लागु औषध दुर्व्यसन, गाँजा खुल्ला र जोखिम

सम्पादकीय
लागूपदार्थ मानिसमा लत सिर्जना गरी दुर्व्यसन तुल्याउने वस्तु वा पदार्थ । जसको प्रयोगबाट वर्षेनी सयौं युवाहरु जीवनको लय गुमाएर अस्तव्यस्त दोबाटोमा पुग्छन् । परिवारका सदस्यमा मानसिक तनावका साथै सिंगो समाजमा समेत प्रत्यक्ष परोक्ष असर पर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार लागूपदार्थ भनेको स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भन्ने बुझिन्छ । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागूपदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ । यो नेपालमा कानुनद्वारा निषेधित छ । जसमा गाँजा, अफिम, हेरोइन, मर्फिन, कोकिन आदि अवैध लागूऔषधमा पर्छन् । सूर्तीजन्य पदार्थ र मदिरा भने कानुनद्वारा नियन्त्रित लागूपदार्थ हुन् ।

विश्वभर लागु औषध प्रयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस बुधवार मनाइयो । ‘प्रमाण स्पष्ट छ, रोकथाममा लगानी गर’ भन्ने नारा सहित यो दिवस मनाउँदै गर्दा लागूऔषध प्रयोग र ओसारपसारको नेपालको अवस्था गम्भिर छ । नेपालमा मुख्य गरी सीमा क्षेत्रबाट लागूऔषध भित्रिने गरेका छन् भने अहिले परम्परागत भन्दा पनि औषधिजन्य लागूऔषधको प्रयोग बढ्दो छ । नेपालमा लागूऔषध प्रयोगकर्ताहरूको संख्या हाल ३ लाख नाघिसकेको अनुमान छ । यद्यपि, प्रयोगकर्ताको ठूलो संख्या यो तथ्यांकको घेराभित्र परेको छैन भन्ने लागूऔषध विरुद्ध काम गर्ने निकाय र अभियन्ता स्वीकार गर्छन् । काठमाडौं उपत्यका, पोखरा, धरान लगायत शहरी क्षेत्र र खासगरी नेपाल–भारत सीमावर्ती शहरहरूमा यो समस्या बढ्दो मात्रामा छ । पछिल्लो समय त गाउँ–गाउँमा भर्खरका किशोर किशोरी समेत दुव्र्यसनमा परेको पाइएको छ । गृहमन्त्रालयद्वारा गरिएको नेपाल लागूऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार लागूऔषध प्रयोगकर्ताहरूमध्ये ६७.७ प्रतिशत साथीसंगीबाट, १४.१ प्रतिशत डुलन्ते बिक्रेताबाट, औषधि पसलबाट ८.४ प्रतिशत र इन्टरनेटको माध्यम २.५ प्रतिशत, अन्य पसलबाट ७.२ यसको प्राप्ति गर्दछन् । विशेषगरी २० वर्षसम्मका बालबालिका साथीभाइको लहलहैमा लागेर उत्सुकता मेटाउन लागूऔषध प्रयोग गर्दछन् । लागूऔषधको अनियन्त्रित प्रयोग र दुव्र्यसनले स्वयं व्यक्तिलाई त मानसिक रूपमा क्षति गर्छ नै यसको दुष्प्रभावबाट सिङ्गो राष्ट्रको समग्र आर्थिक, सामाजिक, नैतिक, सांस्कृतिक एवं आमजनस्वास्थ्यका क्षेत्रमा नकारात्मक असर पार्दछ ।

हुन त अहिले लागुऔषध (गाँजा) खुल्ला गर्ने विषय संसदमै उठिरहेको छ । सरकारले यसका लागि केही नीतिगत छलफल र तयारी समेत अघि बढाउन थालेको छ । तर, खुल्ला गर्ने र नेपाली अर्थतन्त्रलाई बलियो बनाउने दीर्घकालीन सोचमा काम गर्दै गर्दा अहिले शहरदेखि गाउँ सम्म देखिएको लागूपदार्थ दुव्र्यसनको बेथिति र विकराल अवस्थाबारे बेखबर बन्न मिल्दैन । अहिले नेपाली समाज भित्र भुसको आगो जस्तै बढ्दो क्रममा रहेको लागूपदार्थ दुव्र्यसन, यसको प्रयोगबाट जीवन, परिवार र समाजमा पुगिरहेको क्षतिबारे नजर अन्दाज गर्न मिल्दैन । अहिले सामाजिक र संगठित प्रकारका अधिकांश अपराधमा पनि लागूऔषध जोडिने गरेको छ । अहिले लागूऔषध समस्याले बहुआयामिक चुनौती थपेको छ । यसले विश्वभरका लाखौं मानिसको जीवन बर्बाद पारेको छ । यी र यस्ता यावत विषयमा गम्भिरतापूर्वक समीक्षा, बिश्लेषण गरेर सरकारले कदम चाल्नुपर्छ । लागूऔषधको भयावह र बढ्दो कारोबार रोक्न प्रहरीको एकल प्रयासले मात्र सम्भव छैन । अहिले भइरहेको लागूपदार्थको विकराल अवस्थालाई कसरी नियन्त्रण गर्ने र गाँजा खुल्ला गर्दा पनि त्यसका बहुआयामिक जोखिम र असरलाई पनि ध्यानमा राखेर यथेष्ट तयारीका साथ अघि बढ्न आवश्यक छ । यसका सबै क्षेत्र, निकाय र व्यक्तिको साझा प्रयास ऐक्यबद्धता जरूरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *