बलेवा विमानस्थलमा विमान कि साहसिक खेल ?

सम्पादकीय
कुनै समय धौलागिरी क्षेत्रलाई लक्षित गरेर सञ्चालित बागलुङको बलेवा विमानस्थल केही वर्ष यता बन्द छ । उसो त वर्षौ बन्द भएको विमानस्थल नयाँ संघीय अभ्यास पश्चात तीन तहको सरकार गठन भए पछि स्थानीय तह बागलुङ नगरपालिकाको पहल र अथक मेहेनतमा सञ्चालनमा आएको थियो । तर, नगरपालिकाले ठुलो जोखिम मोलेर सञ्चालनमा ल्याए पनि खर्चको भरथेग सञ्चालन गर्न सकेन । अन्ततः लामो समय पछि सञ्चालनमा आएका बलेवा विमानस्थल बन्दकै नियतिबाट गुज्रिएको छ । उसो त बन्द भएको बलेवा विमानस्थल यो एक्लो र नयाँ भने होइन । सरकार र सम्बन्धित निकायको लापरबाही र लाचारीका कारण नेपालका बिभिन्न क्षेत्रमा स्थापित विमानस्थल सञ्चालनमा ठुलै सकस र बिडम्बना बेहोर्नु परिरहेको छ ।

अहिले देशभरका ५० विमानस्थल मध्ये ३३ वटा विमानस्थल बन्द छन् । दुर्गमका धेरै विमानस्थल सडक पुगेपछि बन्द भएका छन् । उडान बन्द रहेका नौ विमानस्थल पक्की छन् । विमान सञ्चालन नभए पछि अधिकांश गौचरनमा परिणत भइसकेका छन् । उसो त अन्तर्राष्ट्रिय उडान गर्ने भन्दै ६० अर्ब खर्चेर बनाइएका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि आन्तरिक उडान मात्रै भएका छन् । बन्द भएर सरकार, राजनीतिक नेतृत्वको अगुवाई र पहदकदमीमा पुनः सुरु गरिएका विमानस्थलमा पनि महँगो भाडा र जहाज अभाव भइरहेको छ । ०४८ देखि बन्द बागलुङको बलेवा विमानस्थलमा २६ वर्षपछि ९ चैत ०७४ मा विमान अवतरण भएको हेर्न गाउँलेको बाक्लै भिड लाग्यो । पुनः सञ्चालनमा आएको विमानस्थलमा अब नियमित उडान हुन्छ भन्नेमा स्थानीय आशावादी थिए । तर, केही महिनामै उडान बन्द भयो । गाउँगाउँमा सडकको पहुँच पुगेपछि महँगो भाडा तिरेर जहाज चढ्ने यात्रु नहुनाले उडान बन्द भयो । यद्यपि, फेरि नियमित उडान गर्ने भनेर आठ करोड लगानी गरेर धावनमार्ग कालोपत्रे गरिएको छ । तर, बलेवामा नियमित उडान भने हुन सकिरहेको छैन । खर्च व्यर्थ सावित भइरहेको छ । बागलुङकै पश्चिम ढोरपाटनको विमानस्थल पनि वर्षौदेखि बन्द छ । अहिले गौचरनमा परिणत भएको छ ।

विमानस्थल किन बन्द भइरहेका छन् ? विमानस्थल निर्माण, सरकार र वायुयान सञ्चालक बिच यथोचित तादात्म्यताको अभाव छ । यसमा बुझ्नै पर्ने कुरा के हो भने नियमित उडान गर्न जहाज र यात्रु चाहिन्छन् । एयरपोर्ट पिच गर्दैमा नियमित उडान हुँदैन । बलेवा विमानस्थलको धावन मार्ग पनि पिच भएको छ, सञ्चालनको कुनै पहल र टुंगो छैन । साविक धौलागिरीका बागलुङ, म्याग्दी र पर्वतको केन्द्र बन्न सक्ने सम्भावना बोकेको बलेवा विमानस्थल बन्द हुनुको मुख्य कारण पोखरा बागलुङ राजमार्गदेखि विमानस्थल सम्मको सडकको दुरावस्था र समन्वयको अभाव नै हो । अहिले बलेवा, लामीडाँडा, मनाङ, रुम्जाटार, बैतडी लगायत बन्द विमानस्थलमा निजी क्षेत्रको सहकार्यमा प्याराग्लाइडिङ, प्यारासुट, स्काई डाइभिङ, अल्ट्रालाइटजस्ता मनोरञ्जनात्मक साहसिक खेल गतिविधि गराउने सरकारको तयारी छ । यसमा स्थानीय तह, स्थानीय बासिन्दा, राजनैतिक नेतृत्वले यथोचित नेतृत्व र अग्रसरता जरुरी छ । बलेवा विमानस्थललाई विमानस्थलकै रुपमा सञ्चालन र निरन्तरताका लागि सामूहिक पहलकदमी र हातेमालो अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *