पत्रकार महासंघको किचलो

सम्पादकीय
नेपाली पत्रकारहरूको साझा र छाता संस्था हो नेपाल पत्रकार महासंघ । जसको ६८ वर्ष लामो इतिहास छ । वि.सं. २०४४ भदौ ३० सम्म नेपाल पत्रकार संघको नाममा रहेको यो संस्था सोही दिन सम्पन्न १८ औं महाधिवेशनबाट महासंघमा रूपान्तर भएको थियो । यसका मुलुकका ७ वटै प्रदेश र ७७ जिल्लामा शाखा छन् । प्रदेशहरुमा पनि ठुलो शाखा सञ्जाल छन् । नेपाली पत्रकारहरूलाई व्यावसायिक नेतृत्व दिनु, श्रमजीवी पत्रकारहरूको हकहित रक्षा गर्नु, प्रेस स्वतन्त्रताको रक्षा गर्नु, सञ्चार क्षेत्रको विकास, सम्वद्र्धन र प्रवद्र्धन गर्नु महासंघको घोषित उद्धेश्य हो । राज्यको चौथो अङ्गका रूपमा लोकतन्त्र र मानव अधिकारका लागि निरन्तर खबरदारी गर्नु महासंघको दायित्व हो । तर, यतिबेला सोही लामो र गर्विलो इतिहास बोकेको नेपाल पत्रकार महासंघ चरम बदनामीको बाटोमा छ ।

पत्रकार महासंघको नियमित चुनावी अधिवेशन हुनुपर्ने समय घर्केको महिनौं भइसकेको छ । पटकपटक निर्वाचनको मिति सर्दै आएको नेपाल पत्रकार महासंघको निर्वाचन हुने अझै छाँटकाँट छैन । पछिल्लो पटक आगामी असोज ५ का लागि घोषणा गरेको चुनाव पनि नहुने निश्चित भएको छ । मतदाता नामावली आउला र चुनावी कार्यतालिका पनि सँगै आउला भनेर देशभरका पत्रकारले बाटो हेरेको महिनौँ भइसक्यो । अचेत पत्रकारले त चुनाव हुन्छ भनेर पत्याउनै छोडिसके, बाहिरबाट महासंघलाई नजिकबाट हेर्ने धेरैलाई पत्रकारको चुनाव पनि हुन्छ र ? भन्ने भाष्य भइसकेको छ । यस्तो अविश्वास, अवस्था र बदनाम भइरहँदा पनि नेतृत्व गम्भिर भएको आभाष भएको छैन । बरु सोमवार केन्द्रीय अध्यक्ष विपुल पोखरेलले बिभिन्न कारण देखाउँदै राजीनामा दिएका छन् । यसले थप अन्यौलता र अनिश्चितता पैदा गरेको छ ।

नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्वले शुद्धिकरणका लागि गरेको पहल, प्रयत्न अपरिहार्य र सकारात्मक थियो । तर, नेतृत्वले यसको व्यवस्थापनमा नेतृत्व कौशलता देखाउन सकेन । बरु यही विषयका कारण लाचार, चौतर्फी आलोचित र बदनाम हुने बिडम्बनापूर्ण अवस्था बनिरह्यो । यही अवस्था बिद्यमान रहे पत्रकार महासंघको हिजोको गरिमा धुलिसात हुने निश्चित छ । पत्रकार महासंघको नेतृत्व र यसको भूमिकालाई पुनः परिभाषित गरिएन भने यसको औचित्य पेशागत संगठन भन्दा केवल राजनीतिक दलको भातृ संगठन र त्यसभित्र पनि सीमित गुटको अस्त्र हुनेछ । महासंघ केका लागि, कसका लागि र कुन सन्दर्भका लागि भन्ने अहम् प्रश्नहरु टड्कारो भइरहेका छन् । पत्रकार महासंघको भूमिका पत्रकारितामा प्रश्न उठ्दा या कसैप्रति आक्रमण हुँदा केवल फोस्रो विज्ञप्ती निकाल्नु बाहेक अर्को अहम् भूमिका नदेखिनु दुर्भाग्य हो । अब महासंघका पूर्व नेतृत्व, देशभरका पत्रकार एकतावद्ध भएर निकट समयमै निर्वाचन मार्फत नेतृत्व चयन गर्नु नै अहिलेको तत्कालको समस्या समाधान हो । चुनावकै लागि सर्वत्र पहल, दबाब र खबरदारी अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *