खुम्चिदो वैदेशिक व्यापार

सम्पादकीय
नेपाल आजको दिन र व्यवस्थामा पनि चरम परनिर्भरतामा बाँचिरहेको छ । विदेशबाट दैनिक उपभोग्य लगायतका सामग्रीको आयात उच्च छ भने निर्यात निराशाजनक छ । उत्पादनशील उर्बर खेतबारीहरु बाझा हुने क्रम बढ्दो छ । गाउँघर बुढ्यौली लागेका व्यक्तिहरुले थामिरहेको प्रतीत हुन्छ । कारण तरुण तन्नेरी उमेरका मानिस देख्न हरेकजसो गाउँमा मुश्किल पर्छ । बरु युवा, दक्ष उर्जाशील जनशक्तिको विदेश जाने होडमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो भिड र लाइन दैनिक देखिन्छ । युवा जनशक्ति बेचिरहेको नेपाल अरु उत्पादनजन्य र दैनिक उपभोग्य सामग्री निर्यातका सन्दर्भमा भने निकै पछाडि परिरहेको छ । तर, यस्तो गम्भीर सवालका बारेमा सरकार र सरोकारवाला निकायले खासै ध्यान दिइरहेको देखिदैन ।

पछिल्लो तथ्यांक हेर्दा नेपालको वैदेशिक व्यापार निराशाजनक छ । आर्थिक वर्ष २०७८/७९ मा कीर्तिमानी आयात र निर्यात भएयता निरन्तर दोस्रो आर्थिक वर्षमा पनि वैदेशिक व्यापार खुम्चिएको छ । सो आर्थिक वर्षमा नेपालले १९ खर्ब २० अर्ब रुपैयाँको आयात र २ खर्बको निर्यात भएको थियो । त्यसयता निरन्तररुपमा ओरालो लागेको वैदेशिक व्यापारले आर्थिक वर्ष २०८०/८१ सम्म पनि निरन्तरता पाएको हो । आर्थिक वर्ष २०७९/८० मा नेपालमा १६ खर्ब ११ अर्बको आयात र १ खर्ब ५७ अर्बको निर्यात भएको थियो । त्यसअघि आर्थिक वर्ष २०७७/७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँको आयात हुँदा १ खर्ब ४१ अर्बको निर्यात भएको थियो । तथ्याङ्कले नेपालको वैदेशिक व्यापार आर्थिक वर्ष २०७७/७८ कै स्थितिमा आइपुगेको देखाएको छ । उक्त आर्थिक वर्षमा १५ अर्बको आयात भएकोमा गत आर्थिक वर्षमा पनि १५ खर्बकै सीमामा बसेर आयात भएको छ । यद्यपि, सो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ५३ अर्बको मात्रै वृद्धि छ । तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब रुपैयाँ छ । यस्तै अघिल्लो आर्थिक वर्षमा व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ थियो ।

नेपालको आयात उल्लेख्य र निर्यात खुम्चिदो अवस्थामा किन छ ? यसका धेरै कारण छन् । मुख्यतः जति पनि सरकार बने, प्रधानमन्त्री, मन्त्री बने, उच्च पदस्थ कर्मचारी बने । उनीहरुले देशको हितमा दीर्घकालीन रुपमा इमान्दार रुपमा काम र कदम चाल्न सकेनन् । आफ्नो राजनेताको उत्कृष्ट कला कौशल देखाउन सकेनन् । बरु सीमित स्वार्थ समूहको प्रभावमा पर्दा अनेकन काण्ड र विवादमा मुछिएर आफ्नो चरित्रमा दाग लगाए । राजनीतिक अस्थिरता यसको मुख्य कारक रह्यो । जसका कारण आज देशमै उत्पादनशील उद्यम केही गरौं भन्ने जमात समेत विदेश पलायन हुने क्रम बढेको छ । यता निर्यातको तुलनामा ठुलो मात्रामा आयात खुम्चिँदा यसको प्रत्यक्ष फाइदा व्यापार घाटामा देखिरहेको छ । नेपालका लागि व्यापार घाटा घट्नु नै फाइदाजनक हुन्छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा ०.९६ प्रतिशतले व्यापार घाटा खुम्चिएको छ । भन्सार राजश्व सङ्कलनको प्रवृत्तिले समेत नेपालको वैदेशिक व्यापार ४ आर्थिक वर्ष अघिको स्थितिमा पुगेको छ । यस अवस्थामा सरकारले दुरदृष्टि र परिपक्व नेतृत्व कौशलता देखाउन जरुरी छ । देशमै रोजगार, स्वरोजगार सिर्जना गरेर विदेश निर्यात बढाउने र आयात कम गर्ने तर्फ दीर्घकालीन सोच, नीति अख्तियार गर्नु आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *