फैलिँदो मनसुन, विपद् जोखिम र पूर्ववत सचेतता

सम्पादकीय
यसवर्षको मनसुन केही ढिला भयो । असार दोस्रो लाग्दै गर्दा बल्ल नेपालमा मनसुन भित्रिएको १५ दिनमा देशभर फैलिएको छ । यस वर्षको मनसुन प्रणाली औसत मितिभन्दा तीन दिनअघि २८ जेठमा भित्रिएको थियो । तर, कोशीको पूर्वी भूभागबाट गण्डकी र लुम्बिनीको पूर्वी भू–भाग पुग्न ११ दिन लाग्यो । १५ दिनमा सोमबार लुम्बिनीको पश्चिमी क्षेत्र, कर्णाली र सुदूरपश्चिममा मनसुन पुगेको थियो । गत वर्ष मनसुन भित्रिएको २२ दिनमा देशभर फैलिएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु कमजोर बनेपछि मनसुन देशभर फैलिएको छ । केही दिन यता मुलुकका कैयौँ ठाउँमा वर्षा पनि भइरहेको छ । मौसम विभागका अनुसार मनसुन देशभर फैलिए पनि झरी परिहाल्ने सम्भावना भने छैन । मनसुनी वायुले देशभर कभर गरेको छ, तर झरी परिहाल्ने गरी जलवाष्पयुक्त हावा नभएकाले अहिले मनसुन पूर्ण सक्रिय भइसकेको छैन, सुरुवाती चरणमा छ । मंगलबार कोशी, मधेश, बागमती र गण्डकीका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा ठूलो वर्षा हुन सक्ने देखिएको छ ।

हरेक वर्ष बर्खायाम सुरुवात हुँदा साथ ठुलो जनधनको क्षति हुन्छ । वर्षासँगै आउने बाढी, पहिरोका कारण सयौंले अकालमै ज्यान गुमाउन बिबश हुन्छन् भने कैयन घरबारविहिन बनेर उठिबास हुने गरेको छ । गृह मन्त्रालयका अनुसार नेपालमा विगत १२ वर्षमा बाढी र पहिरोका ४,८८४ घटना भएका छन् । तिनमा परेर २,३६४ जनाको मृत्यु भएको छ । घाइतेको संख्या ९४३ छ भने १,४२६ जना बेपत्ता भएका छन् । बाढीपहिरोमा कुल ७७,१६२ परिवार प्रभावित भएका छन् । विगत १२ वर्षमा बाढीपहिरोका कारण झन्डै १९ अर्ब बराबरको आर्थिक नोक्सानी भएको मन्त्रालयको विवरणमा देखिन्छ । गत वर्ष नेपालमा जेठ ३१ गते (जुन १४) मनसुन प्रवेश गरेको थियो । मनसुन सुरु भएको पहिलो सातामै पूर्वी नेपालमा बाढी र पहिरोका कारण ठूलो क्षति भएको थियो । अहिले मनसुन ढिला भए पनि केही ठाउँ भएको भारी वर्षा र त्यससँगै आएको बाढी पहिरोले केहीले ज्यान गुमाइसकेका छन् । सडक विस्तारका क्रममा धेरै ठाउँमा माटोमा खलबल छ, त्यसले भारी वर्षासँगै जुनसुकै समयमा बाढीको रुप लिने खतरा व्याप्त छ । उसो त अहिले सम्म पहिले जस्तो नभएको मनसुन कुनबेला भयंकर रुप लिएर आउँछ, यसै भन्न नसकिने अवस्था छ ।

बाढी–पहिरो आम नेपालीले प्रत्येक वर्ष व्यहोर्दै आएको समस्या हो । वर्षाको बेला मुलुकको कुनै न कुनै ठाउँमा बाढी–पहिरोले जनधनको ठुलो क्षति पु¥याउँछ, नागरिक दुखित हुन्छौ, सरकार त्यसमा दुःख र समवेदना प्रकट गर्छ, आंशिक राहत दिन्छ, प्रायशः घटना र कदम त्यसमै सीमित हुन्छ । बाढी–पहिरोमा मानिसको ज्यान गएको वा घर, गोठ, उर्बर खेतबारी बगेको यो वर्ष सके सम्म देख्न नपरोस् । हुन त प्राकृतिक प्रकोप एक भवितव्य हो । यद्यपि, यसमा यथेष्ट पूर्ववत तयारी र जोखिमको बिश्लेषण गरेर आवश्यक सचेतता अपनाउन सकियो भने ठुलो जनधनको क्षति रोक्न सकिन्छ । विगतका घटना, अनुभव र विकसित ज्ञानका बाबजुद बाढी–पहिरोबाट हुने क्षति कम गराउने हाम्रो क्षमताको विकास हुन नसकेको तथ्य यस पटक पनि दोहोरिन दिनु हुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *