तिज गीतमाथि ‘भद्दा मजाक’ बन्द गर

सम्पादकीय
नेपाली हिन्दु महिलाहरुको महान पर्व तिज नजिकिँदो छ । यस पर्वको आगमनसँगै महिलाहरुमा एकखालको उत्साह देखिन थालिसकेको छ । कारण तिज आउनु महिना दिन अगावै नेपाली सांगीतिक बजार र डिजिटल माध्यमहरुमा तिज गीतहरु छरपष्ट आइरहेका छन् । जसले तिज नजिकिरहेको आभाष त गराइरहेको छ नै, यससँगै तिजी गीत र पर्व क्रमशः बिकृति उन्मुख समेत बन्दै गइरहेको प्रतीत सर्वत्र भइरहेको छ । तिजी गीत अभद्र र अश्लिल, म्युजिक भिडियो निकै भड्किलो रुपमा देखाएर भाइरल बन्ने बनाउने होड देखिन्छ । यसमा नयाँ सतही रुपमा देखिने कलाकार मात्र होइनन्, लोकप्रिय स्थापित कलाकारहरु समेत विवादित र भड्किला गीत र भिडियोमा सम्लग्न भइरहेका छन् । तर, यसलाई नियमन र नियन्त्रण गर्ने सरकार, सरोकारवाला निकाय भने मुकदर्शक प्रायः देखिन्छ ।

लोग्ने विदेश छ भनेर टोलमा फुइँ लाउँछे, फेरि किन त्यसका बाजे तीनमहिने सुई लाउँछे, ‘गुलेली तन्कियो गाउँमा मादल रन्कियो’, ‘दिउँला बरी लै’, ‘विस्तराले पोल्यो’, ‘मादलु घन्काउँदै’ जस्ता अश्लील र द्विअर्थी शब्द भएका गीत पछिल्लो समय सार्वजनिक भएका छन् । यीमध्ये ‘विस्तराले पोल्यो’ र ‘गुलेली तन्कियो गाउँमा मादल रन्कियो’मा शान्तिश्री परियारको स्वर छ । ‘मादलु घन्काउँदै’मा प्रिती आलेको स्वर छ । यी गीतको शब्द जति टिप्पणीयोग्य छ, त्यति नै यी गीतका भिडियो पनि अमर्यादित छन् । केही दिनअगाडि मात्रै सार्वजनिक राजेश हमालले अभिनय गरेको गीत पनि उस्तै छ । गत वर्ष अमर्यादित र द्विअर्थी लाग्ने शब्द भएका दुई÷तीन गीत चलेपछि त्यसको सिको गर्नेको संख्या बढेको छ । ‘अरेली काँडैले च्वास्सै च्वास्सै…’ चलेपछि पुनः द्विअर्थी र भद्दा शब्दको लोक तथा तिजगीतमा बाढी आएको छ । यो वर्ष फेरि तिजका गीतमा विकृति बढ्न थालेको छ । हाल ‘बारुलाले चिलेर च्वास्सै’ भन्ने शब्दका गीत मात्र नौवटा रहेको समाचारहरुमा सार्वजनिक छ । अरु थुप्रै गीतहरु पनि तिजको मौलिकता झल्काउने होइन, रत्यौली र भड्किलो शैलीमा आउने क्रम जारी छ ।

तिजको गीतको असली मौलिकपन कसरी कायम राख्ने ? निकै गम्भीर विषय बनेको छ । आजको डिजिटल दुनियाँमा भिड र भाइरलकै लागि गीत र भिडियो गरेर शीघ्र पैसा कमाउने आशक्ति नयाँ पुराना अधिक कलाकारमा व्याप्त देखिन्छ । विवादित, द्धिअर्थी, भड्किला गीत र म्युजिक भिडियोका विषयमा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानले पहलकदमी उठाइरहेको छ । यद्यपि, त्यो प्रयाप्त छैन । विकृति र विसंगति न्यूनीकरणका निम्ति अभियान नै चलाउँदै आएको छ । अपाच्य दोहोरी गाएको भन्दै प्रतिष्ठानले यसअघि केही कलाकारलाई स्पष्टीकरण सोधेर निलम्बन समेत गरेको छ । पहिला विवादित शब्द र भिडियो राखेर गीत चलाइहालौँ, विरोध भए हटाउँला, त्यति बेलासम्म युट्युबबाट पैसा आइसक्छ भन्ने मनोविज्ञानबाट यस्ता बिकृत कार्य भइरहेको छ । स्टेज पनि अपाच्य गीत गाउने र विवादित कलाकारले नै पाउने कार्यले बिकृत कार्यमा प्रश्रय मिलिरहेको छ । समय सापेक्ष रुपमा परिवर्तन, परिष्कृत र परिमार्जन हुँदै जानु त स्वभाविक कुरा हो । तर, तिज गीत नै तिजको जस्तो नहुनु बिडम्बना हो । तिजका गीतका नाममा भद्दा मजाक गर्ने जो कसैलाई लोक दोहोरी प्रतिष्ठानका साथै आम सचेत नागरिकहरुले पनि बहिष्कृत गर्दै त्यस्ता गीतलाई निरुत्साहित गर्नुपर्छ । यसमा सरकार निरीह प्रायः छ । अब पनि सरकारले नियमन, हस्तक्षेप नगर्ने हो भने कलाकार अझै यो भन्दा अपाच्य गीत गाउन तयार हुनेछन् । जसले समाजलाई थप बिकृत र प्रदुषित बनाउने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *