असुरक्षित वैदेशिक रोजगार

सम्पादकीय
वैदेशिक रोजगार नेपाल र नेपालीको बाध्यात्मक गन्तव्य हो । उच्च शिक्षा अध्ययन लगायतका केही कार्यमा रहरले बढी प्रेरित गरे पनि अधिकांश नेपाली घर व्यवहार चलाउने बाध्यताले नै परदेशिन बिबश बनिरहेका छन् । वैदेशिक रोजगारमा लहड पनि यति बिघ्न देखिरहेको छ कि यही रफ्तारमा युवाहरुले देश छोड्ने हो भने अबको केही दशकमा देश रित्तिने खतरा देखिएको छ । युवाहरु आकर्षक तलब र देश खोज्दै विदेश जाने, उतै व्यवस्थित र गुणस्तरीय जीवनयापन गर्ने, श्रीमती बालबच्चा लैजाने, उतैको नागरिकता लिने होड बढ्दो छ । यो निकै गम्भीर सवाल हो । अर्को तर्फ वैदेशिक रोजगारमा गएका नेपालीहरुले ठुलो संख्यामा अनाहकमै ज्यान गुमाइरहेका छन् ।

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका ठूलो संख्यामा युवाहरूले बर्सेनि ज्यान गुमाउने गरेका छन् । वैदेशिक रोजगार बोर्डको आँकडा अनुसार आर्थिक वर्ष २०८०÷८१ मा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका एक हजार ३७८ जनाले ज्यान गुमाएका छन् । नेपालीहरूले मलेसिया, कतार, साउदी, संयुक्त अरब इमिरेट्स युएई, कुवेत, बहराइन, रोमानिया, दक्षिण कोरिया लगायत मुलुकमा विभिन्न कारणले ज्यान गुमाएका छन् । गएको चैतमा कुवेतको महाबुल्ला क्षेत्रको बाटो काट्ने क्रममा ’सी साइड’ सडक दुर्घटनामा परी एउटै कम्पनीमा कार्यरत तीन जना नेपाली युवाले ज्यान गुमाए । एक महिनाअघि दोलखाका ४३ वर्षीय नेपाली सुतेकै अवस्थामा मृत फेला परे । मृतक सँगै बस्ने साथीहरू दिनभरी कामको पेलान र खानपिन राम्रो नभएकै कारण उनको मृत्यु भएको बताउँछन् । श्रम स्वीकृति नलिएका वा करार अवधि सकिएको अवस्थामा विदेशमा ज्यान गुमाउनेको संख्या समेत जोड्दा अझ भयावह अवस्था छ । तर, यसको यकिन तथ्यांक सरकारसँग छैन । १६ वर्षमा वैदेशिक रोजगारीमा पुगेका १३ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

नेपाली श्रमिकहरू विदेशी भूमिमा काम गरेर पठाएको रेमिटेन्सले नेपालको अर्थतन्त्र चलायमान र मजबुत, परिवारको जीविका चलाउन योगदान त पु¥याउँदै आएको छ । यो सँगै कमाउन परदेश पुगेका श्रमिकहरू विभिन्न कारणले ज्यान गुमाउनु परेको अँध्यारो पाटो निकै सोचनीय छ । वैदेशिक रोजगारमा आकर्षण र बाध्यता सँगै किन अस्वभाविक मृत्यु बढ्दो छ ? किन यसमा सरकार र सरोकारवालाले गम्भिरतापूर्वक कदम चाल्न सकिरहेको छैन ? विदेश गएकाहरु स्वयंम्ले किन आफ्नो स्वास्थ्य प्रति यथोचित सचेतता अपनाउन सकिरहेका छैनन् ? युवाहरूलाई पर्याप्त सीप तथा तालिम नहुनु, गन्तव्य मुलुकमा सुरक्षाको ग्यारेन्टी बिना काममा लगाइनु लगायत कारण देखिन्छ । यी र यस्ता विषयको यथोचित खोज, अनुसन्धान र पहिचान गर्न जरुरी छ । र त्यस अनुरुप सरकार, सरोकारवाला निकायले तत्काल आवश्यक नीति र पहलकदमी लिन जरुरी छ । नेपालीहरुले विदेशमा अकालमै ज्यान गुमाइरहनु परेको बिडम्बना कम गर्न वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *