कर्मचारी प्रशासनमा पहिलो पटक महिला नेतृत्व

सम्पादकीय
नेपाली समाज आजको समय र व्यवस्थामा पनि पुरुषवादी चिन्तन, शोषण, दमन र अत्याचारबाट ग्रसित छ । पहिले पहिले जस्तो खुलेआम उपेक्षा, हिंसा, अन्याय, अत्याचार, दुव्र्यवहार नभए पनि अहिले बदलिँदो शैलीमा लैंगिक बिभेद कायमै छ । अधिक महिलाहरु अझै पनि खुलेर आफ्ना समस्या, गुनासा र आवाज राख्न सक्दैनन् । ठुलो हिस्सामा महिलाहरु पुरुष प्रति नै परनिर्भर छन् । घर व्यवहारका कारण असीमित क्षमता, प्रतिभा हुँदा हुँदै पनि घर गृहणीमै सीमित बनिरहेका छन् । लैंगिक समानताको नारा सरकार र सबैजसो राजनीतिक दलले अलापी रहे पनि व्यवहारिक कार्यान्वयनको पाटो निराशाजनक छ । चाहे त्यो राजनीतिक दलको निर्णायक नेतृत्व गर्ने सवालमा होस् या कर्मचारी प्रशासन र सार्वजनिक निकायहरुको नेतृत्व, निर्णायक भूमिकामा होस्, महिलाहरुको उपस्थिति अझै पनि नगण्य मात्रामा छ ।

यही बिद्यमान अवस्था र निराशाका बिच बिहीवार एक सुखद खबर सार्वजनिक भयो । नेपालको कर्मचारी प्रशासनमा पहिलो पटक महिलाले नेतृत्व गर्ने अवसर पाए । कर्मचारी प्रशासनको दशकौं वर्ष पश्चात अन्ततः नेपालले लिलादेवी गड्तौलालाई पहिलो महिला मुख्य सचिवको रूपमा पाएको छ । नेपालको इतिहासमा उनी पहिलोपटक पूर्ण जिम्मेवारीसहितको पहिलो कामु मुख्यसचिव हुँदै मुख्यसचिव बनेकी छन् । तत्कालीन मुख्यसचिव डा.वैकुण्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनले उक्त जिम्मेवारी पाएकी थिइन् । अख्तियारले असार १० गते राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी अर्याललाई सरुवा गरेर गड्तौलालाई जिम्मेवारी दिएको थियो । नेपालको इतिहासमा सायद भाग्य र कर्म दुवैले हुनुपर्छ, पहिलो महिला मुख्यसचिव हुनु र देशको नाम राख्ने अवसर गड्तौलालाई प्राप्त भएको छ । यसमा उनको योग्यता सक्षमता त स्वभाविक हकदार थियो नै, तर त्यसमा वर्षौदेखि मुख्यसचिवको लागि सारा महिलाहरूको अव्यक्त भावनालाई समेत बोध गर्ने उच्च तहको नेतृत्व सधैंजसो अनुदार भइरहथ्यो । यसपटक राजनीतिक नेतृत्व पनि उदार बन्दा कर्मचारी प्रशासनमा पहिलो पटक महिला नेतृत्व पुग्ने इतिहास दर्ज भएको छ । तेह्रथुम जिल्लाको दुर्गम ठाउँ जहाँ अहिले सम्म पक्की बाटो पुगेको छैन । त्यहाँबाट निरन्तर अध्ययन, संघर्ष गर्दै आजको सफलता र शिखरमा पुग्नु निकै प्रेरणादायक कुरा हो ।

हुन त मुख्य सचिवमा नियुक्त गड्तौला उमेर हदका कारण आगामी भदौ १६ गतेदेखि मुख्यसचिवबाट अवकाश पाउनेछिन् । अवधिका हिसाबले यो निर्णय अव्यवहारिक र सस्तो लोकप्रियता प्रेरित जस्तो लाग्न पनि सक्छ । तर, त्यो भन्दा बढी आम नेपाली महिलाहरुका लागि यो एक उर्जा, प्रेरणाको मानक बन्नेछ । जसबाट हजारौ महिलाहरु अब उच्च पद, निर्णायक तहमा नेतृत्वमा पुग्न अझ थप दृढ भएर लाग्नेछन् । कर्मचारीतन्त्र भित्रै पनि महिलाहरु आन्तरिक प्रतिस्पर्धामा आफुलाई अब्बल सावित गर्न लाग्नेछन् । अरु पुरुषहरुको सँगको बाह्य प्रतिस्पर्धामा पनि महिलाहरु अब समाजमा थप खुलेर मैदानमा उत्रन सक्नेछन् । अहिलेलाई कर्मचारी प्रशासनको सर्वोच्च पदमा पहिलो पटक महिला पुगेको विषय नयाँ समाचार र उत्साहको विषय बन्यो । अब फेरि यही समाचार इतिहास बन्नु हुँदैन । अरु महिलाहरु पनि यस्तो नेतृत्व तहमा पुग्नुपर्छ । त्यसका लागि लैंगिकताका आधारमा मात्रै होइन, साँच्चिकै योग्यता, क्षमता, नेतृत्व कौशलताका आधारमा पनि महिला अब्बल बन्ने बनाउने अभियानमा रहनुपर्छ । अहिलेका लागि यो ऐतिहासिक निर्णयका लागि नेपाल सरकारलाई धन्यवाद । मुख्य सचिवमा नियुक्त लिलादेवी गड्तौलालाई हार्दिक बधाई ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *