अनफ्लो अभियान कति जायज ?

सम्पादकीय
यतिबेला नेपाली राजनीति सामाजिक सञ्जालका कारण तातेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र एमाले नेता कार्यकर्ताबिचको ‘फेसबुक वार’ उत्कर्षमा छ । मेयर बालेन समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘फेसबुक’ पेज ‘अनफ्लो’ अभियान चलाइरहेका छन् । मंगलबार बेलुकाबाट बालेन समर्थकले प्रधानमन्त्रीलाई फेसबुकमा ‘अनफलो’ गर्न सुरु गरेका थिए । यो क्रम निरन्तर जारी छ । यो अभियानसँगै अहिले मेयर बालेन र प्रधानमन्त्री ओलीको पक्ष बिपक्षमा समर्थकहरु बिभाजित भइरहेका छन् । उसो त बालेन र ओली बिचको घोचपेच र खरो अभियान पहिलो भने होइन । यसअघि पनि कैयन पटक थुप्रै सवालमा दोहोरी चलिसकेको छ । अहिलेको अनफ्लो अभियानको अर्थ, औचित्य खासमा के हो ? र यो कहाँ पुगेर अन्त्य हुने अनिश्चियको भूमरीमा छ ।

अहिले सर्वत्र चर्चा र बहसको विषय बनिरहेको अनफ्लो अभियान आखिर किन र कसरी चलाइयो त ? यसका लागि पछिल्लो घटना सम्म पुग्नुपर्छ । आइतबार साँझ मेयर बालेन्द्र साहले नेकपा एमाले (लुम्बिनी) प्रदेश सांसद रेखा कुमारी शर्माले बालश्रम शोषण गरेको तर कारबाही नगरेको स्ट्याटस पोस्ट गरेका थिए । बालेनको उक्त स्ट्याटस फेसबुक पेजबाट हटेको थियो । त्यसपछि आक्रामक बनेका मेयर बालेनले आफ्नो स्ट्याटस सरकारले नियोजित रुपमा हटाएको दाबीसहितको अर्को पोस्ट गरे । सरकारलाई चुनौती दिँदै पोस्ट उडाउने होइन, दोषी समाऊ सरकार भने । त्यस लगत्तै बालेनका समर्थहरूले ओलीलाई ‘अनफ्लो’ गर्न अभियान चलाएका थिए । ओलीको फेसबुकमा करिब ६ लाख ६३ हजार फलोअर रहेकोमा घटेर ५ लाख ९२ हजारमा झरेका छन् । यो सँगै बालेन र एमाले नेता कार्यकर्ताबिच फेसबुक लगायतका सामाजिक सञ्जालमा तिब्र समर्थन र बिरोध जारी छ । सांसद शर्माविरुद्ध महानगरले बालबालिकासम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता ऐन, २०७४ बमोजिम दास बनाउन नहुने कसुर अन्तर्गत जाहेरी दर्ता गरेको थियो । तर एमाले नेता कार्यकर्ताले शर्मालाई बदनाम गर्ने नियोजित योजना रचिएको भन्दै बालेनको आलोचना गर्दै आएका थिए ।

पछिल्लो समय देश सामाजिक सञ्जाल, सतही कुरामा बहकिन थालेको छ । गहन, खासमा गरिनु पर्ने मन्थन, योजना, बहसहरु गौण बन्न थालेका छन् । यतिबेलाको बहस समृद्धि, विकास र परिवर्तन नै हो र हुनुपर्छ । तर, विषय अहिले कुनै एक सवाललाई लिएर फ्लो अनफ्लो अभियानमा छ । चाहे प्रधानमन्त्री केपी ओली हुन् या काठमाडांै महानगरका मेयर हुन्, दुवै फेसवुकमा सतही दोहोरीमा होइन, आफ्नो पदिय जिम्मेवारी अनुसारको भूमिकाका लागि केन्द्रित हुनुपर्छ । देश अस्थिरता, बेथितिबाट ग्रस्त छ । काठमाडौं महानगरमा पनि थुप्रै बजेट बेरुजु आएको छ, कैयन काम गर्नुपर्ने जरुरता छ । सामाजिक सञ्जालमा लेख्न पाउनु, बोल्नु पाउनु त लोकतन्त्रको सुन्दरता हो । यसमा बालेन हुन् या अरु सर्वसाधारण सबै निसंकोच बोल्न, लेख्न पाउनु पर्छ । तर, यस्तो अधिकारको कुरा गर्दै गर्दा कति सम्म लेख्ने र बोल्ने भन्ने सीमित मर्यादा र मापदण्ड भने ख्याल गर्नुपर्छ । अनफ्लो अभियान असन्तुष्टि र बिरोधको एक तरिका त हुनसक्छ । यो पनि के विषय र सवालमा कति सम्म भन्ने कुरा सोचनीय छ । जे पनि बोल्ने, जे पनि गर्ने ठाउँमा अभियानमा पुग्यो भने त्यसले अराजकता र बेथिति बाहेक अरु मूल कुरालाई गौण बनाउने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *