म्याद थपमा गुज्रिएका कांग्रेस भ्रातृ संस्था

सम्पादकीय
नेपाली कांग्रेस मुलुकको सबै भन्दा पुरानो पार्टी हो । जुन अहिलेको संसदको सबै भन्दा ठुलो पार्टी पनि हो । स्थानीयदेखि प्रदेश र संघीय संसदमा समेत उल्लेख्य संख्यामा नेपाली कांग्रेसबाट निर्वाचित सदस्य छन् । भलै सत्ता समीकरण चामत्कारिक रुपमा फेरबदल हुँदा संघीय सरकार र अधिकांश प्रदेश सरकारबाट नेपाली कांग्रेस प्रतिपक्ष बेञ्चमा पुगेको छ । कांग्रेस पार्टीमा पछिल्लो महाधिवेशनबाट महामन्त्रीमा दुई उदीयमान युवा नेता गगन थापा र विश्वप्रकाश शर्माको आगमनले ठुलो उत्साह छाएको थियो । जसले पार्टीमा पृथक आशा र उत्साहको सञ्चार जरुर गराइरहेको छ । तर, नेपाली कांग्रेसको भातृ संस्थाहरुको भद्रगोलको अवस्था र बेथिति हेर्ने हो भने पहिलेको भन्दा कुनै तात्विक भिन्नता देखिदैन । यसले स्वभाविक रुपमा भातृ संस्थाको नेतृत्वसँगै पार्टी नेतृत्वमा रहेका सभापति शेरबहादुर देउवा सहित महामन्त्रीद्धय थापा र शर्माको नेतृत्व कौशल प्रति पनि प्रश्न र संशय उठेको छ ।

कांग्रेस भातृ संस्था पटक पटक म्याद थप गरेर धानिएको छ । र यसमा सिधै मनोनयन नियुक्ति पाएकाहरुकै अहिले रजगज छ । नेपाल विद्यार्थी संघको ०७३ पछि महाधिवेशन भएको छैन । ०७८ मा दुजाङ शेर्पाको संयोजकत्वमा तदर्थ समिति बनाएर महाधिवेशन गर्ने जिम्मेवारी दिए पनि पटक पटक म्याद थप मात्रै जारी छ, महाधिवेशन अनिश्चित छ । नेपाल तरुण दलको हालत पनि उस्तै छ । ०७३ पछि नियमित अधिवेशन हुन सकेको छैन । ०७८ मा विद्वान गुरुङ तदर्थ समितिको अध्यक्ष बने पनि पटकपटक थप छ, महाधिवेशन अनिश्चित छ । नेपाल महिला संघ पनि ०७३ पछि महाधिवेशन भएको छैन । ०७९ मा उषा राउत मिश्रको संयोजकत्वमा तदर्थ समिति बन्यो तर, महाधिवेशको टुंगो छैन । नेपाल किसान महासंंघको ०६४, नेपाल भूतपूर्व सैनिक संघको ०७३, नेपाल प्रजातन्त्र सेनानी संघको ०६४ र नेपाल दलित संघको ०६९ पछि महाधिवेशन हुन सकेको छैन । राष्ट्रिय लोकतान्त्रिक अपांग संघ ०६६ मा मान्यता पाए यता अधिवेशन नै हुन सकेको छैन । नेपाल ठाकुर समाज, नेपाल थारू संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघको महाधिवेशन भएको छैन । दर्जन बढी भातृ संस्था मध्ये नेपाल मुस्लिम संघको २०८० असोजमा महाधिवेशन सम्पन्न भएको थियो भने नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको भने अहिले काठमाडौंमा महाधिवेशन जारी छ ।

कुनै पनि पार्टी या संस्था संगठनको जिवन्तताका लागि अधिवेशन÷महाधिवेशन महत्वपूर्ण हुन्छ । यसले पार्टीगत संस्थागत विधि पद्धतिलाई व्यवस्थित र जिवन्त बनाउँछ । नेतृत्व हस्तान्तरण र विकास पनि क्रमशः हुँदै जान्छ । अहिले नेपाली कांग्रेसको भातृ संस्थामा वर्षौदेखि महाधिवेशन नहुँदा नेतृत्वमा जाम छ । संगठनहरु भद्रगोल र अस्तव्यस्त अवस्थामा छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तदर्थ समिति गठन भएका ६ भ्रातृ संस्थाको म्याद थप गरी ६ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएको थियो । तर, समयसीमा तोकिएका भ्रातृ संस्थाको महाधिवेशन यस अवधिमा पनि नहुने निश्चित प्रायः छ । तदर्थ समिति नबनेका र महाधिवेशनको समयावधि नतोकिएका भ्रातृ संस्थाको महाधिवेशन अझै अनिश्चित बनेको छ । समयमै भ्रातृ संस्थाका महाधिवेशन नहुँदा पार्टी र नयाँ पुस्तालाई नोक्सान गर्छ भन्ने कुरा नेतृत्वलाई हेक्का नभएको पनि होइन । समयमा अधिवेशन नहुने, नेतृत्वले मनोनीत गरेर नेता चयन गर्नु पुरानो पार्टी नेतृत्वले आफ्नो प्रभुत्व कायम राख्ने दुराशयपूर्ण अभ्यास हो । यसले तत्कालका लागि नेतृत्वलाई फाइदा पुगे पनि अन्ततः पार्टी र नयाँ पुस्तालाई नोक्सान गर्छ । यसमा कांग्रेस नेतृत्व र त्यसमा पनि दुई उर्जाशील युवा महामन्त्री भएको बेलामा पनि उही पुरानो नियति देखिरहनु दुर्भाग्य हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *