सम्पादकीय
पुराना पार्टीहरु प्रतिको तिब्र आक्रोश र घृणाका कारण जनता उकुसमुकुसको अवस्थामा थिए । उनीहरु देशले जनयुद्धदेखि ऐतिहासिक जनआन्दोलन सम्म भोगेर मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापित हुँदा स्थिरता, सुशासन र समृद्धिको अपेक्षामा थिए । व्यवस्थासँगै अवस्था बदलेला भन्ने भरोसामा थिए । तर, पुराना राजनीतिक शक्तिहरु पुरानै पात्र र प्रवृत्तिबाट ग्रसित हुँदा देश कायापलट हुने अवस्थामा होइन, उही पुरानै अस्थिरता र बेथितिको मनोदशाबाट ग्रसित बन्यो । र पहिले जस्तै सत्ता र शक्तिका लागि जे जस्तो पनि गर्न तयार हुने राजनीतिको फोहोरी खेल जारी रह्यो । यसले न मुलुकले नयाँ गति, विकास, सुशासन र समृद्धि पायो, न स्थिरता । यही बेथिति र चरम निराशाबाट आम नागरिकले बरु स्वतन्त्र उम्मेदवारको पक्षमा जनमत तयार गर्न भूमिका खेले । त्यही स्वतन्त्र लहरबाट काठमाडौं महानगरमा बालेन शाह निर्वाचित बने, धरानमा हर्कराज साम्पाङ, नेपालगञ्जमा गोपी हमाल बिजयी बने । पुराना दल र नेताको विकल्पमा नयाँ सञ्चारकर्मी रवि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी बन्यो । स्वतन्त्र पार्टी मात्रै बनेन, संघीय संसदको निर्वाचनमा चामत्कारिक रुपमा प्रत्यक्ष र समानुपातिक सिटमा जित हासिल गर्न पनि सफल रह्यो ।
रास्वपा प्रति निर्वाचन र त्यस यता उल्लेख्य आशा र उत्साहको उभार थियो । यो पछिल्लो एक डेढ वर्षमा उल्लेख्य रुपमा ह्रास आएको छ । रास्वपा उही पुरानै पार्टी, जसलाई गाली र आक्रोश पोख्दै जनमत बनायो । तिनै पार्टी नेकपा माओवादी र नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी बन्यो । सरकारमा गएको विषयमा त चर्को आलोचना थियो नै, पार्टी सभापति लामिछाने नै सहकारी ठगी प्रकरणमा मुछिएको विषयले संघीय संसद र पुरै देशको राजनीति तरंगित बन्यो । केही दिन यता फेरि पार्टीकै आन्तरिक विषय र विवादले तरंगित छ । पार्टी महामन्त्री मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको पछिल्लो अवस्था, जनभावना र पार्टी कार्यकर्ताको सुझाव संकलन गर्न देशव्यापी अभियान गरेका थिए । जहाँबाट फर्किए पछि उनले प्रतिवेदन पार्टी सभापतिलाई बुझाएर आन्तरिक कमिटीमा छलफल नहुँदै सबै असन्तुष्टि र आक्रोश अभिव्यक्त हुने गरी सार्वजनिक गरिदिए । पार्टी सच्चिने कि ०८४ सालमा सक्किने अवस्थामा एक रोज्नुपर्ने लगायतका विषयले नेपाली मिडिया रंगिए । यसले महामन्त्रीको गैरजिम्मेवार र अपरिपक्वता भएको भन्दै पार्टीको आन्तरिक र बाह्य रुपमा बिरोध र आलोचना भयो भने कतिले भने रास्वपाको यथार्थ अवस्था सार्वजनिक गरेर समयमै पार्टीलाई बिघटन हुनबाट सचेत बनाउने कार्य गरेको भन्दै समर्थन गरे ।
रास्वपा खोल्न, जनमन संगठित गर्न महत्वपूर्ण भूमिका खेलेका महामन्त्री ढकाल किन पार्टीलाई नै क्षति हुने गरी प्रतिवेदन पार्टी केन्द्रीय कमिटीमा छलफल नहुँदै सार्वजनिक गर्न तयार भए ? के उनी पार्टी भित्रै किनारामा परिरहेका थिए ? या निर्मम समीक्षा नगेर सम्म पार्टी सुध्रिदैन भन्ने असल नियत थियो ? या त उनी नयाँ शक्ति, विकल्पको रुपमा रास्वपा हुन सक्दैन भन्ने निश्कर्षमा पुगिसकेका छन् ? यी र यस्ता प्रश्न यतिबेला अनुत्तरित बनेका छन् । केन्द्रीय अनुशासन आयोगले निलम्बित महामन्त्री ढकाललाई कारबाही सिफारिस सहितको प्रतिवेदन केन्द्रीय समितिमा बुझाएको छ । अब मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले कस्तो निर्णय लिन्छ ? यसले धेरै रहस्यहरु उद्घाटित होला । तर, अहिले रास्वपा जे जस्तो विषय र विवादमा अल्झिएको छ । यसले नयाँ शक्ति र विकल्पको रुपमा उदाएको पार्टी जीवनमा गम्भिर धक्का लाग्ने देखिएको छ । रास्वपा पुरानै दलहरु जस्तै बन्ने कि साँच्चिकै नयाँ र अपेक्षित दल बन्ने पनि निक्र्यौल गर्नुपर्ने भएको छ । यसका लागि बोलिले होइन, व्यवहार, कार्यशैलीहरु मार्फत् नै रास्वपाले प्रमाणित गर्र्दै जानुपर्ने छ ।