सम्पादकीय
पुस्तकालय पवित्र ज्ञानको भण्डार, जहाँ भौतिक रूपमा संसारभरिका सबै ज्ञान समेटिन्छ । । राज्यले सञ्चालन गरेका राष्ट्रिय पुस्तकालय, शिक्षा संस्थानका पुस्तकालय अन्तर्गत विश्वविद्यालय, विद्यालयका पुस्तकालय, सार्वजनिक पुस्तकालय, सामुदायिक पुस्तकालय, सरकारी तथा गैरसरकारी विभिन्न स्वरूप र शैलीमा पुस्तकालय सञ्चालनमा छन् । तर, यसरी पवित्र उद्देश्यले स्थापित गरिएका पुस्तकालयहरुको महत्व र उपयोग क्रमशः घट्दै गइरहेको प्रतीत सर्वत्र भइरहेको छ । पछिल्लो समय पुस्तकालयमा पाठकको उपस्थिति अधिकांशमा नगण्य मात्रामा छ । देशव्यापी रुपमा स्थापित पुस्तकालयको आवश्यकता र औचित्य माथि प्रविधिको तिव्रतर विकासले सोचनीय बनाइरहेको अवस्था छ । यही अनुक्रममा यस वर्षको पुस्तकालय दिवस मनाइएको छ । बागलुङमा पनि विद्या मन्दिर पुस्तकालय लगायतले बिभिन्न रचनात्मक कार्यक्रम सहित दिवस मनाएका छन् ।
वि.सं. १८६९ भाद्र १५ गते ‘पुस्तक चिताई तहबिल’ नामक नेपालको प्रथम औपचारिक पुस्तकालय स्थापना गरेदेखि हाल सम्म आइपुग्दा पुस्तकालयमा ठुलो उभार मात्र आएको छैन । समय सापेक्ष विकास, विस्तार र पाठकको अभिरुची अनुसार अगाडि बढाउनु पर्ने चुनौती थपिएको छ । नेपालमा पुस्तकालयको अवधारणा आएको दुई सय वर्ष भन्दा बढी भए पनि यसको महत्व र विकासमा सोचे जस्तो ढंगले प्रगति हुन सकेको छैन । २०७९ सालमा सरकारले गरेको सर्वेक्षण अनुसार मुलुकभरि ९ सय २८ वटा सामुदायिक र सार्वजनिक पुस्तकालय थिए । नेपालमा सबैभन्दा धेरै सामुदायिक र सार्वजनिक पुस्तकालय छन् । त्रिभुवन विश्वविद्यालयका ६० वटा आंगिक क्याम्पसका साथै अध्ययन अनुसन्धान केन्द्रमा गरी ८० वटा पुस्तकालय छन् । यस्तै नेपालका विभिन्न विश्वविद्यालयमा आबद्धता जनाएका १६ सय हाराहारीका कलेजसँग पुस्तकालय छन् । यस्तै स्कुल तहमा आधारभूत तहको विद्यालयमा रिडिङ कर्नरको अवधारणा आएपछि भने अधिकांश माध्यमिक तहका विद्यालयमा स्कुलको क्षमता अनुसारका पुस्तकालय छन् । यसमध्ये राम्रोसँग ३२७ वटा पुस्तकालय मात्र सञ्चालनमा छन् । सामुदायिक तथा सार्वजनिक पुस्तकालय सञ्चालनका लागि संघीय सरकारसँग ठोस ऐन छैन । अर्कोतिर राष्ट्रिय पुस्तक नीति पनि स्वीकृत हुन सकेको छैन । नेपालमा वर्षभरि कति पुस्तक प्रकाशन हुन्छ, त्यसको एक–दुईप्रति केन्द्रीय वा राष्ट्रिय पुस्तकालयले सञ्चय गरेर राख्ने भन्ने पनि कुनै नीति छैन । अर्को तर्फ मानिसको कार्य व्यस्वथा, समयको अभावजस्ता कारणले भौतिक रूपमा पुस्तकालयमा उपस्थित भएर अध्ययन गर्ने अवस्थामा कमी हुँदै गएको छ ।
निःसन्देह पुस्तकालयमा भौतिक उपस्थिति घट्दो छ । जबकि समाज अगाडि बढ्न शिक्षासँगै विभिन्न विषयको ज्ञान र जानकारी अत्यावश्यक हुन्छ । भौतिक रूपमा पुस्तकालय प्रयोगकर्ता घटे पनि अभौतिक रूपमा उनीहरूको उपस्थितिलाई बढाउन सकिने अवस्था र सम्भावना प्रचुर छ । पुस्तकालयलाई अब परम्परागत शैलीमा सञ्चालन नगरी प्रविधिमैत्री बनाउन जरुरी छ । भौतिक पुस्तक, पत्रपत्रिकाका साथै डिजिटाइजेसन गरेर त्यस्ता सामग्री इन्टरनेटका माध्यमबाट सहज रूपमा पाठकका मोबाइल तथा कम्प्युटरमा पु¥याउन सक्ने हो भने पाठकमा यसको लोकप्रियता अझै बढ्दै जाने निश्चित छ । पुस्तकालय स्थापना गरेर मात्र पनि सामाजिक दायित्व पूरा हुँदैन । पुस्तकालय खोल्ने तर पाठक पनि नहुने र समय अनुसार थप नयाँ पुस्तक नहुने हो भने पुस्तकालयको भविष्य निश्चित रुपमा संकट पर्नेछ । विश्वमा पुस्तकालयसम्बन्धी कानुनको सूत्रपात भएको १७० वर्षसम्म नेपालमा पुस्तकालयलाई नियमन गर्ने कुनै ऐन–कानुनको निर्माण हुन सकेको छैन । यसतर्फ पनि तीन तहका सरकारको यथोचित ध्यान र कदम जरुरी छ ।