थ्याङ्बोभन्दा ठुला हिमताल फुटे भने…

सम्पादकीय
पछिल्लोपटक हिमताल फुटेर आएको बाढीले सोलखुम्बुको पर्यटकीय वस्ती नै बगरमा परिणत भयो । थामे जलाधार क्षेत्रमा रहेको करिब चार हेक्टरको थ्याङ्बो हिमताल फुट्दा खोलाछेउको थामे बस्ती बगायो । दुधकोशी नदीको सहायक खोला थामेमा ३२ साउन दिउँसो आएको बाढीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेका १५ घरमा पूर्ण क्षति गर्दा १० घरमा आंशिक क्षति ग¥यो । अध्ययनअनुसार ताल फुट्दा तीन लाख ४० हजार घनमिटर पानी बाहिर निस्किएको छ । जसको परिणामस्वरूप तालको पानीको गहिराई १५ मिटर घटेको छ  । सौभाग्य मान्नुपर्छ कि दिउँसो घटना भएकाले ठुलो मानवीय क्षति हुनबाट भने जोगियौ । यदि यो घटना रातको समयमा हुन्थ्यो भने अकल्पनीय क्षति हुन सक्थ्यो । नेपालमा ठुला हिमताल फुटेको यो नयाँ घटना भने होइन । यसअघि पनि सन् १९६४ र १९८१ मा गरी दुईपटक तिब्बतमा रहेको सेरेमाचो हिमताल फुट्दा नेपाल र तिब्बतमा गरी दुईवटा पुल बगाएको थियो । सुनकोशीको बाढीले ४० घर रहेको पुरानो बाह्रबिसे बजार बगाएको थियो ।

थामेको हिमताल मात्र होइन, अरु कैयन हिमताल पनि फुट्ने खतरा छ । दुई अन्तर्राष्ट्रिय संस्थाले तीन वर्षअगाडि गरेको अध्ययनले नेपालका २१ हिमताल फुट्ने जोखिममा छन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले तीन वर्षअघि सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा हिन्दुकुश हिमालय क्षेत्र भनिने यस क्षेत्र(नेपाल, भारत र तिब्बत)मा मा रहेका पहिचान भएका तीन हजार ६२४ हिमतालमध्ये ४७ विस्फोटनको उच्च जोखिममा छन् । यीमध्ये सबैभन्दा बढी तिब्बतमा २५, नेपालमा २१ र एउटा भारतमा छ । अति जोखिममा रहेका नेपालका हिमताल दोलखाको च्छोरोल्पा, संखुवासभाको तल्लो बरुण, सोलुखुम्बुको इम्जा, लुम्दिङ र पश्चिम चामजाङ तथा मनाङको थुलागी हिमताल अति जोखिममा रहेको अध्ययन प्रतिवेदनले देखाएको छ । आखिर किन फुट्दैछ त हिमताल ? यसमा बढ्दो तापक्रम मुख्य कारण देखिएको छ । हिमाली क्षेत्रमा पछिल्ला दशकमा मानवसिर्जित जलवायु परिवर्तन, तापक्रम वृद्धिका कारण हिमनदी पग्लिएर हिमताल बनेका छन् । यसले हिमतालको क्षेत्रफलसमेत बढेको छ । नेपाललाई असर पार्ने विस्फोटको जोखिममा रहेका हिमताल ४७ छन् । यसबाट जोखिम रहेकाले ठुलो धनजनको क्षतिको खतरा कायमै छ । तर, जोखिम न्यूनीकरणका लागि यथोचित नीति, कार्यक्रम र आवश्यक बजेट जुटाउन सरकारले सकिरहेको छैन ।

बिभिन्न अध्ययनलाई आधार मान्ने हो भने थामे जस्तै अरु हिमताल फुटेर भयानक दुर्घटना निम्तिने खतरा सन्निकट छ । नेपालले अहिलेसम्म विस्फोटको उच्च जोखिममा रहेका ६ मध्ये दुईवटाको पानी घटाइसकेको छ । दोलखाको च्छोरोल्पा र सोलुुखुम्बुको इम्जाको पानी घटाइसकिएको छ । तर, ती हिमताल पनि पूर्ण रूपमा जोखिमयुक्त भइसकेका छैनन् । स–साना हिमताल फुट्दा नै ठूलो क्षति भइरहेका वेला ठूला ताल फुट्नबाट जोगाउन तत्काल यथेष्ट उपाय र तयारी थाल्नुपर्छ । यदि ठुला ताल यसैगरी फुटे भने त्यसले ठुलो प्रलय ल्याउन सक्छ । जुन हाम्रो कल्पना भन्दा निकै भयानक हुन सक्छ । अब यसतर्फ सरकार र सरोकारवाला निकायले जरुर कदम चाल्नुपर्छ । हिमतालको समग्र अध्ययन र क्षेत्रगत रूपमा भौगर्भिक अध्ययन आवश्यक छ । मानववस्तीसँगै जलविद्युत् र सिँचाइका परियोजना पनि भएकाले तालको जोखिम घटाउने, नदीका तटीय क्षेत्रमा तटबन्धन गर्ने, बस्ती स्थानान्तरण गर्ने काम पनि सँगै अघि बढाउनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *