बदलिँदो तीजबारे

सम्पादकीय
नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजको नेपाली समाजमा छुट्टै पहिचान र महत्व छ । तीजमा चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व छ । तीजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ । सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिवपार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रत वस्ने, शिवालयहरुमा पुगेर दर्शन, पुजाअर्चना गर्ने प्रचलन छ ।

अहिले त तीज यस्तो पर्व बनिसकेको छ कि जुन पर्वको रौनकता महिना दिन भन्दा अगावै सुरु हुन्छ । कलाकारहरुले तीज गीत भाद्र महिना नलाग्दै निकाल्छन् । रेडियो, टिभीहरुमा पनि तीज गीत घन्किन्छ । तीजको अघिल्लो दिन दर खाने परम्परागत प्रचलन भए पनि महिना दिन अघिबाटै देश विदेशमा दर खाने कार्यक्रम सुरु हुन्छ । यसले कैयन बेथिति पैदा गरिरहेको छ । खासमा तीज पर्वको बहुआयामिक महत्व छ । तीजमा तीन किसिमको व्रत बसिन्छ । निराहार, जलाहार र फलाहार गरी तीन किसिम छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्ने महिलाले फलाहार व्रत बसे । अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने विधानसमेत छ । समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ । निराहर व्रत बस्दा स्वास्थ्यमा समस्या हुन सक्ने भएको भन्दै कतिपयले यसको आलोचना समेत गर्दै आएका छन् । तर, बेला बेलामा व्रत बस्दा त्यसले स्वास्थ्य तन्दुरुस्त बनाउने पनि तर्क छ । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने प्रचलनले पारिवारिक सम्बन्धको नविकरण पनि गराउँछ । तीजको अवसरमा महिलाहरुले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक गर्ने, नाचगान पनि गर्दछन् । यसले महिलाहरुमा नयाँ उर्जा, उत्साह पैदा पनि गराउँछ ।

तीज पर्व नेपालको मौलिक परम्परा र सामाजिक उत्सव हो । यसले महिलाहरुलाई थप सबलिकरण बनाउनमा उल्लेख्य भूमिका खेलिरहेको छ । आफ्ना हक अधिकारबारे बोध, सचेत, जागरुक बनाएको छ । समाजमा सौहार्द्रता र एकतालाई मजबुत तुल्याउँनमा भूमिका खेलेको छ । आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारा व्यक्त गर्ने यी र यस्ता परम्पराले समाजलाई एक साझा फुलवारीका रूपमा प्रतिविम्वित गरिरहेको छ । तीज पर्वले परिवार र समाजमा सुखद् अपनत्व अभिवृद्धि गर्न टेवा पु¥याएको छ । धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको तीज पर्वले पुरुषप्रधान देश नेपालमा घरभित्र मात्रै खुम्चिएर बस्ने महिलालाई बाहिर निस्कन प्रेरित गरेको छ । आफ्ना पिर मर्का अरु समक्ष राख्ने मौका दिएको छ । यद्यपि अचेल मौखिक गीतको सट्टा क्यासेट तथा म्युजिक प्लेयरबाट नै गीत बजाई नाच्ने चलन हावी भएको छ, यसले नारीहरूको रचनात्मक क्षमता तथा नाचगानको पुरानो मौलिक चलनलाई दुर बनाएको छ । उच्छृङ्खल र भड्किला गीत गाउने, शृङ्गारको नाममा गहनाको प्रदर्शन गरी समाजमा प्रतिष्ठित बन्न खोज्ने, नाचको निहूँमा अंग प्रदर्शन गर्ने जस्ता विकृति पनि देखा परेको छ । यस्ता विकृतिले हाम्रा संस्कार र संस्कृतिका मूल्य मान्यतालाई आघात पु¥याउँछ । अतः यस्ता विकृतिलाई हटाई हाम्रा रीतिरिवाज, पर्व, संस्कार र संस्कृतिमा स्वच्छता ल्याउनु जरुरी छ । धार्मिक, सामाजिक तथा वैज्ञानिक महत्व भएका तीज जस्ता पर्वहरूको समय सापेक्ष परिष्कृत परिमार्जन भए पनि मौलिकता लगायतका विषयमा पनि सबैले सोच्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *