सम्पादकीय
नेपालको सब भन्दा ठुलो शैक्षिक जनशक्ति उत्पादन गर्ने स्थल हो त्रिभुवन विश्वविद्यालय । जहाँ पढेका हजारौं विद्यार्थी अहिले सम्म देशको बागडोर सम्हाल्ने, मुलुक हाँक्ने सरकार प्रमुख, विभागिय मन्त्री, उच्च पदस्थ कर्मचारीदेखि डाक्टर, पाइलट, इञ्जिनियर बनिसके । अझ यसो भनौ, बहुदलीय व्यवस्था अनुरुप बन्ने सरकार होस् या स्थायी सरकारको उपमा पाएको निजामती कर्मचारी क्षेत्र होस्, अधिक मात्रामा त्रिभुवन विश्वविद्यालयकै जनशक्तिले चलाइरहेका छन् । जुन सुखद र सकारात्मक कुरा हो । यस विश्वविद्यालयको नेपालमा शैक्षिक जागरण, गुणस्तर अभिबृद्धिमा योगदान अभूतपूर्व र स्मरणीय छ । तर, त्रिभुवन विश्वविद्यालय यहाँ वर्षौदेखि भइरहेको राजनीतिक बेथिति र विसंगतिले भित्र भित्रै थलिएको छ । जसको ज्वलन्त उदाहरण पछिल्लो घटनाक्रमले पनि पुष्टि गरेको छ । सुरक्षा ‘थ्रेट’ देखाउँदै त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू लामो बिदामा बसेका छन् ।
त्रिभुवन विश्वविद्यालयमा यतिबेला उपकुलपति, रेक्टर, रजिस्ट्रार र विद्यार्थी संगठन बिच विवाद छ । विवादको जड भनेको समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयमा हो । मानविकी तथा समाजशास्त्र संकायकी डिन कुसुम शाक्यले विभागमा टीकाराम गौतमको नाम सिफारिस गरेकी छिन् । तर, विभिन्न विद्यार्थी संगठनले यसलाई मानेका छैनन् । विभिन्न विद्यार्थी संगठनको धम्कीका कारण त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल १५ दिनदेखि बिदामा छन् । रेक्टर प्रा.डा. खड्ग केसी गत बुधबार र रजिस्ट्रार प्रा.डा. केदार रिजाल बिहीबारदेखि कार्यालयमा उपस्थित छैनन् । पदाधिकारी कार्यालय नजाँदा प्रशासनिक लगायत काम प्रभावित भएका छन् । बिदा बसेका पदाधिकारीले सुरक्षा थ्रेट र स्वास्थ्यमा समस्या भएको बताइरहेका छन् । २० दिनअघि प्रहरी वृत्त कीर्तिपुरले पदाधिकारीलाई ख्याल गरेर आउजाउ गर्न सुझाव दिएको थियो । सुरक्षा प्रबन्ध नभए सम्म कार्यालय जान नसक्ने अवस्था बिद्यमान छ । आफूहरूले तोकेको व्यक्ति विभागीय प्रमुख नभए कारबाही गर्ने धम्की विद्यार्थी नेताहरुले दिइरहेका छन् । विद्यार्थी नेताबाट धम्की आउन थालेपछि यसबारे त्रिविले शिक्षा मन्त्रालयलाई पनि जानकारी गराइसकेको छ ।
विश्वविद्यालय जस्तो स्थलमा अहिले जे भइरहेको छ, त्यो सुखद दृश्य कदापि होइन । विद्यार्थी संगठन या कसैले धम्की दिएकै आधारमा उपकुलपति, रेक्टर र रजिस्ट्रार लामो समय बिदा बस्नु वा सुरक्षा थ्रेट छ भनेर कार्यालय जानै छाड्नु सही विकल्प होइन । पाँच लाख विद्यार्थी पढ्ने विश्वविद्यालयको केन्द्रीय कार्यालय बन्द गरेर बस्ने होइन, यदि थ्रेट छ भने सरकार र सम्बन्धित निकायलाई जानकारी गराएर पनि आफ्नो पदिय जिम्मेवारी निर्वाह गर्न सक्नुपर्छ । नियुक्ति यदि सही र योग्यताकै आधारमा निश्पक्ष हो भने त्यसबारे विद्यार्थी संगठन र नेताहरुलाई पनि बुझाउन र कन्भिस गर्न सक्नुपर्छ । पदाधिकारी भएर जिम्मेवारी सम्हाले पछि त्रिवि चलाउने र समस्या समाधान गर्न सक्ने हैसियत राख्नुपर्छ । होइन र विद्यार्थी संगठन, तिनका नेतृत्वको गलत नियत, स्वार्थ अन्तरनिहित छ भने त्यस्तो अराजकता र बेथितिलाई प्रश्रय दिनुहुँदैन । त्यसलाई निरुत्साहित गर्ने दिशामा अघि बढ्नुपर्छ । कुनै पनि विद्यार्थी संगठनलाई आफ्नो दल या पक्षको व्यक्ति नभएकै कारण धम्की आएको हो भने त्यस विरुद्ध सरकारले यथोचित कदम चाल्नुपर्छ । हामी मुलुकको परिवर्तन, विकास, समृद्धिका लागि शिक्षा र स्वास्थ्यलाई आधारभूत रुपमा आमुल परिवर्तन गराउने कुरा गरिरहेका छौ । तर, देशको मुख्य विश्वविद्यालयमै यस्तो अराजकता र बेथिति छ भने आखिर यो देशको शिक्षा कहिले र कसरी सुध्रिएला ? निकै सोचनीय छ ।