महिला भलिबलले देखाएको सम्भावना

सम्पादकीय
भलिबल नेपालको लोकप्रिय खेल हो । यो खेल शहर बजारमा भन्दा गाउँघरमा लोकप्रिय छ । फलतः भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरिएको छ । विक्रम सम्वत २०७४ सालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको थियो । त्यसयता भलिबल खेलको विकासको अवस्था हेर्ने हो भने राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरुष महिला भलिबल खेल नतिजामा उल्लेख्य सुधार भइरहे पनि भलिबल खेलका लागि भौतिक पूर्वाधारको विकास, खेलाडीहरुको भविष्य सहजता र सुनिश्चितताका लागि ठोस कदम सरकारका तर्फबाट चालिएको छैन । यो यसै साता नेपालमा भएको काभा महिला भलिबल प्रतियोगिताले पनि धेरै कुरा देखाएको छ । जसका बारेमा सरकार, भलिबल संघ लगायतका सरोकारवाला निकायको गम्भिरतापूर्वक ध्यान जानु अपरिहार्य देखिएको छ ।

यसपटकको काभा महिला भलिबलमा नेपाली राष्ट्रिय टोलीको प्रदर्शन अभूतपूर्व रह्यो । चिरप्रतिद्वन्द्वी भारतविरुद्ध फाइनल खेलेको नेपालले उपाधि जित्न चुके पनि शानदार प्रदर्शन ग¥यो । लिगमा श्रीलंका र माल्दिभ्ससँगै भारतलाई हरायो । भारतलाई नेपालले लिगमा ३–२ को सेटमा हराउँदै इतिहास रचेको थियो । नेपालले भारतलाई भलिबल इतिहासमै पहिलो पटक हराएको थियो । इरानसँग लिगमा ३–२ को सेटमा पराजित भएपनि सेमिफाइनलमा ३–० को सोझो सेटमा हान्दै फाइनलमा पुगेको थियो । फाइनलमा भारतविरुद्ध पनि जित नजिक पुगेका नेपालले फिनिस लाइन मात्र पार गर्न सकेन । नेपालमा क्रिकेट र फुटबल खेलका लागि बाह्य सहयोग प्राप्त हुन्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान)लाई वार्षिक झण्डै २४ करोड रुपैयाँ प्रदान गर्दछ । एसियन क्रिकेट काउन्सिलले वार्षिक ७÷८ करोड रुपैयाँ अनुदान दिन्छ । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पनि विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) बाट गरेर वार्षिक झण्डै ५० करोड रुपैयाँ बराबर अनुदान आउँछ । नियमित प्रतियोगिताहरु गराउन सके अनुदान रकम अझ बढ्छ । भलिबलमा भने न अन्तर्राष्ट्रिय संघबाट अनुदान छ, न सरकारले नै लगानी गर्ने गरेको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले नेपाल भलिबल संघलाई अनुदान दिँदैन । म्याट, बल र नेटजस्ता खेल सामाग्री मात्रै दिन्छ । त्यसको लागि पनि प्रोजेक्ट हुनुपर्छ । नेपाल भलिबल संघकै पहल र बलबुतामा प्रतियोगिता आयोजना र स्रोतसाधन संकलन गर्ने प्रयास गरिएको छ ।

भलिबल खेलमा सीमित स्रोत साधनका बाबजुद पनि काभा महिला भलिबलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो बलियो सम्भावना देखाएको छ । भारतको स्तर नेपालभन्दा माथि, स्रोत साधनले सम्पन्न भारतका भलिबल खेलाडीहरुले साढे ४ देखि ७ लाख भारु तलब थाप्छन् । बोनस, अरु सेवा सुविधा पनि पाउँछन् । तिनै खेलाडीसँग हालै मात्र मासिक ५ हजार पाउन थालेका खेलाडी शानदार प्रदर्शनमा उत्रिए । यसले नेपाली क्रिकेट र फुटबलमा जस्तै भलिबलमा पनि थप आकर्षण बढाएको छ । तर जितेको बेला वाहवाही गर्ने, अरु बेला पुरै बेवास्ता गर्ने राज्यको प्रवृत्तिबाट भने भलिबल निकै पीडित छ । कुनै पनि देशको खेलकुद विकासमा सरकारको लगानी महत्वपूर्ण हुन्छ । विश्वका सबै उत्कृष्ट प्रदर्शन सफलतामा सरकारको भौतिक संरचना र खेलाडीमाथिको लगानी निर्भर रहन्छ । नेपालको हकमा खेल र खेलाडीहरु उपेक्षित छन् । आफ्नै बलबुतामा खेलेका छन्, पटक पटक (काभा÷साग) उपाधि÷पदक जितेका छन् । यसपटक उपाधि त जित्न नसके पनि प्रदर्शन दमदार गरेर नेपालको शान बढाएका छन् । अब महिला भलिबलमा पनि तीन तहको सरकार, सरोकारवाला निकाय, नेपाल भलिबल संघ लगायतले यथोचित पहल र कार्यक्रमका साथ अघि बढ्नु बढाउनु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *