखिएको छ, त्यो अवस्था कदापि आउने थिएन । यस घटना परिघटनाले महासंघको वर्तमान नेतृत्वको नेतृत्व कौशल कमजोर प्रतीत भएको छ । अनेकन प्रश्न उठिरहेको छ, निर्धारित समयमै निर्वाचन गर्न नसक्दा महासंघ नै विघटन हुने हो कि भन्ने संशय समेत व्याप्त छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायतका मुद्दासँगै हरेक राजनीतिक परिर्वतनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको गौरवपूर्ण इतिहास बोकेको महासंघको शुद्धीकरण लगायतका गतिविधि प्रति आम चासो र चर्चा व्यापक छ, जुन स्वभाविक पनि हो । तर, अहिले बागलुङकै सदस्यता जे जसरी आएको छ, त्यसले पत्रकार महासंघको शुद्धीकरण अभियानलाई गिज्याएको छ । शुद्धीकरण आफैमा चूनौतिपूर्ण कदम हो, महासंघ नेतृत्वले सुरुवातका लागि साहस गर्नु सकारात्मक थियो । अब यसलाई पत्रकार गैरपत्रकार भन्दा पनि आफ्नो संगठन र अरुको भनेर चुनावी अंक गणितमा नेतृत्व पुग्यो, त्यसले अनेकन प्रश्न, आलोचना र बदनामीको बाटोमा पु¥यायो । अब ढिलै भए पनि सम्भाव्य सुधार, न्यायोचित शुद्धीकरण सहित निर्वाचनमा जानु नै उपर्युक्त विकल्प हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *