बेपत्ताको खोजी कार्य प्रभावकारी बनाउँ

सम्पादकीय
नेपालका राजमार्गहरु ‘लाइफ लाइन’ होइन, ‘मृत्यु मार्ग’जस्ता लाग्ने गरेका छन् । सडक दुर्घटनामै वर्षेनी ठुलो संख्यामा नेपालीहरुले ज्यान गुमाउन बिबश छन् । यसवर्ष पनि बर्खायाम सुरु भए सँगै नेपालीको दुर्दशा सुरु भएको छ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बिहीवार राति दुई वटा बस बगाएर त्रिशूली नदीमा पु¥याउँदा चालक सहित बसमा सवार ६५ यात्रु बेपत्ता भए । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौं जाँदै गरेको एञ्जल बस लेदो सहितको बाढीले बगाएर त्रिशूलीमा खसेको थियो । गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ जना यात्रु थिए । जसमध्ये जम्मा दुई जनाको मात्र शनिवार शव फेला परेको छ । अरु यात्रुको खोजी कार्य जारी राखिए पनि हाल सम्म कुनै पत्ता लागेको छैन । यात्रुको मात्रै होइन, दुई वटा बस समेत फेला परेको छैन । यसले बेपत्ता यात्रुका परिवार र आफन्त थप प्रताडित बन्न पुगेका छन् ।

यसवर्षको मनसुन गत २८ जेठमा सुरु भयो । त्यसयता बाढी, पहिरो र चट्याङमा १ सय ५ जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा धेरै पहिरोमा परेर ५२, बाढीले २८ र चट्याङमा परी २३ जनाको ज्यान गएको गृह मन्त्रालयको तथ्यांक छ । एक महिनाको अवधिमा विपतमा परी ११३ जना घाइते, ३ हजार ४ सय ७३ परिवार विस्थापित भएका छन् । ११ करोड ४८ लाख ७६ हजारबराबरको आर्थिक क्षति भएको आँकलन छ । बाढी–पहिरोले ४१ वटा पुलमा क्षति पुगेको छ । सबैभन्दा ठूलो मानवीय क्षति गण्डकीमा भएको छ, जहाँ ३८ जनाले ज्यान गुमाएका छन् । लुम्बिनीमा २३, कोशीमा १९, सुदूरपश्चिममा सात, बागमतीमा ६, मधेशमा पाँच र कर्णालीमा चारजनाले ज्यान गुमाएका छन् । विपदजन्य घटनामा सबै भन्दा ठुलो दुखद घटना नारायणगढ–मुग्लिन सडक खण्डमा दुई वटा बस बगाउँदा भएको छ । बेपत्ता नागरिकको खोजीका लागि सुरक्षा निकायले ड्रोन, चुम्बक, तालिम प्राप्त गोताखोर लगायत परिचालन गरेर गरिरहेको छ । यद्यपि, यो प्रयाप्त नभएको भन्दै बेपत्ता नागरिकका परिवार, आफन्त र सर्वसाधारणले भने सरकार र यसका निकायको चर्को आक्रोश सहित आलोचना गरेका छन् ।

देशमा यति ठुलो दुर्घटना भएको छ, सिंगो नेपाल शोकमग्न छ । तत्काल बेपत्ता नागरिकको खोजी, उद्दार र यथार्थ अवस्था पत्ता लगाउनु पर्ने सरकार भने यही बेला फेरबदलको गोलचक्करमा छ । यो सबै राजनीतिक घटनाक्रम र संसदको परिदृश्य देख्दा यस्तो लाग्छ कि रोम जलिरहँदा निरोले बाँसुरी बजाएर बसिरहेको जस्तो प्रतीत हुन्छ । ६५ बढी नागरिक बेपत्ता भएको घटनालाई पहिलो प्राथमिकताका साथ सम्पूर्ण राज्य संयन्त्र र शक्ति परिचालन गरेर खोज उद्दार गर्नुपर्नेमा संसदमा सरकार बनाउने र गिराउने खेल चलिरह्यो । त्यही सत्ताबाट बाहिरिनु परेकोमा कुण्ठा र आक्रोश अभिव्यक्त भयो । तर, बेपत्ता नागरिकको खोजीका लागि प्रभावकारी संयन्त्र परिचालन गर्ने विषयले खास प्राथमिकता पाउन सकेन । यस विषयमा दुर्घटनामा आफन्त बेपत्ता भएको खबरले स्तब्ध हुँदै खोजीका लागि आएका परिवारका सदस्य र आफन्तले पनि असन्तोष र बिरोध जनाइरहेका छन् । सरकारको यस्तो कार्यशैलीले आफन्त बेपत्ता भएर दुःखी भएकाहरुलाई थप दुःखी बनाइरहेको छ । यसले राज्य कति कमजोर र लाचार अवस्थामा छ भन्ने समेत देखाएको छ । अतः मुख्य राजनीतिक दल सत्ताको खेलमा व्यस्त भइरहे पनि सरकारी निकाय संयन्त्रहरु भने यथेष्ट गम्भिर र परिचालन गरेर खोज र उद्दार कार्यलाई प्रभावकारी बनाउनु पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *