विश्वासको मत, अविश्वास र अपेक्षा

सम्पादकीय
जब सरकारमा रहेका दल या समर्थन गरेको कुनै राजनीतिक दलले समर्थन फिर्ता लिन्छ, तब सरकार अल्पमतमा पर्छ या अल्पमतमै नपरे पनि वर्तमान संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिने प्रावधान छ । सोही व्यवस्थाका कारण पछिल्लो डेढ दुई वर्षको कार्यकालकै बिचमा यसअघिका प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चामत्कारिक रुपमा सत्ता समीकरण मात्र बदलेनन्, पटक–पटक संसदमा विश्वासको मत सामना गर्नुप¥यो । तर, उनले पाएको विश्वासको सुरुवाती मतको अनुपात र अहिले केही साता अघि मात्रै विश्वासको मत पाउन नसकेर सत्ताबाट बाहिरिनु परेको ताजा विगत छ । उसो त प्रचण्ड मात्रै होइनन्, अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली स्वयंम् दुई तिहाई बहुमतको शक्तिशाली सरकारबाट अन्ततः साथ समर्थन गुमाउदै सत्ताबाट बाहिरिएको विगत छ ।

अहिले एउटै सत्ता समीकरणमा रहेर सरकार बनाएका एमाले माओवादी छुट्टिए । र अस्वभाविक जस्तो लाग्ने संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बनाएका छन् । जुन सरकारको बागडोर सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा यसपटक पनि दुई तिहाइ सांसदको समर्थन पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत प¥यो भने एक मत तटस्थ रह्यो । संसद्मा आइतबार २६३ जना उपस्थित थिए । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिए । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिए । नेपाल मजदुर किसान पार्टीका एक मात्र सांसद प्रेम सुवाल तटस्थ रहे ।

प्रधानमन्त्री ओली सत्तामा रहँदाका सकारात्मक नकारात्मक दुवै पक्षका बारेमा प्रंशसा र समर्थन गर्नेहरु छन् । भारतले नाकाबन्दी गर्दा समेत चट्टानी अडानका साथ राष्ट्रियताको पक्षमा उभिएको लगायतका विषयमा उनको प्रशंसा हुने गरेको छ भने संसद विघटन, गिरीबन्धु टी स्टेट प्रकरण लगायतको विषयले उनको चर्को आलोचना समेत हुने गरेको छ । अहिले उनै ओली चौथो कार्यकालका लागि सरकारको नेतृत्वमा पुगेका छन्, त्यो पनि मुख्य राजनीतिक प्रतिस्पर्धी नेपाली कांग्रेसको समर्थन र सहकार्यमा । मधेस लगायतका अरु केही दलहरुले समेत समर्थन जनाउँदा दुई तिहाइ बढीको बहुमत ओलीले प्राप्त गरेका छन् । यो राजनीतिक रुपमा उनी र उनको दल नेकपा एमालेका लागि महत्वपूर्ण सफलता हो । तर, यति उत्साहप्रद रुपमा देखिएको विश्वासको मतको विगत हेर्दा केही महिना र वर्षदिनमै उल्लेख्य संख्यामा घट्ने र सरकारबाट सत्ता च्युत हुनुपर्ने दुर्भाग्यपूर्ण अवस्था दोहोरिदिै आएको छ । यसमा प्रधानमन्त्री ओलीले विगतबाट यथेष्ट पाठ शिक्षा सिकेर नेपाल र नेपालीको हितमा यथोचित कदम चाल्न सकुन्, र फेरि अस्थिरताको कुरुप खेल संसदका दुई ठुला दलबाट कमसेकम ०८४ सम्म नहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *