सम्पादकीय
मुलुकको अर्थतन्त्र अझ पनि शिथिल अवस्थामा छ । देशको अर्थतन्त्र चलायमान बन्न सकिरहेको छैन । व्यावसायिक र उद्यमको वातावरण कमजोर बनिरहेको छ । संघीय राजधानी काठमाडौंदेखि अधिकांश शहर बजारमा घर भाँडा ‘टु लेट’का विज्ञापन छरपष्ट देखिन्छन् । वर्षौदेखि व्यापार व्यवसाय गरिरहेकाहरु पनि अहिले छटपटिमा छन् । अर्को शब्दमा भन्ने हो भने ठुलो संख्यामा विदेश नै पलायन हुने सोच र निर्णयमा धमाधम पुग्न थालेका छन् । देशमै बसेर केही गर्ने अठोट लिएकाहरु पनि आफ्नो आदर्श र मान्यताहरुबाट पछि हट्न थालेका छन् । निजी क्षेत्र पनि मुलुकको विद्यमान अवस्था र अस्थिरताले व्यापार व्यवसाय लगायतमा विश्वस्त बन्न सकिरहेको छैन । तर, देशका प्रमुख राजनीतिक दलहरु भने सत्ताकै छिनीझम्टी र भुलभुलैयामा छन् ।
देशको अर्थतन्त्र चलायमान बनाउनु पर्ने बेला सरकार ढल्नु र बन्ने कुराले खास तात्विक भिन्नता र नागरिकमा उत्साह छैन । उसो त पछिल्लो समयमा बन्ने गरेको सरकार र तिनका नेतृत्व प्रति उति धेरै भारी आशा, अपेक्षा पनि राख्न छोडिएको छ । तर, चौतर्फी निराशा, आलोचनाका बाबजुद पनि वर्तमान सरकार बन्दा एउटा क्षेत्रमा भने उत्साह छाइरहेको छ । केपी ओली नेतृत्वको सरकारमा विष्णुप्रसाद पौडेल अर्थ मन्त्रालयको बागडोर सम्हाल्ने खबरले मात्रै पनि पूँजीबजार सकारात्मक हिसाबले तरंगित भयो । संयोगबश उनै पौडेलले अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि पनि पटक–पटक मन्त्री भएका अनुभवी अर्थमन्त्रीसँग पुँजीबजारका लगानीकर्ताको भारी आशा छ । पूँजी बजारले उनको स्वागत गरिसक्यो र मंगलबार २३ सय अंकमाथि नेप्से पुग्यो । त्यो कत्तिको टिकाउ हुन्छ भन्ने चाहिँ पौडेलले आउँदा दिनमा लिने नीति र गर्ने व्यवहारमा निर्भर हुनेछ । विगतमा उनले गरेको कार्यकै कारण जुन आशा अहिले देखिएको छ । त्यो स्वयंम् अर्थमन्त्री पौडेलका लागि सकारात्मक र सुखद विषय हो ।
अर्थमन्त्री विष्णु पौडेल पूँजी बजारमा त एक ‘मानक’ बनिसकेका छन् । उनी अर्थमन्त्री बन्ने हल्लाले मात्रै पनि हरियो बत्ति बल्नु सुखद कुरा हो । आठ पटक मन्त्री हुँदा पाँच पटक त अर्थ मन्त्रालयको नेतृत्वमा रहेका पौडेलसामु यतिबेला चुनौतिको चाङ छन् । अर्थमन्त्रीको आफ्नै मात्रै नभई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको मूल कार्यभार नै अर्थतन्त्रलाई उकास्ने र व्याप्त निराशालाई चिर्नेमा केन्द्रित हुनुपर्छ । चालु आर्थिक वर्षको बजेट १७ खर्ब माथिको छ र राजस्व लक्ष्य गत आवमा उठे भन्दा बजेट ज्यादा ऋणमा आश्रित छ । यसै पनि मुलुकको पुँजीगत खर्चको स्थिति कमजोर होइन टिठलाग्दो छ । तर सरकार निर्माण व्यवसायीलाई भने गरेकै कामको पनि भुक्तानी गर्न असमर्थ छ । ५० अर्ब रुपैयाँ नपाएर व्यवसायी आन्दोलित हुुनुपर्ने बिडम्बना छ । बैंक तथा वित्तीय संस्थाहरूमा पुँजीको थुप्रो लागे पनि ऋण प्रवाह छैन। बैंकहरूको प्रतिफल कमजोर छ । खराब कर्जा बढ्दो छ । यसबेला वितरणकारी र सस्तो लोकप्रियतावादी अर्थनीतिले कमजोर बनाएको मुलुकको अर्थतन्त्रलाई सही दिशा दिने भूमिका खेल्नुपर्छ, यसमा पौडेल सफल रहुन् । जसले राजनीति प्रति व्याप्त निराशा चिर्न पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।