सम्पादकीय
पछिल्लो केही महिना यता डेंगी संक्रमणबाट धेरै मानिस ग्रसित भइरहेका छन् । संघीय राजधानी काठमाडौंदेखि ठुला शहर हुँदै ग्रामीण क्षेत्र सम्म डेंगीबाट धेरै मानिस प्रभावित भइरहेका छन् । सन् २०२४ को जनवरीयता अगष्ट अन्तिमसम्म डेंगी संक्रमितको संख्या ६३ सय नाघेको छ । यो वर्ष हुम्ला र डोल्पाबाहेक ७५ जिल्लामा डेंगी देखिएकोे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार अगष्ट ३० सम्म ६ हजार ३४७ जना संक्रमित भएका छन् । जनवरीयता डेंगी संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । संक्रमितमध्ये तीन हजार ७३० जना अगष्टका ३० दिनमा थपिएका हुन् । जुन अघिल्ला सात महिनाको भन्दा उच्च हो । यो वर्ष गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ९५४ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै एक हजार ११६ जनामा संक्रमण पुष्टि भएको छ भने पर्वतमा ५८७, छन् । यो सँगै कास्की, गोरखा बाहेक अन्य जिल्लामा संक्रमितको संख्या १०० भन्दा कम छ ।
नेपालमा पहिलो पटक सन् २००४ मा डेंगी सङ्क्रमण चितवनमा आएका विदेशी पर्यटकमा देखा परेको थियो । त्यसपछि सन् २००६ यता यो प्रकोपका रूपमा क्रमशः बढ्दै गएको छ । ईडीसीडीका अनुसार त्यस यता नेपालमा कम्तीमा ८८ जनाले डेङ्गीका कारण ज्यान गुमाइसकेका छन् । सन् २०१७ मा सबैभन्दा बढी दुई हजार एक सय ११ जनामा यो सङ्क्रमण देखिएको थियो । डेंगीले फेरि यतिबेला धेरै मानिस संक्रमित भइरहेका छन् । र कयौं संक्रमित हुने जोखिममा छन् । डेंगी विश्वभरि प्रत्येक वर्ष ४० करोड मानिसलाई हुन्छ । अमेरिकी स्वास्थ्य निकाय सीडीसीका अनुसार विश्वको झन्डै आधा जनसंख्या अर्थात् चार अर्ब मानिस डेंगी भाइरसको जोखिमयुक्त क्षेत्रमा बस्छन् । जसको सङ्क्रमण हुँदा ज्वरो आउने, शरीरमा डाबर देखा पर्ने, टाउको तथा पूरै जीउ दुख्ने सक्छ । केही बिरामीलाई निरन्तर पेट दुख्ने, बान्ता हुने, जीउ सुन्निने, गिजाबाट रगत आउने, छटपटी हुने जस्ता जटिल समस्या देखा पर्न सक्छन् । यो रोग प्राणघातक पनि हुन सक्ने भएकाले त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श गराउनुपर्छ । यद्यपि, यो भाइरस एशियाका विभिन्न भाग, दक्षिण तथा मध्य अमेरिका र क्यारिबीअन क्षेत्रमा सामान्य मानिन्छ ।
विश्व स्वास्थ्य संगठनले पनि डेंगीलाई जनस्वास्थ्यको एउटा प्रमुख चुनौती मानेको छ । संसारभरि यसको सङ्क्रमण ३० गुणाले बढिरहेको छ । डेंगीका कारण ज्यानै जाने सम्भावना न्यून भए पनि स्वास्थ्यमा असर पार्ने भएकाले यसबाट जोगिन जरुरी छ । लामखुट्टेको अण्डा नष्ट पार्नुसँगै लामखुट्टेको टोकाइबाट जोगिनु डेङ्गी सङ्क्रमण नियन्त्रणको प्राथमिक उपाय हो । सम्भव भएसम्म घर वरपर पानी जम्न दिनु हुँदैन । डेङ्गी सार्ने लामखुट्टे बिहान र सूर्यास्तभन्दा अगाडि सक्रिय हुने भएकाले विशेषगरी ती समय र अन्य बेला पनि लामखुट्टेको टोकाइबाट बच्नु पर्दछ । यसबाट बच्न स्थानीय निकायसँगै हरेक व्यक्तिले सजगता अपनाउनु आवश्यक छ । सतर्कता अपनाउँदा पनि डेंगी भइहालेको खण्डमा तत्काल उपचार गर्न जानुपर्छ । धेरै सिकिस्त भएको खण्डमा बिरामीको शरीरमा प्लेट्लेट्सको मात्रा स्वात्तै घट्ने र ज्यान समेत जाने खतरा हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार समयमै उपचार गरे मृत्युदर एक प्रतिशत भन्दा कममा राख्न सकिन्छ । तर यो रोग जुनसुकै उमेर समूहका मानिसहरूलाई लाग्न सक्ने भए पनि प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बालबालिका र वृद्धवृद्धालाई विशेष ध्यान दिन आवश्यक छ ।