सम्पादकीय
हरेक वर्षको बर्खायाम धेरै नागरिकका लागि काल बनेर आउँछ । यसवर्ष पनि बागलुङमा भीषण वर्षा र त्यसपश्चात आएको विपद्ले ठुलो जनधनको क्षति भयो । यसैसाता दुई दिन सम्म लगातार परेको झरीले जिल्लाको बडिगाडमा अप्रिय घटना र क्षति निम्तायो । बडिगाड गाउँपालिका १० आरुपाटा आसपासका खहरे खोला उर्लिएको थियो । गाउँमाथी केही जमिन भाँसिए जस्तो थियो । काम विशेषले बुर्तिबाङ बजार हिँडेका खहरे पार गर्ने आँट गर्न सकेनन् । मंगलबार बिहानैदेखि झरीले बडीगाडका विभिन्न ठाउँमा पहिरो खसिरहेको थियो । आरुपाटाको खहरेले आसपासका घरलाई पनि तान्न सक्ने त्रास गाउँलेमा थियो । वडा नं. १० कै निगलपानी गाउँबाट बुर्तिबाङ हिँडेकाहरु पनि तर्ने स्थिती नदेखिएपछि अलि सुरक्षित घर ठानेर आरुपाटाका जोगबहादुर बुढाको घरमा ओत लागेर बसेका थिए । खोलाको आडमै रहेका छिमेकी पनि सुरक्षित ठानेर त्यहीं घरमा बसे । बुर्तिबाङ हिँडेका र छिमेकीसमेत गरी जोगबहादुरको घर र गोठमा गरी करिब २० जनाले शरण लिइरहेकै घर पहिरोले बगायो । ११ जनाले ज्यान गुमाए । १० घाईते छन् । एक जनाको अवस्था अझै अज्ञात छ । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् ।
बडिगाड गाउँपालिका भौगोलिक रुपमा पनि केही जटिल र विपद्को जोखिमयुक्त मानिन्छ । यहाँ हरेक वर्ष यस्तै अप्रिय बाढी, पहिरो विपद्जन्य घटना भइरहन्छ । यसपटक सरकारले भारी वर्षाको सम्भावना सहित दुई अघिदेखि नै बागलुङलाई रेड जोनमा राखेर आवश्यक सतर्कता अपनाउन भनिएको थियो । तर, घर, पशुचौपायाको मायाले जोखिमयुक्त हुँदा हुँदै पनि त्यसमै रात काट्ने अनुकुलता खोजिन्छ, यथेष्ट जोखिम आँकलन गरेर पूर्ववत सचेतता अपनाउन आनाकानी गरिन्छ । बडिगाडमा पनि त्यही बेवास्ता र लापरवाहीले अप्रिय घटना सामना गर्नुपरेको छ । गाउँका धेरै घर पहिरोको जोखिममा रहेको हुँदा बस्ती छाडेर अन्तै जानुपरेको छ । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित छन् । विस्थापित परिवारको अहिले बिचल्ली भएको छ । खानेपानी, विद्युत् आपूर्ति हुनसकेको छैन । बालबालिका र वृद्धवृद्धा बढी मर्कामा छन् । गाउँपालिकाले मृतक र विस्थापित परिवारलाई प्रारम्भिक चरणको राहत वितरण गरिरहेको छ ।
वर्षा र विपद्बाट भएको अकल्पनीय घटनाले यतिबेला बडिगाड शोकमग्न छ । अर्कोतर्फ आफन्त गुमाएको पीडासँगै गास, बास र कपासको जोहो गर्नुपर्ने चिन्ताले ग्रसित छन् । दैनिकजसो झरी परिरहेको हुनाले बालबालिका, ज्येष्ठ नागरिकहरुको दैनिकी कष्टप्रद बनिरहेको छ । पानी पर्नेक्रम रोकिएको छैन् । अझै पनि बाढी पहिरोको जोखिम कायमै छ । प्रभावित क्षेत्रमा सडक सञ्जाल अवरुद्ध छ । यसबेलामा प्रारम्भिक राहत र पुर्नस्थापनाको काममा सघाउनु पर्ने जरुरी देखिएको छ । अर्कोतर्फ बडिगाड भौगोलिक रुपमा भिरालो र कमजोर भएकाले पहिरो प्रभावित र जोखिमहरुको यथोचित मुल्यांकन बिश्लेषण गरेर दिर्घकालिन समाधान गर्न तर्फ लाग्नुपर्छ । हरेक वर्ष मनसुन भित्रिँदा यसरी नै कहिले सम्म नागरिकले अकालमै ज्यान गुमाउनु पर्ने ? घटना भए पछि शोक वत्तव्य या समवेदना प्रकट गर्ने हतारो होइन, तीन तहको सरकार, राजनीतिक दल, सरोकारवाला निकाय यी र यस्तो विपदजन्य घटना जतिसक्दो न्युनिकरण गर्न गम्भिरतापूर्वक योजनाबद्ध रुपमा लाग्न आवश्यक छ ।